• वि.सं २०७६ चैत २५ मंगलबार
  • वि.सं २०७६ चैत २५ मंगलबार
  • Tuesday, 07 April, 2020
ठाकुर गैरे
२०७५ फाल्गुण २२ बुधबार ०८:३५:००
दृष्टिकोण

विद्यार्थी आन्दोलनले स्थापित रवीन्द्र

ठाकुर गैरे
२०७५ फाल्गुण २२ बुधबार ०८:३५:००

रवीन्द्र अधिकारीको नामसँगै विद्यार्थी आन्दोलन जोडिएर आउँछ । ०४२ सालमा स्कुल पढ्ने वेलादेखि अनेरास्ववियुमा आबद्ध उहाँले प्राकदेखि केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभयो । उहाँ पृथ्वीनारायण क्याम्पस र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति, स्ववियु काउन्सिलको केन्द्रीय संयोजक र अखिलको तर्फबाट त्रिवि सभाको सदस्यसमेत हुनुभयो । त्यसपछि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्रमा माक्र्सवादलाई हाम्रो समाज र परिवेशअनुकूल बुझ्ने गहिरो ज्ञान थियो । केही समय माक्र्सवादी प्रशिक्षकसमेत हुनुभएका उहाँबाट प्रशिक्षित हुनेको संख्या ठूलो छ । 

कुशल संगठक रवीन्द्रले नै अनेरास्ववियुको वास्तविक पहिचान निर्माण गर्नुभयो । आमविद्यार्थीलाई गोलबन्द गर्ने अद्भूत क्षमता भएका रवीन्द्रले कोषाध्यक्ष हुँदा संगठनलाई आर्थिक रूपमा मजबुत, पारदर्शी बनाउँदै बैंकबाट कारोबार गर्ने प्रणाली बसाउनुभयो । हामीले उहाँकै नेतृत्वमा कालापानी मार्च, मातृभूमि सन्देशजस्ता कार्यक्रम ग¥यौँ । शिक्षाको निजीकरण र व्यापारीकरणविरुद्धका मुद्दालाई सबै विद्यार्थी संगठनको साझा एजेन्डा बनाउनमा उहाँकै महत्वपूर्ण योगदान छ । त्यही आन्दोलनबाट उहाँको छवि संयुक्त विद्यार्थी नेताका रूपमा स्थापित भयो । 

प्रवीण गुरुङलाई पारस शाहको गाडीले किचेपछि कारबाहीको माग गर्दै चलेको हस्ताक्षर अभियानदेखि राष्ट्रघाती नागरिकता विधेयकविरुद्धको अभियान उहाँको कार्यकालमा नै भए । उहाँकै कार्यकालमा भएको जातीय विभेद अन्त्यका लागि सहभोज, राष्ट्रिय जागरण अभियानलगायत विद्यालयदेखि उच्च शिक्षालाई सुधार गर्ने विभिन्न कार्यक्रम भए । त्यतिवेला अनेरास्ववियुको अथवा विद्यार्थी काउन्सिलको नेतृत्वमा चलेका हाजिरी जवाफ, खेलकुद, कला, साहित्य तथा मेची महाकाली सांस्कृतिक अभियान त्यसैका उपज थिए ।

रवीन्द्र अखिलको अध्यक्ष हुँदा सार्वजनिक यातायातमा आमविद्यार्थी, अपांग, ज्येष्ठ नागरिकको सहुलियतका लागि उपलब्धिमूलक आन्दोलन भयो
 

३३ प्रतिशत छुट र रवीन्द्र
उहाँ ०५७ सालमा अखिलको अध्यक्ष हुँदा सार्वजनिक यातायातमा आमविद्यार्थी, अपांग, ज्येष्ठ नागरिकको सहुलियतका लागि आन्दोलन भयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार आन्दोलनपछि विद्यार्थीलाई सुविधा दिन तयार भयो । त्यतिवेला विभाजित विद्यार्थी आन्दोलनसँगै अघि बढ्ने अवस्था थिएन । सरकारविरुद्ध आन्दोलन गर्नु चुनौतीपूर्ण थियो । तर, उहाँले सबैलाई मिलाएर आन्दोलनको सफल नेतृत्व गर्नुभयो । 
योगेश भट्टराई अध्यक्ष र उहाँ महासचिव हुँदा गरिएको कालापानी मार्च तत्कालीन समयमा राष्ट्रियताको विषयमा गरिएको ठूलो आन्दोलन थियो । त्यही वेला बुद्धिनारायण श्रेष्ठलगायतको टोली बनाएर इलामको पशुपतिनगरदेखि बर्दियाको धिमापुरसम्म अध्ययन गरी भारतले नेपालका ६२ स्थानमा सीमा अतिक्रमण गरेको तथ्य पत्ता लागेको थियो । 

दरबारको त्यो सम्बोधन
पारस शाहको गाडीले गायक प्रवीण गुरुङलाई किचेर हत्या गरेपछि दरबारविरुद्ध बोल्ने साहस कसैमा थिएन । त्यतिवेला राजपरिवारका मान्छे दोषी भए पनि कारबाही हुनुपर्छ भन्नु चुनौतीपूर्ण थियो । रवीन्द्र अधिकारीले हामी सबैसँग छलफल गरेर पारस शाहलाई कारबाहीको माग गर्ने निर्णय गर्नुभयो । हस्ताक्षर संकलन गरी सरकारलाई होइन, दरबारलाई बुझाउनुपर्छ भन्ने ठहर गरेरै तत्कालीन राजा वीरेन्द्रलाई बुझाउने निर्णय पनि ग¥यौँ । हामीले संकलन गरेका हस्ताक्षर दरबारका तर्फबाट मुख्यसचिवले बुझेका थिए । 

हस्ताक्षर बुझाएको हप्ता दिनपछि दरबारबाट ‘श्री रवीन्द्र अधिकारीज्यू, अध्यक्ष, अनेरास्ववियु’ भन्ने सम्बोधनसहित पत्र आएको थियो । ‘ज्ञापनपत्र प्राप्त भएको र छानबिन गरी आवश्यक कारबाहीका अघि बढाइने’ पत्रमा उल्लेख थियो । जुन रवीन्द्र नेतृत्वकै आन्दोलनको उपलब्धि थियो । 
 

(लेखक अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्)