मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार १०:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वाइडबडी मर्मतपछि उडान सुरु, न्यारोबडी अझै अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार १०:११:००

नेपाल वायुसेवा निगमको ग्राउन्डेड कलसाइन ९एन–एलवाई वाइडबडी ए३३० जहाजले बिहीबारदेखि उडान सुरु गरेको छ । मंगलबार काठमाडौंबाट नारिता (जापान) उडान गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि जहाज ग्राउन्डेड भएको थियो ।

बिग्रिएको जहाजमा चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्याक्टर म्यानेजमेन्ट युनिट (इसिएमयू)मा समस्या देखिएको निगमले जनाएको छ । निगमका अनुसार श्रीलंकाबाट आवश्यक पार्टपुर्जा ल्याई निगमकै इन्जिनियरिङ टिमले जहाज मर्मत गरेर बिहीबार दिउँसो दुई बजे काठमाडौं–दिल्ली नियमित उडान सुरु भइसकेको छ ।

मंगलबार एकै दिन निगमका दुईवटा जहाज ग्राउन्डेड भएका थिए । निगमको कलसाइन ९एन–एकेडब्लू न्यारोबडी ए३२० जहाज कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्टमा सुरक्षित अवतरण भएर पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड छ । ग्राउन्डेड जहाजको दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान भएको निगमले जनाएको छ ।

न्यारोबडी जहाजमा बढी नै समस्या देखिएको हुँदा मर्मतका लागि लामो समय लाग्ने अनुमान छ । निगम स्रोतका अनुसार जहाज मर्मत गरेर नियमित उडान सुरु गर्न अझै कम्तीमा एक साता लाग्नेछ । 

निगम व्यवस्थापनले जहाजको इन्जिन उत्पादनकर्ता पिडब्लू–आइएईसँग परामर्श लिँदा इन्जिनलाई रिप्लेस गरी रिपेयर गर्न सुझाब दिएको छ । निगमले कम्पनीको सुझाबअनुसार जहाजको इन्जिन यथासक्य चाँडै मर्मत गरेर उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडान भर्नका लागि दुईवटा न्यारो र दुईवटा वाइडबडी गरी चारवटा जहाज छन् । जसमध्ये एउटा वाइडबडी र एउटा न्यारोबडी जहाज बिग्रिएका हुन् । एकैसाथ दुई जहाज बिग्रिँदा निगमको उडानतालिका अस्तव्यस्त भएको छ । काठमाडौंसहित विभिन्न देशमा टिकट काटेर आउन–जान ठिक्क परेका यात्रुहरूको व्यवस्थापन गर्न पनि निगमलाई हम्मेहम्मे परेको थियो ।

अहिले निगमले कतारको दोहामा सबैभन्दा बढी हप्तामा ११ उडान गर्छ भने दुबईमा हप्तामा नौ, क्वालालम्पुर हप्तामा पाँच, नारिता, हङकङ र बैंकक हप्तामा एक–एक उडान गर्दै आइरहेको छ । यस्तै, नयाँदिल्लीमा भने भारतले गरेको एयर बबल सम्झौताअनुसार दैनिक एउटा मात्र उडान गरिरहेको छ । कोभिडअघि निगमले भारतको मुम्बई र बैंग्लोरमा पनि उडान गर्दै आइरहेकोमा अहिले भने अझै उडान सुरु भएको छैन ।