१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष १४ बुधबार १६:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित

Read Time : < 1 मिनेट
२०७८ पौष १४ बुधबार १६:३८:००

कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ ।

ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र सडकमानव चिसोबाट बढी प्रभावित भएका छन् । हिमपातकै बीच चन्दननाथ नगरपालिका, डिभिजन वन कार्यालय र प्रहरी प्रशासनको समन्वयमा बजारका चोकचोकमा आगो बाल्ने अभियान सुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार खलंगा बजारको बसपार्क, कृष्ण मन्दिर, प्रशासन, एयरपोर्टलगायतका ठाउँमा दाउरा बाँडिएको छ । अत्याआवश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले सूचित गरेको छ । 

किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् । 

हिउँदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा प्रभावित भएको छ ।