मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ पौष १८ आइतबार ०८:१६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी महिलालाई ५० हजार सहयोग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ पौष १८ आइतबार ०८:१६:००

मोबाइल चोरीको आरोपमा छिमेकी महिलाहरूको कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी मोरङ कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तीकी २५ वर्षीया शोभा दर्जीलाई अमेरिकामा बस्ने पाँचजना नेपालीले सहयोग गरेका छन् । मानसिक सन्तुलन गुमेपछि दर्जीले चार महिना उपचार गराएकी थिइन् । अस्पतालमा उपचारबापतको ऋण तिर्न भन्दै अमेरिकामा बस्ने रमेश दर्नाल, दीपक परियार, दिलीप नेपाली, रायन लामगादे र पुण्यवती रम्तेलले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

अमेरिकामा बस्दै आएका उनीहरूले विराटनगरका अधिवक्ता जयराम सुन्दासमार्फत नगद सहयोग उपलब्ध गराएका हुन् । सहयोग रकम शनिबार नयाँ पत्रिका दैनिकका प्रदेश १ समाचार ब्युरो प्रमुख गणेश लम्सालले पीडित महिलालाई आमाबुबाको उपस्थितिमा हस्तान्तरण गरे । सोही समयमा दर्जीले उपचार गराउँदा औषधि खर्चबापत तिर्नुपर्ने रकम चार लाखमध्ये ५० हजार विराट औषधि पसलका प्रतिनिधि बेनुप ढकाललाई प्रदान गरिन् । छिमेकी महिलाहरूको कुटाइबाट गम्भीर घाइते भएपछि दर्जीको उपचारमा आर्थिक समस्या भएको समाचार नयाँ पत्रिकाले निरन्तर प्रकाशित गर्दै आएको थियो ।

अझै पाँच लाख ऋण तिर्न बाँकी
दर्जीको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । विराट औषधि पसललाई उनले अझै तीन लाख ७५ हजार रुपैयाँ तिर्न बाँकी छ । क्यान्टिन र अन्य पसलको गरेर अझै पाँच लाख रुपैयाँ तिर्न बाँकी रहेको शोभाका बाबु हर्कमान दर्जीले बताए । आमा देवीमाया दर्जीले उपचारमा लागेको खर्च अस्पतालले मिनाहा गरे पनि निजी औषधि पसल र क्यान्टिन अनि ब्लड बैंकको रकम भने अझै तिर्न नसकेको बताइन् । 

गत १ जेठमा दर्जीलाई छिमेकी महिलाले मोबाइलको सिम चोरी गरेको अरोपमा निर्घात कुटपिट गरेका थिए । उनीहरूकै कुटाइले गर्दा उनको मानसिक सन्तुलन गुमेको थियो । चार महिनाको उपचारपछि दर्जी हाल घरमै आराम गरिरहेकी छन् । कुटपिटकै कारण उनको चार महिनाको गर्भ पनि खेर गएको थियो । आर्थिक अभावकै कारण छोरीलाई निरन्तर औषधि खुवाउन समस्या भएको बाबु हर्कमानले बताए । 

कुटपिटमा संलग्न मोरङ कानेपोखी गाउँपालिका– ५ का २६ वर्षीया पुष्पा र २५ वर्षीया नीरमाया मगर, ५४ वर्षीया बिन्दा र ३० वर्षीया बबिता मगर अदालतबाट धरौटीमा छुटेका छन् । उनीहरू जातीय विभेद तथा छुवाछुत कसुर आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए । शरीरभरि चोट भएको र मानसिक सन्तुलन गुमेर चार महिनाको गर्भ खेर गए पनि प्रहरीले उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएन ।