मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ पौष १२ सोमबार ०८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कानुनविपरीत नेपाल  आयात गरिएको ‘पप्पी सिड’ उम्रियो 

प्रहरी भन्छ– दुरुपयोग हुन सक्ने सम्भावना उच्च छ

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ पौष १२ सोमबार ०८:२२:००

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातका लागि स्वीकृति दिएको पप्पी सिड (अफिमको बियाँ) प्रजनन क्षमतायुक्त भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार प्रजनन क्षमतायुक्त सिड नेपाल ल्याउन पाइँदैन । वनस्पति विभागमातहतको प्रयोगशालामा गरिएको परीक्षणमा पप्पी सिड प्रजनन क्षमतायुक्त रहेको पुष्टि भएको हो । 

अस्वाभाविक तवरले नेपालमा पप्पी सिड भित्रिन थालेपछि लागुऔषध नियन्त्रण ब्युरोले आयातमध्येबाट नमुना छनोट गरी परीक्षण गर्न विभाग पठाएको थियो । विभागले परीक्षणका लागि नमुना सिडमातहतको गोदावरीस्थित राष्ट्रिय हर्बेरियम वनस्पति प्रयोगशालामा पठाएको थियो । नमुना लिइएकामध्ये ९० प्रतिशत सिडमा प्रजनन क्षमता भएको प्रयोगशालाले देखाएको थियो । 

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी हृदय थापाले आयात गरिएको पप्पी सिड प्रजनन क्षमतायुक्त रहेको प्रयोगशालामा गरिएको परीक्षणले देखाएको जानकारी दिए । ‘अस्वाभाविक तवरले नेपालमा पप्पी सिड भित्रिएकाले शंकास्पद देखिएपछि आयात गरिएकामध्येबाट नमुना छनोट गरी प्रयोगशाला पठायौँ । प्रयोगशालाबाट सिड प्रजनन क्षमतायुक्त रहेको खबर आयो,’ उनले भने ।

विभागका महानिर्देशक बुद्धिसागर पौडेलले परीक्षणका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाएको पप्पी सिडको नमुनामा प्रजनन क्षमतायुक्त रहेको देखिएको बताए । ‘परीक्षणका लागि ब्युरोले हामीकहाँ पप्पी सिडको नमुना पठाएको हो । हामीले परीक्षणपछि आएको नतिजा ब्युरोमै पठाएका छौँ । यस सम्बन्धमा उहाँहरूले दिनुभएको जवाफ सही नै होला,’ उनले भने ।

 बियाँको दुरुपयोग भई अफिम खेती हुन सक्ने खतरा 
उत्पादनकर्ता मुलुकले सिडको प्रजनन क्षमता नष्ट नगरी अन्य मुलुकमा निर्यात गर्नु संयुक्त राष्ट्रसंघ अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गतको इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्ड (आइएनसिबी)को नीतिविपरीत छ । सिडको दुरुपयोग भई अफिम खेती हुन सक्ने खतरा भएपछि बोर्डले यस्तो नीति अख्तियार गरेको हो । अफिमको खेती गर्न पनि खेती गर्ने मुलुकको बोर्डबाट स्वीकृति लिनुपर्छ । र, खेती गर्नुको उद्देश्य खेती गर्ने मुलुकले बोर्डमा पेस गर्नुपर्छ । मापदण्ड पूरा भएपछि बोर्डकै सुपरीवेक्षणमा मात्रै खेती गर्ने मुलुकले अफिमको खेती गर्न सक्छ । 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले उत्पादनकर्ता मुलुकले प्रजनन क्षमता नष्ट गरेर मात्रै सिडलाई अन्य मुलुकमा निर्यात गर्ने अन्तर्राष्ट्रिय कानुन रहेको जानकारी दिए । ‘पप्पी सिड अफिमको बियाँ हो । बियाँबाटै यसको प्रजनन गरिन्छ । विश्वका केही मुलुकमा मात्र अफिम खेती हुन्छ । यसका कडा मापदण्ड छन् । जसमध्ये निर्यात गर्ने मुलुकले सिडको प्रजनन क्षमता नष्ट गर्नैपर्छ । जसले नष्ट गर्दैन, त्यो बोर्डको नीतिविपरीत हो,’ उनले भने, ‘दुरुपयोग हुन सक्ने भएकाले राष्ट्रसंघले यस्तो व्यवस्था लागू गरेको हो । यति हुँदाहुँदै पनि नेपालमा आयात गरिएको सिडमा प्रजनन क्षमता देखिनु डराउनुपर्ने विषय हो । दुरुपयोग हुन सक्ने सम्भावना उच्च छ ।’ 

 एक लाख ६३ हजार पाँच सय किलो सिड नेपाल भित्रियो 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइएनसिबीको स्वीकृतिविनै गत आवमा दुई हजार मेट्रिक टन पप्पी सिड टर्कीबाट नेपालमा आयात गर्न स्वीकृति दिएको थियो । स्वीकृतिपछि गत साउनयता मात्रै नेपालमा एक लाख ६३ हजार पाँच सय किलो सिड भित्रिसकेको छ । यसका लागि १२ करोड २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । बाँकी सिड भने आउने क्रममा छ ।

मन्त्रालयमातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार नेपालमा सिड ल्याउन दुगुना गढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुबेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनीले मन्त्रालयबाट स्वीकृति पाएका थिए । विभागको तथ्यांकअनुसार राठी ट्रेडिङ कम्पनीले १३ पटक गरेर ६५ हजार किलो सिड ल्याइसकेको छ । बाँकी सिड भने अन्य पाँच कम्पनीले ल्याएका हुन् । आयातीत सबै सिड झापा र विराटनगरमा स्टोर गरी राखिएका छन् ।