मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ पौष १९ सोमबार ०६:१९:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै सकियो माओवादी केन्द्रको महाधिवेशन 

विधानतः हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुनुपर्नेमा दुई सय ३७ चयन, पदाधिकारी केन्द्रीय कमिटीबाट टुंग्याइने

Read Time : > 5 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ पौष १९ सोमबार ०६:१९:००

अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको ‘समाजवादउन्मुख समृद्धि’को कार्यदिशा तय गरेको छ । नेतृत्व चयनमा माओवादी आन्तरिक निर्वाचनमा प्रवेश नै गरेन । विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख छ । 

११ पुसदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले आठौँ दिन केन्द्रीय नेतृत्व टुंग्याएको हो । तर, विधानअनुसार महाधिवेशनको बन्दसत्र हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्नेमा दुई सय ३७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ । अर्थात् हलले पूर्ण केन्द्रीय कमिटी बनाउन सकेन ।केन्द्रीय कमिटी चयनमा माओवादी केन्द्रले प्रणाली र विधि दुवै मिश्रित अपनाएको छ । माओवादी केन्द्रले पार्टीको विधानमा केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । यसैअनुसार केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ । केन्द्रीय कमिटीले गर्ने १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्नेछन् ।

आइतबार प्रचण्डले महाधिवेशन आयोजक कमिटीका तर्फबाट दुई सय ३७ सदस्यीय केन्द्रीय सदस्यको सूची पेस गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो । केन्द्रीय कमिटी सूची हलमा प्रस्तुत गर्दा प्रचण्डले कतिपय क्लस्टरमा राख्ने नेता नहुँदा अहिलेलाई खाली राख्नुपर्ने बाध्यता रहेको बताएका थिए । ‘संविधान र ऐनले समावेशी बनाउनैपर्ने भनेको छ । त्यो हामीले नै बनाएको संविधान हो । तर, कतिपय क्लस्टरमा राख्ने मान्छे नहुँदा अहिलेलाई खाली नै राखेर पछि पदपूर्ति गर्नुपर्ने भएको छ,’ प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै भनेका थिए । 

नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा क्लस्टरमध्ये खस–आर्य ४८, दलित १६, मुस्लिम दुई, मधेसी सात, आदिवासी ४१, थारू नौ र पिछडिएको क्षेत्रबाट दुईजना गरी कुल एक सय २५ जना समानुपातिक र एक सय १२ खुलाबाट चयन भएका छन् । नयाँ विधानअनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना आउने व्यवस्था छ । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुँदा समानुपातिकतर्फबाट २९ र खुलातर्फ ३३ केन्द्रीय सदस्य हलबाट चयन हुन सकेनन् । 

अर्कोतर्फ विधानअनुसार पदाधिकारी चयन केन्द्रीय कमिटीबाट हुनेछ । केन्द्रीय कमिटीको पहिलो बैठक सोमबारका लागि आह्वान भइसकेको छ । आइतबार नै पदाधिकारीको समेत टुंगो लगाएर हलबाट अनुमोदन गराउने प्रयास असफल भएको थियो । पदाधिकारीमा आकांक्षीको संख्या धेरै छ । पछिल्लोपटक विधानमा केन्द्रीय कमिटीले आवश्यकताअनुसार पदाधिकारी थपघट गर्न सक्ने व्यवस्था राखिएको छ । 

समावेशीका लागि बनाइएका क्लस्टरअनुसार केन्द्रीय समितिमा पर्नेको सूची बनाउन माओवादी केन्द्र चुकेको छ । विधानको क्लस्टरअनुसार नभई केन्द्रीय सदस्यको संख्या तलमाथि छ । समानुपातिकतर्फ क्लस्टरको संरचनाअनुसार माओवादीको केन्द्रीय कमिटीमा खस–आर्यतर्फ– ४५ जनामध्ये पुरुष– १२, पुरुष युवा– तीन, महिला– २४ र महिला युवा– ६ जना, दलिततर्फ– २२ मध्ये पुरुष– ६, पुरुष युवा– एक, महिला– १२ र महिला युवा– तीन तथा मुस्लिमतर्फ– सातमध्ये पुरुष– एक, पुरुष युवा– एक, महिला– चार र महिला युवा– एकजना रहने व्यवस्था छ । 

मधेसीतर्फ– २३ जनामा पुरुष– ६, पुरुष युवा– एक, महिला– १३ र महिला युवा– तीन, आदिवासी–जनजातितर्फ– ४३ जनामा पुरुष– ११, पुरुष युवा– तीन, महिला– २३ र महिला युवा– ६ तथा थारूतर्फ– १० जनामा पुरुष– दुई, पुरुष युवा– एक, महिला– ६ र महिला युवा– एकजना रहने व्यवस्था छ । यसबाहेक अपांगतातर्फ– दुईमा पुरुष– एक र महिला– एक तथा पिछडिएको क्षेत्रतर्फ– दुईमध्ये पुरुष– एक र महिला– एकजना हुने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने भनिएको छ । तर, कतिपय क्लस्टरमा राख्ने केन्द्रीय सदस्य नहुँदा त्यसलाई पछि पूर्ति गर्ने भन्दै खाली राखिएको छ । 

साथै, पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष पेसल खतिवडा र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले पेस गरेका छुट्टाछुट्टै प्रतिवेदन पनि महाधिवेशनको बन्दसत्रबाट पारित भए । साथै, तीनवटै आयोगमा २५–२५ सदस्य रहने गरी पुरानै नेतृत्वलाई आयोगमा दोहो¥याइएको छ । केन्द्रीय समितिमा आयोगका सदस्यहरू पदेन रहने व्यवस्था माओवादी केन्द्रको विधानले गरेको छ ।

त्यस्तै, महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक तथा वैचारिक प्रतिवेदन र देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदन पारित गरेको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि राम कार्कीको पूरक प्रतिवेदन र लेखनाथ न्यौपानेको फरक मत पेस भए पनि आगामी एक वर्षभित्र विशेष महाधिवेशनबाट तिनलाई समेट्ने भन्दै हलबाट पारित भयो । 

प्रचण्डले समूहगत छलफलमा उठेका प्रश्नको शुक्रबार जवाफ दिँदै पुनः जनताको माझमा जाने प्रतिबद्धता व्यक्त गरे । उनले जस्तोसुकै त्याग र बलिदान गर्न तयार र आफ्ना लागि यो अन्तिम अवसर भएको भन्दै गुम्न नदिने बताए । उनले अस्थिर भनेर आलोचना हुने गरे पनि आफूले माक्र्सवादी गतिशीलतालाई पक्डेको र त्यसैको परिणामस्वरूप मुलुकमा लोकतन्त्र, संघीयता र गणतन्त्र आएको जिकिर गरे । यसको रक्षाका लागि आफ्नै टाउकोमा आगो झोस्नसमेत तयार रहेको भन्दै उनले सिंगो पार्टी पंक्ति पहिलेजस्तै पुनः तयार रहनुपर्ने आवश्यकता औँल्याए । शान्ति–प्रक्रियापछि आन्दोलनमा कहीँकतै कमजोरी गरेको र त्यसलाई खुलेर स्वीकार गर्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको उनले दाबी गरे । उनले आफू बसेको घर र आफ्नो परिवारको विषयमा पनि धेरै प्रश्न उठ्ने गरेको भन्दै विकल्प खोजिरहेको स्पष्ट पारे । 

केन्द्रीय कमिटीको आकार बढ्यो, ३७५ सदस्यीय हुने
माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाएको छ । दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्य मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुने र १५ प्रतिशत (४५ जना) केन्द्रीय कमिटीबाट मनोनीत हुने विधानमा पार्टी अध्यक्षले पनि १० प्रतिशत (३० जना) मनोनीत गर्ने व्यवस्था थप गरिएपछि कमिटीको आकार बढेको हो । यससँगै केन्द्रीय कमिटी तीन सय ७५ सदस्यीय हुनेछ । माओवादीमा लेखा, अनुशासन र निर्वाचन आयोग २५–२५ सदस्यीय छ । उनीहरू ७५ जनै केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पाउ“छन् । यसो हु“दा केन्द्रीय कमिटी बैठकमा चार सय ४९ जना सहभागी हुनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटीमा रहने भएकाले दुवै कमिटीको आकार पनि बढ्नेछ । 

आठौँ महाधिवेशनका आठ दिन 
११ पुस : कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी अध्यक्ष प्रचण्डद्वारा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूद्वारा शुभकामना । 

१२ पुस : पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक–वैचारिक तथा स्थायी कमिटी सदस्य देव गुरुङद्वारा विधान मस्यौदा प्रतिवेदन पेस । प्रचण्डको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक–वैचारिक तथा विधान मस्यौदा प्रतिवेदनमाथि छलफलका लागि २५ समूह गठन । 

१३ पुस : प्रज्ञा भवनसहित विभिन्न स्थानमा समूहगत छलफल । पहिलो दिन समूहगत छलफल सकिएन । केन्द्रीय कार्यालयमा बुझाएको राम कार्कीको पूरक प्रस्ताव सार्वजनिक । 

१४ पुस : दिउँसो समूहगत छलफल सकियो । त्यसपछि समूहगत छलफलको निष्कर्षको रिपोर्टिङ सुरु । पहिलो दिन ११ समूहका नेताद्वारा रिपोर्टिङ । लेखनाथ न्यौपानेद्वारा फरक मत पेस । हरिबोल गजुरेलले पनि दिए लिखित बुँदागत सुझाव । 

१५ पुस : दोस्रो दिन ११ वटा समूहका नेताद्वारा राजनीतिक–वैचारिक तथा विधान मस्यौदा प्रतिवेदनमाथि सुझाव पेस । विभिन्न समूहद्वारा सरकारमा सहभागी हुने नेताको कार्यमूल्यांकन हुनुपर्ने र पार्टीको निर्णयअनुसार काम नगरेमा तत्काल फिर्ता बोलाउनुपर्ने, नेताहरूको सार्वजनिक जीवनबारे सार्वजनिक सुनुवाइ गर्ने विधि बनाउनुपर्ने, राजनीतिक नियुक्ति र लाभको पदमा पठाउनेसम्बन्धी मापदण्ड बनाउनुपर्ने र सम्बन्धित कमिटीको सिफारिसमा मात्र पठाउनुपर्ने, एकै परिवारबाट एकजनाभन्दा बढीलाई त्यस्तो लाभको पदमा पठाउन नहुनेलगायत सुझाव । 

१६ पुस : बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेसल खतिवडाद्वारा आयोगका प्रतिवेदनहरू प्रस्तुत । अध्यक्ष प्रचण्डको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ । समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्ताबेजमा समेट्ने प्रतिबद्धता । त्यसपछि परिमार्जनसहित प्रतिवेदन सर्वसम्मतिले पारित । 

१७ पुस : देव गुरुङले पेस गरेको विधान मस्यौदा पारित । आवश्यकताअनुसार केन्द्रीय कमिटीले पदाधिकारी बनाउन सक्ने व्यवस्था । केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने व्यवस्था । विधान पारित भएलगत्तै निर्वाचन प्रक्रिया सुरु गर्दै पार्टीको निर्वाचन आयोगद्वारा कार्यतालिका सार्वजनिक । नयाँ केन्द्रीय कमिटीका लागि आयोजक कमिटी सदस्यहरूको प्रदेशस्तरीय भिन्दाभिन्दै छलफल । थप गृहकार्यका लागि भन्दै आइतबार २ बजेसम्मका लागि निर्वाचन कार्यतालिका स्थगन । 

१८ पुस : केन्द्रीय कमिटी र पदाधिकारीमा सहमति जुटाउन स्थायी कमिटी बैठक । दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु । बन्दसत्रबाट केन्द्रीय अनुशासन, निर्वाचन आयोग र लेखा आयोग प्रमुख निर्वाचित । पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालद्वारा आठौँ राष्ट्रिय महाधिवेशनको आय–व्यय प्रस्तुत । गिरिराजमणि पोखरेलद्वारा समसामयिक प्रस्ताव प्रस्तुत, सर्वसम्मतले पारित । बन्दसत्रमा प्रचण्डद्वारा महाधिवेशन आयोजक समितिका तर्फबाट दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर दुई सय ३६ जनाको नाम प्रस्तुत, सर्वसम्मतले पारित । प्रस्तावित केन्द्रीय कमिटीको सूची पेस । हलद्वारा अनुमोदन । अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराद्वारा महाधिवेशनको बन्दसत्र सम्पन्न भएको घोषणा ।

तीन आयोगमा प्रमुख 
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यलाई अनुमोदन गरेको छ । यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्षमण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत पारित गरेको छ । केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेसल खतिवडाको नाम अनुमोदन भएको छ । तीनवटै आयोग २५ सदस्यीय छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ ।

चितवन र दाङबाट नौ–नौ केन्द्रीय सदस्य
माओवादीको आठौँ महाधिवेशनबाट चितवनका नौजना नेता केन्द्रीय सदस्य भएका छन् । प्रचण्डसहित नारायण दाहाल, सूर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे केन्द्रीय कमिटीमा परेका छन् । त्यसैगरी, दाङबाट कृष्णबहादुर महरा, रेखा शर्मा, जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य, हेमराज शर्मा, इन्द्रजित थारू, दामा शर्मा र नारायणी शर्मा केन्द्रीय सदस्य भएका छन् ।