मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७८ पौष १५ बिहीबार १६:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बयलवास घटना : पीडित पक्ष र स्थानीय प्रशासनबीच सहमति, मृतकका परिवारलाई राहत सिफारिस गरिने

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ पौष १५ बिहीबार १६:३२:००

बयलवास घटनाका पीडित परिवारलाई १० लाख राहत उपलब्ध गराउन स्थानीय प्रशासनले सिफारिस गर्ने भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक स्थानीयको मृत्यु भएको विषयमा बुधबार दिनभरको छलफलपछि दिउँसो अबेर दुई पक्षबीच सहमति भएको हो।  छलफलपछि ६ बुँदे सहमति भएको छ।  सहमतिसँगै सोमबारदेखि तनाव ग्रस्त रहेको बयलवास क्षेत्रको अवस्था सामान्यकृत हुँदै गएको स्थानीयले बताएका छन्।  पीडित परिवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बिहानैदेखि छलफल चलेको थियो।  

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको नेतृत्वमा लालबन्दीस्थित इलाका प्रहरी कार्यलय प्रांगणमा भएको छलफलले विभिन्न बुँदामा सहमति गरेको हो।  सहमतिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रदेश प्रहरीमा सिफारिस गर्ने, मृतकप्रति आश्रित परिवारका सदस्यका लागि रोजगारी तथा मृतका दुई छोरीहरूको शिक्षाको लागि स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत संघसंस्थासँग पहल गर्ने सहमति भएको छ।  

यस्तै, आन्दोलनको क्रममा भएको भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने र सम्पत्तिको क्षतिपूर्तीका लागि तथा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइतेको उपचारका लागि प्रचलित कानुनबमोजिम केन्द्रमा सिफारिस गर्ने सहमति भएको हो।  साथै मृतकका परिवारलाई राहतस्वरूप १० लाख उपलब्ध गराउन केन्द्रमा सिफारिस गर्ने, घटनाको विषयमा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरेर शान्तिसुरक्षा कायम गर्न सबै पक्षले पहल गर्ने तथा मृतकका परिवारले शव बुझेर धर्म संस्कारअनुसार अन्त्येष्टि गर्ने सहमति बनेको  हो। 

छलफलमा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, एसपी कृष्ण प्रसाईं, सशस्त्र प्रहरी एसपी भरत खनियाँ, उद्योग वाणिज्य संघका अध्यक्ष मनोजकुमार साह, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो। 

यस्तो थियो घटना
गत आइतबार राति इलाका प्रहरी कार्यालय केशरगन्जको गस्तीमा रहेको भ्यानले ईश्वरपुर नगरपालिका– ७, बयलवासमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक ईश्वरपुर नगरपालिका– ५ निवासी ३० वर्षका रामकुमार महतोको मृत्यु भएको थियो।  बयलवास बजारमा व्यापार गर्ने व्यवसायी महतोको दुर्घटनामा मृत्युको घटना शंकास्पद भएको र घटना प्रहरीले लुकाउन खोजेको स्थानीय र व्यापारीहरूले आरोप लगाएका थिए। 

सोही घटनालाई लिएर आक्रोशित बनेका स्थानीयले सोमबार बिहानै विरोधका कार्यक्रम सुरु गरेका थिए।  उनीहरूले इलाका प्रहरी कार्यलय केश्वरगन्जघेराउ, ढुंगामुडादेखि इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनीसमेत गरिदिएका थिए।  घटनापछि आक्रोशित स्थानीय तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।