मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ग्लोबल टाइम्स
२०७८ पौष १२ सोमबार ०७:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

म्याद गुज्रेको खोप अनुदान : पश्चिमा पाखण्ड

Read Time : > 2 मिनेट
ग्लोबल टाइम्स
२०७८ पौष १२ सोमबार ०७:३५:००

नाइजेरियाले हालै म्याद सकिएका एस्ट्राजेनेका खोपहरूको १० लाख ६० हजारभन्दा बढी मात्रा नष्ट गरेको छ । यसअघि केही सञ्चार माध्यमले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को कोभिड–१९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) मार्फत केही मात्रा म्याद सकिन चारदेखि ६ साताको समय बाँकी हुँदा युरोपबाट नाइजेरिया पु¥याइएको र त्यसलाई समयमै प्रयोग गर्न नसकिने खुलासा गरेका थिए । वास्तवमा यो कुनै नौलो विषय भने होइन ।

रिपोर्टहरूका अनुसार सेनेगलले यस वर्षको अन्त्यसम्ममा म्याद सकिएका कोभिड–१९ खोपका लगभग चार लाख मात्राहरू नष्ट गर्ने सम्भावना छ । त्यसैगरी मलावीले २० हजार मात्रा नष्ट गरेको छ भने गत अप्रिलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगोले १३ लाख खोपका मात्राहरू फिर्ता पठाएको थियो । द अफ्रिकन भ्याक्सिन एक्बिजिसन ट्रस्ट, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र कोभ्याक्सले हालै एक संयुक्त विज्ञप्ति जारी गरी अफ्रिकी देशहरूलाई कोभिड–१९ अनुदानको खोपको गुणस्तर सुधार गर्न आह्वान गरेका छन् ।

यसो हुनु धेरै हदसम्म अमेरिका र अमेरिकी साझेदारहरू गरेको खोपको अनावश्यक भण्डारण जिम्मेवार छ । यी मुलुकले सन् २०२० मा विकासकै चरणमा हुँदा अग्रिम रूपमा खोप खरिद गर्न हतारिएका थिए । सन् २०२१ जुनसम्ममा अमेरिकामा जम्मा गरिएका खोपको मात्रा अमेरिकाको घरेलु मागभन्दा धेरै हुन पुग्यो । तथ्यांकअनुसार अमेरिका र साझेदार मुलुकले म्याद सकिँदै गरेका २४ करोड कोभिड–१९ खोपका मात्राहरू भण्डारण गरेका छन् । यी मुलुक अतिरिक्त खोप आवश्यक मुलुकलाई उपलब्ध गराउनुको सट्टा गोदाममा थन्क्याउँछन् । यी मुलुक खोपको म्याद सकिन्जेल अफ्रिकाजस्ता विकासोन्मुख क्षेत्रमा बेच्ने वा ‘दान’ गर्नेबारे सोच्ने पनि छैनन् । र, म्याद सकिने समयमा खोप उपलब्ध गराएर अमेरिका र अमेरिकी साझेदारहरूले खोप दानका वाचा ‘पूरा’ गर्छन् । 

डब्ल्युएचओको नेतृत्वमा खोप वितरण संयन्त्रले गरेको एक खुलासाअनुसार अफ्रिकी देशलाई हालसम्म दिइएका अधिकांश खोप तदर्थवादी निर्णयका उपज हुन्, जहाँ छोटो समयको उपभोग्य मिति बाँकी भएका खोप प्रदान गरिएका छन् । अमेरिका र पश्चिमा मुलुकका लागि विकासोन्मुख मुलुकहरू ‘ठूलो मात्राको म्याद गुज्रिन लागेको खोपको फोहोर व्यवस्थापन गर्ने कारखाना’ मात्रै बन्न पुगेका छन् । 

महामारीविरुद्ध अमेरिका र अमेरिकी साझेदारहरूको कपटपूर्ण रणनीतिले विश्वको कोभिड–१९ विरुद्धको लडाइँमा बाधा पु¥याइरहेको छ । ओमिक्रोनको उदय धनी देशहरूमा भ्याक्सिनको अत्यधिक भण्डारणको परिणाम हो भनेर धेरै विज्ञले बताएका छन् । र, अत्यधिक भण्डारणले कोभिड–१९ विरुद्धको लडाइँलाई कमजोर बनाइदिएको छ । 

अहिले ओमिक्रोन भेरियन्ट अमेरिकामा कोभिड–१९ संक्रमणको प्रमुख कारण बनेको छ र ओमिक्रोनले यसअघि प्रमुख कारक रहेको डेल्टा भेरियन्टलाई समेत माथ दिएको छ । अमेरिका र अमेरिकी सहयोगीहरू आफ्ना नागरिकलाई जतिसुकै खोपका खुराक दिए पनि विश्वव्यापी खोप दर बढेन भने भाइरसले अमेरिका र साझेदारलाई पछ्याउन छाड्नेछैन । अहिलेको मितिसम्म अफ्रिकाका एक अर्ब ३० करोड मानिसमध्ये सात दशमलव पाँच प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन्, जब कि अमेरिका र अमेरिकी सहयोगीहरूले बजारमा एक वर्ष भइसक्दा पनि खोपहरू भण्डारण गर्न छाडेका छैनन् । यस वर्षको अन्त्यसम्म विकसित देशहरूमा १० करोड खोपका मात्रा खेर जाने छ भनेर बेलायती पूर्व–प्रधानमन्त्री गोर्डन ब्राउनले सेप्टेम्बरमै चेतावनी दिएका थिए ।   

तैपनि, अमेरिका र अमेरिकी साझेदारहरू ‘मसिहा’ बन्न खोजिरहेका छन् । ‘द्वितीय विश्वयुद्धमा जसरी अमेरिका लोकतन्त्रका लागि लड्यो, त्यसरी नै कोभिड–१९ विरुद्धको लडाइँमा हाम्रो राष्ट्र बाँकी विश्वको खोपका लागि लड्नेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेन दाबी गर्छन् । तर, यी दुवै ‘लडाइँ’ झुट र पाखण्ड साबित भएका छन् । अमेरिकाले महामारीविरुद्ध लड्न आफ्नो नयाँ ‘नेतृत्व’लाई जोड दिँदै गर्दा अफ्रिकी देशहरूमा म्याद सकिएका खोपहरू पठाएसँगै यो ‘नेतृत्व’निरर्थक भएको छ ।

यसको ठीकविपरीत चीनले ‘खोप कूटनीति’अन्तर्गत ५३ अफ्रिकी देश र अफ्रिकन युनियन कमिसनलाई १८ करोडभन्दा बढी खोप उपलब्ध गराएको छ । ध्यान दिनलायक के छ भने चीनले विदेशमा गर्ने खोप वितरण घरेलु खोपसँग तालमेल गरेर मात्रै गर्ने गरेको छ ।  जुन केही पश्चिमी देशका तुलनामा ठीक उल्टो छ । अर्थात्, उनीहरू ठूलो मात्रामा खोप भण्डारण गर्छन् र त्यसपछि म्याद सकिने वेला ‘दान’ गर्छन् । 

हालै सम्पन्न चीन–अफ्रिका सहयोग मञ्च (फोकाक) को आठौँ मन्त्रीस्तरीय सम्मेलनमा चीनले अफ्रिकालाई थप एक अर्ब खोपका मात्रा उपलब्ध गराउने वाचा गरेको छ, जहाँ ६० करोड मात्रा अनुदानका रूपमा समावेश छन् । हालका मितिसम्म विश्वमै सबैभन्दा धेरै खोप प्रदायक बनेको चीनले एक सय २० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थालाई लगभग दुई अर्ब खोपका मात्रा उपलब्ध गराएको छ । 

कोरोना भाइरस रोगले कुनै सिमाना जान्दैन, तसर्थ यो महामारीको रोकथाम सबैभन्दा कमजोर मुलुकमा निर्भर हुनेछ । केही टिप्पणीअनुसार अफ्रिका महामारीविरुद्ध विश्वव्यापी लडाइँमा ‘प्रमुख रणभूमि’मध्ये एक बनेको छ । यदि अमेरिका र अमेरिकी सहयोगीहरू महामारीविरुद्धको यस लडाइँमा साँच्चै योगदान गर्न चाहन्छन् भने अफ्रिकालाई ‘ठूलो स्तरको खोप फोहोर व्यवस्थापन गर्ने कारखाना’को रूपमा व्यवहार गर्न बन्द गर्नुपर्छ र भूराजनीतिलाई विज्ञानभन्दा माथि राख्न बन्द गर्नुपर्छ । यससँगै हानिकारक ‘खोप राष्ट्रवाद’को पनि अन्त्य गर्नुपर्छ । (चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको २६ डिसेम्बरको सम्पादकीय) ग्लोबल टाइम्सबाट