१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिपेश शाही काठमाडौं
२०७८ पौष १२ सोमबार ०६:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन दक्षिणपन्थी शक्तिहरूको र त्यसको रक्षार्थ संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा ध्रुवीकरण र मोर्चाबन्दी भइरहेको विश्लेषण

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडौं
२०७८ पौष १२ सोमबार ०६:३१:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने भएका छन् । ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको आफ्नो राजनीतिक प्रतिवेदन प्रचण्डले सोमबार बन्दसत्रमा पेस गर्दै छन् । प्रतिवेदनमा भूमिका र विषय प्रवेश, संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, समाजवाद र पुँजीवादको अवस्था, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू, पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखालगायतका उपशीर्षक छन् ।

प्रतिवेदनमा प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन दक्षिणपन्थी शक्तिहरूको र त्यसको रक्षार्थ संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा ध्रुवीकरण र मोर्चाबन्दी भइरहेको विश्लेषण गरेका छन् । उनले ‘वाम लोकतान्त्रिक शक्तिहरूले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफ्नो राजनीतिक मुद्दालाई ढृढताका साथ जनसमुदायमा स्थापित गर्नु र आफ्नो आचरणलाई जनहितअनुकूल बनाउन अझ जोड लगाउन आवश्यक’ रहेको औँल्याएका छन् । 

शान्तिसम्झौतापछि पार्टीले राजनीतिक र संगठनात्मक कमजोरी गरेको भन्दै त्यसका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको प्रचण्डको प्रतिवेदनमा छ । प्रतिवेदनमा उनले पार्टी र व्यक्ति स्वयंले गरेका कमजोरी र आत्मसमीक्षालाई प्राथमिकता दिएको बताएका छन् । ‘विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रूपरेखा खिच्नु छ । हाम्रो यो आठौँ राष्ट्रिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ,’ उनले उल्लेख गरेका छन् । 

उद्घाटन सत्रमा प्रचण्डले शान्ति प्रक्रियापछि विचार, संगठन, संरचना, कार्यनीति र कार्यशैलीमा कहाँ चुक्यौँ भनेर आत्मसमीक्षा गरिएको बताए । जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो, बाह्रबुँदे र शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधान निर्माणमा नेतृत्व गर्ने अवसर मलाई जुट्यो । तर, पछिल्लो समय माओवादी आन्दोलन कमजोर देखिनुमा प्रमुख नेताको हैसियतले मैले आफैँलाई समीक्षा गरेको छु’, प्रचण्डले भने । 

प्रचण्डका अनुसार प्रतिवेदनमा समाजवादउन्मुख समृद्धि भनेको के हो, त्यो समाजवादउन्मुख समृद्धि हुँदै सामाजिक न्याय, उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारलाई संरक्षण गर्ने के उपाय हुन्छ भन्ने विषय पनि उल्लेख छ । ‘महाधिवेशनबाट हामी अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर ढंगले अध्ययन र समीक्षा गर्दै छौँ । समाजवाद र पुँजीवादका बीचका विश्व प्रवृत्तिहरूमा अर्थतन्त्र कहाँ पुगेको छ ? उत्पादक शक्तिको विकास के भयो ? मानिसहरूबीचको उत्पादन सम्बन्धको स्थिति के छ ?’ प्रचण्डले प्रतिवेदनमा रहेको विषयवस्तुबारे भने, ‘यसबारे अलि मिहिनेत गरिएको छ । र, त्यसलाई नयाँ शिराबाट निष्कर्ष दिने कोसिस गरिएको छ । नेपालको ऐतिहासिक पृष्ठभूमिसहित हामी कहाँ आइपुगेका छौँ, हाम्रा अगाडि के चुनौती छन्, र त्यसको सामना कसरी गर्ने भन्ने सविस्तार विश्लेषण गर्दै निष्कर्ष दिन खोजिएको छ ।’

त्यसबाहेक सूचना प्रविधि र समाजवाद कसरी जोडिएका छन् भन्नेबारे पनि आफ्नो प्रतिवेदन बोलेको प्रचण्डको भनाइ छ । ‘विज्ञान प्रविधिको धेरै विकास भएको छ । खासगरी, १९८० देखि यतापट्टि सूचना प्रविधिमा भएको परिवर्तन, ग्लोबलाइजेसन र डिजिटलाइजेसनको युगसम्म आउँदा विज्ञानले चामत्कारिक विकास गरेको छ । विज्ञान प्रविधिको विकासले अर्थतन्त्रमा कस्तो प्रभाव परेको छ, विश्व राजनीतिमा कस्तो प्रभाव परेको छ, मानिसहरूको आपसी सम्बन्धमा कस्तो प्रभाव परेको छ भन्ने समीक्षा गरिएको छ,’ प्रचण्डले भने, ‘विज्ञान प्रविधिले समाजवादलाई अस्वीकार गरेको छ कि समाजवाद नभइनहुने भनेको छ, विज्ञान प्रविधिको विकास र अहिले भूमण्डलीकृत पुँजीवाद भनौँ, वित्तीय पुँजीवादको वर्चस्व भएकाहरूको सम्बन्धले धनी र गरिबबीचको खाडल बढेको छ कि घटेको छ भन्ने आकलन गरिएको छ ।’

उनले यसबारे थप भने, ‘धनी र गरिबबीचको खाडल त झन् बढेको छ । सीमित विकसित देशहरूमा केन्द्रित भएको साधन, स्रोत र पुँजी र अल्पविकसित देशहरूमा जे स्थिति छ, त्यो दरार निकै भयानक छ । त्यसकारण समाजवाद झन् बढी आवश्यक भएको छ भन्ने निष्कर्ष दिन खोजिएको छ ।’ महाधिवेशनका लागि प्रचण्डले तयार पारेको राजनीतिक र संगठनात्मक प्रतिवेदन बन्दसत्रभन्दा अघि कसैलाई औपचारिक वितरण गरिएको छैन । स्थायी कमिटीको बैठकमा समेत मौखिक रूपमा प्रतिवेदनका विषयवस्तु पेस गरेका प्रचण्डले आइतबार केन्द्रीय कमिटी बैठकमा पनि मौखिक रूपमा मात्रै पेस गरेका छन् । प्रतिवेदन सार्वजनिक नगरे पनि महाधिवेशन उद्घाटनपूर्व पार्टी केन्द्रीय कमिटी बैठकमा भने त्यसमा भएका विषयवस्तु सुनाएका छन् । 

प्रवक्ता महराले प्रतिनिधिलाई पनि महाधिवेशनको बन्दसत्र हलमा मात्रै प्रतिवेदन वितरण गरिने बताए । ‘अहिले सबै केन्द्रीय सदस्यलाई वितरण गरिएको छैन । त्यसमाथि महाधिवेशनमै छलफल गरिने भनिएको छ । बन्दसत्र सुरु भएपछि वितरण गर्छौँ,’ प्रवक्ता महराले भने । बन्दसत्रमा पेस भएपछि समूहगत छलफलका लागि प्रचण्डको प्रतिवेदन वितरण गर्ने माओवादीको तयारी छ । 

प्रचण्डले आफूले व्यस्तताका बाबजुद तयार पारेको प्रतिवेदन पूर्ण नभएको भन्दै महाधिवेशनले यसलाई परिमार्जन गर्ने विश्वास व्यक्त गरे । केन्द्रीय कमिटी बैठकमा सुरेश आले, गोपाल ठाकुर, राम कार्की र धर्मदत्त देवकोटाले ‘अध्यक्षले भन्ने र अरूले सुन्ने प्रक्रियाले मात्रै ठोस विश्लेषण र निष्कर्षमा नपुगिने’ भन्दै आफ्ना विचार पनि सुनिनुपर्ने धारणा राखेका थिए । उनीहरूले पार्टीमा समानुपातिक समावेशिताको विषयमा पर्याप्त बहस नभएको भन्दै धेरै विषयमा छलफल गर्नुपर्ने बताएका थिए ।