मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०६:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा  दैनिक औसत ४८ सवारी दुर्घटना

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार ०६:५७:००

उपत्यकामा चल्छन् १८ लाखभन्दा बढी सवारी, हरेक दिन दुई सय नयाँ थपिन्छन्

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार चालू आर्थिक वर्षको सुरुका पाँच महिना (साउनदेखि मंसिरसम्म)मा मात्रै सात हजार एक सय ६५ दुर्घटना भएका हुन् । यो तथ्यांकले दैनिक औसत ४८ सवारी दुर्घटना भएको देखाउँछ ।

गत आर्थिक वर्ष ०७७/७८ मा उपत्यकामा नौ हजार पाँच सय ४५ सवारी दुर्घटना भएका थिए । यसको दैनिक औसत २६ हुन्छ । यी दुर्घटनामा एक सय ६७ जनाको ज्यान गएको थियो । जसमा एक सय ३६ पुरुष, २४ महिला र सात बालबालिका थिए । अघिल्लो वर्ष ०७६/७७ मा १० हजार ३० सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा एक सय ५३ जनाको मृत्यु भएको थियो । 

प्रहरी विवरणअनुसार उपत्यकामा १८ लाख २० हजार सवारीसाधन चल्छन् । हरेक दिन दुई सय नयाँ सवारी थपिने गरेका छन् । त्यसमा चारपांग्रे ५० देखि ५५ वटा र दुईपांग्रे डेढ सयको हाराहारीमा हुन्छन् । जनसंख्याको चाप बढेसँगै सवारीसाधन पनि थपिँदा दुर्घटनासमेत बढिरहेको छ ।

सडक विस्तार, करिडोर निर्माण, वैकल्पिक मार्गको प्रयोग बढाउँदै लगे पनि उपत्यकामा दुर्घटनाको संख्या घट्नुको साटो बढ्दै गएको बताउँछन्, महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता डिएसपी सञ्जीव शर्मा दास । ‘सवारी चाप बर्सेनि बढिरहेको छ, ट्राफिक व्यवस्थापन गर्न मुस्किल पर्छ । यस्तोमा तीव्र गति, ट्राफिक नियमको अवज्ञा गर्नेको संख्या धेरै देखिन्छ,’ उनले भने, ‘मोटरसाइकलहरू बढी दुर्घटनामा पर्ने गरेका छन् ।’

सवारीचालकले ट्राफिक चिह्नको बेवास्ता गर्दा र पैदल यात्रुले पनि आकाशे पुल, पैदल मार्गको उचित प्रयोग नगर्दा दुर्घटना बढेको प्रहरी ठम्याइ छ । उपत्यकामा दुई दर्जनभन्दा बढी आकाशे पुल छन् । ‘काठमाडौंमा हामीले दुर्घटना हुने क्षेत्र भनेर ‘ब्ल्याक स्पट’ छुट्याएका छैनौँ । सवारीको अत्यधिक चाप र तीव्र गतिका कारण दैनिक कम्तीमा तीनवटा गम्भीर खालका दुर्घटना भइरहेका छन्,’ प्रवक्ता दासले भने । 

महाशाखाका सहप्रवक्ता डिएसपी सुनीलजंग शाह सवारी चाप बढी भएका दिनमा दुर्घटना बढी हुने गरेको बताउँछन् । ‘सवारी चापअनुसार दुर्घटना बढी–घटी हुन्छ । सार्वजनिक बिदाका दिन दुर्घटनाका संख्या कम भएको देखिन्छ ।’

साना सवारीसाधन बढी दुर्घटना, मोटरसाइकल सबैभन्दा धेरै
दुर्घटनामा बढी साना सवारीसाधन पर्ने गरेका छन् । यो अंक ८८ प्रतिशत छ । पछिल्ला पाँच महिनाकै तथ्यांक हेर्दा सात हजार एक सय ६५ दुर्घटना भएकामा कार, जिप र मोटरसाइकलको संख्या मात्रै ६ हजार तीन सय छ । सबैभन्दा धेरै मोटरसाइकल तीन हजार पाँच सय तीन र दोस्रो धेरैमा कार दुई हजार आठ सय ५४ वटा दुर्घटनामा परेका छन् । सडकमा साना सवारीलाई प्राथमिकता दिइने र तीव्र गतिका कारण दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको मूल्यांकन छ । प्रहरीका अनुसार झन्डै ९० प्रतिशत मोटरसाइकल दुर्घटनाको कारण तीव्र गति नै भएको देखिन्छ ।