Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १३ मंगलबार ०९:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिलातर्फ नेपाल अपराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १३ मंगलबार ०९:२५:००

साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । ढाका मिरपुरस्थित साहिद इन्डोर रंगशालामा सम्पन्न एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले जितेको थियो ।

नेपालले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २५–१४ ले आफ्नो पक्षमा पार्‍यो । कीर्गिस्तानले नेपाललाई कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै किर्गिस्तानविरुद्ध तेस्रो सेट २५–१६ ले जित्यो । अब नेपालले मंगलबार राउन्ड रोविन लिगको उपविजेता उज्वेकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले दुई वर्षअघि बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई फाइनलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेको थियो ।

यसैबीच, उज्वेकिस्तानले सोमबार नै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । लिग चरणमा अपराजित रहेको नेपालले पाँच खेलबाट सर्वाधिक १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहे पनि सेटमा श्रीलंका पछि प¥यो । किर्गिस्तानले ६ अंक बनायो । माल्दिभ्स र बंगलादेशले एक जित पनि निकाल्न नसक्दा अंकविहीन रहे । राउन्ड रोविन लिगमा नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को कठिन जित निकालेको थियो । 

त्यसपछि खेलमा नेपाली महिला भलिबल टोलीले एक सेट पनि गुमाएन । नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । श्रीलंका र किर्गिस्तानबीच तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ । २३ डिसेम्बरबाट सुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।