मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडाैं
२०७८ पौष १४ बुधबार ११:१७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल प्रहरीमा तीन एआइजी र चार डिआइजीको नयाँ दरबन्दी थप्न सिफारिस

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ पौष १४ बुधबार ११:१७:००

नेपाल प्रहरीमा एआइजी (प्रहरी अतिरिक्ति महानिरीक्षक) र डिआइजी (प्रहरी नायब महानिरीक्षक)को दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाउन पुनः चलखेल सुरु भएको छ । अर्थ मन्त्रालयले रोकेर राखेको दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाउने चलखेल नेपाल प्रहरीभित्रैबाट सुरु भएको हो । प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी थप गर्न गृह मन्त्रालयमा सिफारिस पठाइसकेको छ । एआइजी र डिआइजीको नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो दोस्रोपटक हो ।

प्रहरी प्रधान कार्यालयले डेढ महिनाअघि गृहमा सिफारिस पत्र पठाएको थियो । सोही पत्रअनुसार दरबन्दी थपका लागि बजेट स्वीकृत गर्न गृहले अर्थ मन्त्रालयमा सिफारिस पत्र पेस गरेको थियो । चलखेलको तथ्य पाएपछि अर्थले सिफारिस पत्र रोकेर राखेको थियो । गृह स्रोतले प्रहरी प्रधान कार्यालयले एआइजी र डिआइजी दरबन्दी थप गर्न दोस्रोपटक पत्र पठाएको जानकारी दियो । 

तर, गृह प्रवक्ता प्रदीपकुमार कोइरालाले यस विषयमा आफूलाई जानकारी नभएको बताए । ‘नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गर्ने विषयमा प्रहरी प्रधान कार्यालयबाट पत्र आएको जस्तो मलाई लाग्दैन । यस विषयमा म जानकार छैन । अर्थ मन्त्रालयको विषय त झन् बुझ्ने कुरै भएन,’ उनले भने ।गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थपका लागि सिफारिस भएको छ । जसमध्ये एआइजीको एउटा दरबन्दी सातवटै प्रदेश प्रहरी हेडक्वाटर हेर्ने भनिएको छ । अर्को एक मानव स्रोत विभाग र बाँकी अर्को एक प्रहरी महानिरीक्षकको सचिवालयमा रहने गरी नयाँ दरबन्दी थपको प्रस्ताव गरिएको छ । नेपाल प्रहरीमा हाल प्राविधिकतर्फसमेत गरी ६ एआइजीको दरबन्दी छ । 

एआइजी र डिआइजीको थप दरबन्दीका सम्बन्धमा मिडियातिर चर्चा होला, तर मलाई यस विषयमा जानकारी छैन
वसन्त कुँवर, प्रवक्ता, नेपाल प्रहरी

 

डिआइजीको हकमा चार नयाँ दरबन्दी थप गर्ने प्रस्तावमा उल्लेख छ । पत्रअनुसार डिआइजीको थप गरिएको नयाँ दरबन्दी लागुऔषध नियन्त्रण ब्युरो, मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने गरी खडा गरिएको नयाँ कार्यालय, चितवनको भरतपुरस्थित प्रहरी तालिम कलेज र मानव स्रोत विभागमा हुनेछ । यसअघि ६ डिआइजीको नयाँ दरबन्दी थप गर्न प्रधान कार्यालयले सिफारिस गरेको थियो । नेपाल प्रहरीमा हाल २४ डिआइजीको दरबन्दी छ । 

 प्रहरी संगठनभित्रै विरोध 
एसएसपीबाटै अवकाश हुन लागेका केही प्रहरी उच्च अधिकृतका लागि नयाँ दरबन्दी थप्न लागिएको भन्दै प्रहरी संगठनभित्रै विरोध छ । टीका केसी, हरि वाग्ले एसएसपीबाटै पुसको दोस्रो साताबाट अनिवार्य अवकाशमा जानेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याची हुन् । उनीहरूकै बढुवालाई लक्षित गरी डिआइजीको नयाँ दरबन्दी थप गर्न लागिएको भन्दै प्रहरी संगठनभित्र विरोध छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले थप गर्न लागिएको दरबन्दीको सम्बन्धमा जानकारी नभएको बताए । ‘थप दरबन्दीको सम्बन्धमा मिडियातिर चर्चा होला । तर, मलाई यस विषयमा जानकारी छैन,’ उनले भने । यसअघि, प्रहरी प्रधान कार्यालयले १४ एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक)को दरबन्दी थप्नसमेत गृह मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । गृहले उक्त प्रस्ताव बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । तर, अर्थले त्यसमा पनि असहमति जनाएर रोकिदिएको थियो ।