१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातपछि भेडा बेँसी झार्दै स्थानीय । तस्बिर : मनिष खड्का/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ पौष १५ बिहीबार ०६:५२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षापछि देशैभर चिसो बढ्यो 

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ पौष १५ बिहीबार ०६:५२:००

काठमाडौंमा यो वर्षकै पहिलो हिमपात, सबैभन्दा धेरै वर्षा कैलालीमा, आजबाट मौसममा सुधार आउने

न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर वर्षा भएको छ । मंगलबार पश्चिम नेपालमा वर्षा भएकामा बुधबार देशभर वर्षा भएपछि चिसो पनि बढेको हो । काठमाडौं उपत्यकाका नजिकका अग्ला डाँडा चन्द्रागिरि, फुल्चोकी, तारेभीरलगायत क्षेत्रमा हिमपात भएको छ । काठमाडौंमा यो वर्षको पहिलो हिमपात हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानी वर्षा मापन केन्द्रमा रेकर्ड भएको छ । चिसापानीमा ४२.१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, त्रिभुवन विमानस्थलमा ३७.४ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा यो पहिलो हिउँदे वर्षा त होइन । तर, यसअघि फाट्टफुट्ट मात्र पानी परेको थियो ।

दिपायलमा १४.३, वीरेन्द्रनगरमा ७.१, जुम्लामा १५, पोखरामा १५.४, सिमरामा २७ र ताप्लेजुङमा २५.८ मिलिमिटर वर्षा भएको छ । पहाडमा वर्षासँगै हिमपातसममेत भयो । तर, तराईमा भने खासै पानी परेन । महाशाखाका अनुसार धनगढीमा ५.१, नेपालगन्जमा ३, धनकुटामा ७.७ र विराटनगरमा १.६ मिलिमिटर मात्र वर्षा मापन भएको छ । भैरहवामा भने २९.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

आजबाट मौसममा सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशााखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बनेपछि बुधबार देशैभर वर्षा भएको थियो । ‘बिहान केही क्षण फाट्टफुट्ट पानी परे पनि बिहान ९–१० बजेबाट यो प्रणाली हराएर जान्छ,’ मौसमविद् वासीले भनिन्, ‘दिउँसो काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा घाम लाग्ने देखिन्छ ।’

यद्यपि, स्थानीय वायुका कारण प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले आकलन गरेका छन् । ‘अब केही दिन बुधबारको जस्तो हिमपात पनि हुँदैन,’ उनले भनिन्, ‘तर, हल्का हिमपातको सम्भावना भने रहन्छ ।’ गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली देशैभर फैलिएपछि वर्षासँगै हिमपात भएको हो । 

बुधबार काठमाडौंको अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियसबाट सीधै ८.१ डिग्रीमा झरेको थियो । न्यूनतम तापक्रम भने ७.७ डिग्री रह्यो । ‘राति बादल लागेको थियो, बादलले तापक्रमका लागि ब्ल्याङकेटको काम गर्छ । त्यसैले न्यूनतम तापक्रम घटेन,’ मौसमविद् वासीले भनिन्, ‘तर, बदलीसँगै दिनभर पानी पर्दा घाम लाग्न सकेन । सूर्यको किरण पृथ्वीमा पुग्न नसक्दा दिनभर चिसो भयो । अधिकतम तापक्रम पनि घट्यो ।’ 

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम र दार्चुलाका उच्च भेगमा मंगलबार रातिबाट हिमपात सुरु भएको हो । हिमपातले चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । 

हिउँपहिरोमा एकजना बेपत्ता
लमजुङ/ मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता भएका छन् । हिमपहिरोमा परी नासोँ गाउँपालिका–४ ओडारको फेम्रो जंगलमा ५५ वर्षीय आच्यु गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । उनको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ । तीन दिनसम्म निरन्तर हिमपात हुँदा मनाङको जनजीवन प्रभावित भएको छ ।

मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबारदेखि निरन्तर परेको हिमपातका कारण तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन कष्टकर बनेको छ । चामेमा तीन फिट बाक्लो हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार मनाङको तल्लो क्षेत्र नासोँ गाउँपालिका– ९ दानक्युदेखि माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

जाडो बढेसँगै तापक्रम दिउँसो माइनस र साँझ–बिहान माइनस ६ देखि माइनस १३ डिग्री सेल्सियससम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका प्रमुख एसपी सूर्यप्रसाद आचार्यले बताए । 

लोकमार्गमा दुई फिट हिउँ 
बाग्लुङ/ अविरल वर्षासँगै परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको निसीखोला गाउँपालिका–६ सिप क्षेत्रमा झन्डै २ फिट बाक्लो हिउँ जम्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता डिएसपी इकवाल हवारीले जानकारी दिए । ढोरपाटन सिकार आरक्षलगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात परेको छ । हिमपातका कारण दैनिक काममा निस्कन र पशुचौपायालाई घाँस दाना खुवाउन कठिनाइ भएको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचाले बताइन् । हिउँले उच्च पहाडी क्षेत्र छपकै छोपेको छ । 

मध्यपहाडी लोकमार्ग अवरुद्ध 
रुकुम पूर्व/
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्व र बाग्लुङ जोड्ने खण्ड अवरुद्ध भएको हो । मंगलबार साँझदेखि जारी भारी हिमपातका कारण रुकुम पूर्व र बाग्लुङको सिमाना पातिहाल्ना क्षेत्रमा सवारी आवागमन रोकिएको छ । सडकमा बाक्लो हिउँ जमेपछि बुधबारबाट लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण बुधबार बिहानैदेखि रुकुम पूर्वबाट काठमाडौंसहित देशका विभिन्न ठाउँका लागि लामो दूरीका गाडी चलेका छैनन् । रुकुम पश्चिमबाट समेत काठमाडौं, पोखरालगायतका ठाउँमा पुग्न यो मार्ग भएर छोटो पर्ने भएकाले दैनिक ठूलो संख्यामा यातायातका साधन आउजाउ गर्ने गर्छन् । हिमपात जारी रहेकाले लोकमार्ग कहिले सञ्चालन हुन्छ भन्न नसकिने सिस्ने हिमाल यातायात प्रालिका नागेन्द्र पुनले बताए ।  

एक साताअघि नै हिमपात
सोलुखुम्बु/
सोलुखुम्बुमा बुधबार बिहानैदेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । जिल्लाको खुम्बु क्षेत्रसँगै सदरमुकाम सल्लेरी, फाप्लु, पिकेडाडा, पत्ताले, जुनबेँसी, बेनीलगायतका स्थानमा हिमपात परेको हो । सोलुखुम्बुमा गत वर्षको तुलनामा यो वर्ष एक साताअघि नै हिउँ परेको हो । बुधबार बिहानदेखि परेको हिउँले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । समुद्री सतहबाट करिब ३१०० फिटको उचाइमा रहेको पत्ताले डाँडामा बाक्लो हिउँ परेको र विभिन्न ठाउँबाट हिउँ खेल्नका लागि मानिसहरू त्यहाँ पुगेको स्थानीय प्रकाश मगरले बताए । हिमपातसँगै बढेको चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक भने समस्यामा परेका छन् । हिउँ परेपछि पानी जम्न थालेको छ । चिसोका कारण सदरमुकाम सल्लेरीका अधिकांश विद्यालय बुधबार बन्द भए । 

एकीकृत नमुना बस्ती हिउँले ढपक्कै
गोरखा/ 
उत्तरी गोरखाका चुमनुब्री गाउँपालिकाको सबै क्षेत्र र धार्चेको केही गाउँमा हिमपात भएको छ । हिउँले गहुँ, जौ राम्रो हुने भएकाले गाउँले खुसी भएका छन् । ‘मंगलबार बेलुकादेखि परेको हिउँ अहिलेसम्म रोकिएको छैन । यो सिजनमा यति धेरै हिउँ परेको यो नै पहिलोपटक हो,’ चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका समिर गुरुङले भने । हिमपात भएसँगै स्थानीय जनजीवन भने कष्टकर बनेको चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित लोक्पा सेराप गुरुङले बताए । बाक्लो हिमपातपछि मानिसहरू बाहिर निस्कन सकेका छैनन् ।धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखाको एकीकृत नमुना बस्ती हिउँले ढाकेको छ । ‘अहिले जताततै बाक्लो हिउँ जमेकाले हिँड्ने बाटो नै छैन । करिब डेढ फिटभन्दा बढी नै हिउँ परेको छ,’ स्थानीय जेशन गुरुङले भने ।

त्रिभुवन राजपथ अवरुद्ध
हेटौँडा/
 सिमभञ्ज्याङ–दामन क्षेत्रमा मंगलबार रातिबाट निरन्तर हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । बाक्लो हिमपातका कारण कालोपत्रे ढाकिएको र सडकमा जोखिम बढेपछि राजपथ अवरुद्ध भएको हो । थाहा नगरपालिका प्रमुख लवशेर विष्टका अनुसार वर्षासँगैको हिमपातका कारण सिमभञ्ज्याङ, दामन, भीमफेदी गाउँपालिकाअन्तर्गत पर्ने गोलमोड, अघोर तथा झिरघारी क्षेत्रमा राजपथ अवरुद्ध भएको हो । उत्तरी क्षेत्रमा हिमपात जारी छ । राजपथ भएर तराई–हेटौँडा–काठमाडौं आवतजावत गर्ने सानाठूला सवारीसाधन नारायणगढ–मुग्लिन हुँदै सञ्चालन भइरहेका छन् । दामन क्षेत्रमा पर्ने करिब १५ किलोमिटर क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको नगर प्रमुख विष्टले जानकारी दिए । मकवानपुरको उत्तरी क्षेत्रमा हिउँ हेर्ने पर्यटक बढेका छन् ।

हिमपातले किसान खुसी 
म्याग्दी/
 हिमपातले म्याग्दीका माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र हिउँले ढाकिएको छ । मंगला गाउँपालिका र बेनी नगरपालिकाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले ग्रामीण यातायातका साथै माथिल्लो भेगका विद्यालयको पठनपाठन प्रभावित बनेको छ । लामो समयपछि वर्षा र हिमपात भएपछि किसान भने खुसी भएका छन् । 

चिसो बढेपछि बुटवलका विद्यालय बन्द
बुटवल/ 
वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयमा बिहीबार र शुक्रबारका लागि बिदा दिइएको छ । बुधबार बिहानैदेखि पानी परिरहेको र पर्ने क्रम जारी रहेकाले विद्यालय बन्द गरिएको हो । बुटवल उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दैै १५ र १६ पुसमा बुटवलका सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई बिदा दिइएको उल्लेख गरेको छ ।

हिमाली गाउँमा हिउँ, पहाड र बेँसीमा भारी वर्षा
सिन्धुपाल्चोक/
 वर्षासँगै बाक्लो हिमपातपछि पहाड र बेँसीका किसान खुसी भएका छन् । हेलम्बु क्षेत्रमा चार इन्चसम्म बाक्लो हिउँ परेकाले जनजीवन कष्टकर बनेको छ । हेलम्बुको मेलम्चीघ्याङ, शेर्माथाङ, तार्केघ्याङ, पाँचपोखरीको भोताङ, बरुवा, भोटेनाम्लाङ, जुगल र भोटेकोसीका हिमालीगाउँमा हिउँ परेको छ । हिउँका कारण हिमालीगाउँका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । पहाडी गाउँमा पनि कतैकतै हिउँ परेको छ । सिमसिमे वर्षा पनि भइरहेकाले चिसो अत्यधिक बढेको छ । हिउँ झरिरहेकाले हिमालीगाउँका विद्यालय बन्द भएका छन् । पहाडी कछाड, इन्द्रावती, सुनकोसी र ब्रम्हायणी नदीको किनारआसपासका स्थानीय तीन महिनापछि परेको वर्षात्को फाइदा उठाउँदै खेतीपातीमा व्यस्त भएका छन् ।