मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भेरी अस्पतालमा उपचाररत घाइते
२०७८ पौष १६ शुक्रबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोठामा बालेको आगो ननिभाई सुत्दा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीन सिकिस्त

Read Time : > 1 मिनेट
२०७८ पौष १६ शुक्रबार ०६:०७:००

कर्णाली प्रदेश खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगन्जको क्वार्टरमा न्यानो बनाउन बालेको आगोको धुवाँले निसास्सिएर एकै परिवारका नाबालकसहित चारजनाको मृत्यु भएको छ । तीनजना सिकिस्त भएका छन् । 

शाखाका कार्यालय सहयोगी २३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीनमहिने छोरा इप्सन, ४५ वर्षीया आमा कोपिला र २५ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । एउटै कोठामा सुतेका धनप्रसादका तीन वर्षका छोरा दिवस, २३ वर्षीया पत्नी सुशीला र २१ वर्षीय भाइ नरेन्द्र सिकिस्त छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । 

टिनको बाकसमा बालेको कोइला ननिभाई सुत्दा निसास्सिएर अप्रिय घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘घटनास्थलमा टिनको बाकसमा कोइला थियो । झ्याल, ढोका बन्द थियो । घटनाको प्रकृति र कोठाको अवस्था हेर्दा अक्सिजन कम भई निसास्सिएर मृत्यु भएको देखिन्छ,’ बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले भने, ‘सानो बच्चा भएकाले कोठा न्यानो बनाउन आगो बालेको देखिन्छ ।’ 

बिहीबार बिहान सातैजनालाई उद्धार गरी भेरी अस्पताल पुर्‍याइएको थियो । चारजनालाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । ‘चारजनाको कोठामै मृत्यु भएको हुनुपर्छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रजंग शाहले भने । उनका अनुसार सिकिस्त तीनजनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनीहरूको होस भने खुलिसकेको शाहले बताए ।

विद्युत्को गडबडीले बिहान सबेरै थाहा भएको थियो घटना
नेपालगन्ज– १० स्थित कर्णाली प्रदेश खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर)को थ्री–फेज विद्युत् लाइनमा राति नै गडबडी आएको थियो । विद्युत् आउने–जाने भइरहेको थियो । मध्यरात १२ बजेतिर कार्यालय प्रमुख धर्मेन्द्र न्यौपानेले कार्यालय सहयोगी अर्जुन सुनारलाई जेनेरेटर चलाउन निर्देशन दिए । तर, नयाँ जेनेरेटरमा तेल सकिएको थियो । न्यौपानेले तीन–चार घन्टाका लागि पुरानो जेनेरेटर चलाउन सुनारलाई अह्राए । 

बिहान करिब ५ बजेतिर सुनारले प्रमुख न्यौपानेलाई फोन गरेर नयाँ जेनेरेटरमा तेल हाल्नका लागि अर्को कार्यालय सहयोगी धनप्रसाद भट्टराईलाई पनि बोलाइदिन आग्रह गरे । न्यौपानेले पूरै घन्टी लगाउँदा पनि धनप्रसादको फोन उठेन । दोस्रोपटक फेरि फोन गरे, तर स्विच्ड अफ भन्यो । न्यौपानेले तत्कालै कोलचेन निरीक्षक धर्मदत्त ढकाललाई फोन गरेर क्वार्टरमै पठाए । 

धर्मदत्तले ढोका ढकढक्याएर बोलाउँदा भित्रबाट धनप्रसादकी श्रीमती सुशीलाको मसिनो आवाज आयो । उनले सबैलाई ज्वरो आएकाले कोही उठ्न सक्ने अवस्थामा नभएको बताइन् । यो खबर धर्मदत्तले कार्यालय प्रमुख न्यौपानेलाई सुनाए । उनी पनि तत्काल धनप्रसादको क्वार्टरमा आइपुगे । कार्यालय सहयोगी सुनारलाई पनि बोलाए ।

तीनजना मिलेर ढोकाको काप फट्टाए । भित्रबाट सुशीलाले बल्लतल्ल ढोका खोलिन् । ‘हामी भित्र पस्दा चारजना अचेत अवस्थामा थिए । अलिअलि बोल्न सक्ने भनेको सुशीला थिइन्, धनप्रसादका भाइ नरेन्द्रले पुलुक्क आँखा हेरेर बन्द गरे,’ न्यौपानेले भने, ‘कोठामा धुवाँ बाँकी नै थियो । तीन वर्षीय बालकको हात नै जलेको अवस्थामा लडिरहेका थिए ।’ घटना थाहा भएपछि तत्कालै भेरी अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी र उपस्थित सबै मिलेर उनीहरूलाई अस्पताल पुर्‍याएका थिए ।