मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष १६ शुक्रबार ०९:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तनहुँको एउटै गाउँबाट चार करोडको सुन्तला बिक्री

Read Time : > 1 मिनेट
२०७८ पौष १६ शुक्रबार ०९:२९:००

तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका कृषकले चार करोडको सुन्तला बिक्री गरेका छन् । गाउँमै आएर व्यापारीले सुन्तला खरिद गरी लगेको कृषक निर्मल अधिकारीले बताए । आकर्षक आम्दानी भएको देखेपछि उमाचोकका अधिकांश कृषकले सुन्तला खेती गरेका छन् । 

यसपटक सुन्तलाले दाना राम्रो हालेको र स्वादिलो पनि भएको उनको भनाइ छ । ‘मैले पनि मेरो बगैँचामा भएको सुन्तला बिक्री गरेको छु । यस वर्ष मात्रै मैले ८५ लाख रुपैयाँको सुन्तला बिक्री गरे,’ उनले भने । 

अर्का कृषक सुकनारायण मल्लले पनि यस वर्ष ६० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । ‘सुन्तलाको गोडमेल, मल तथा स्याहारसुसारका लागि करिब १० लाख रुपैयाँ खर्च भएको छ । व्यवसायका लागि लागत कम लाग्ने र आम्दानी पनि बढी हुने भएकाले पनि सुन्तला खेतीतर्फ आकर्षित भएको हुँ । यस वर्ष खर्च कटाएर ५० लाख रुपैयाँ बचत भएको छ,’ उनले भने, ‘यहाँका कृषकहरू सुन्तला बेचेरै लखपति बने ।’

अहिले उमाचोकको सुन्तला देशका ठूला सहरहरू काठमाडौं, पोखरा, चितवनलगायतका बजारमा बिक्री हुने गरेको छ । सुन्तला मीठो र दाना पनि ठूला भएकाले व्यापारीहरू काठमाडांैदेखि गाउँसम्मै लिन आउने गर्छन् । गत वर्ष अत्यधिक वर्षा भएकाले दाना पनि सानो हालेको र बिक्री पनि कम भएको थियो । 

त्यसैगरी कोभिडका कारण पनि सुन्तला बिक्रीमा समस्या थियो । तर यसपटक सुन्तलाको उत्पादन राम्रो भएपछि आम्दानी पनि राम्रो भएको हो । सुन्तला पाक्न केही समय ढिला भए पनि गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा २० प्रतिशत वृद्धि भएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

वैदेशिक रोजगारीमा गएर आएकाहरू पनि अहिले गाउँमा नै कृषि गर्न तल्लीन छन् । धेरै वर्ष अघिदेखिका सुन्तलाका बिरुवाहरू अहिले पखेरामा छन् । सुन्तलाको पकेट क्षेत्र मानिने ठाउँहरूमा सुन्तलाको उत्पादन राम्रो भएकाले पनि यो वर्ष उत्पादन बढेको कृषि ज्ञानकेन्द्रको भनाइ छ । गत वर्ष २१ करोडको सुन्तला उत्पादन भए पनि यस वर्ष बढ्ने कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ । गत वर्ष ६ हजार नौ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष त्योभन्दा बढ्ने अनुमान छ । यहाँको सुन्तलाको दाना पोटिलो र स्वादिलो भएकाले पनि व्यापारीहरू बोटमै लिन आउँछन् ।

तनहुँमा एक हजार चार हेक्टर क्षेत्रफल सुन्तलाको उत्पादनशील क्षेत्र रहेको छ ।  उत्पादित सुन्तला काठमाडौं, पोखरा, चितवनलगायतका ठाउँमा निर्यात हुँदै आएको छ । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि यहाँको सुन्तला लिन व्यापारीहरू टाढाटाढाबाट आउने गर्छन् । उमाचोक मात्र नभई खानीगाउँ, तनहुँसुर, बेनिकोट, नाम्सिकोट, राइपुर, भानुमती, छिपछिपे बैदी, अर्चल्दी, पतेनी, हिर्लेखर्कलगायतका ठाउँ सुन्तलाको पकेट क्षेत्रका रूपमा लिइन्छ ।