१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष ११ आइतबार ११:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहानमा ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच अभियान सुरु

Read Time : < 1 मिनेट
२०७८ पौष ११ आइतबार ११:१८:००

सिराहाको लहान नगरपालिका– ७ स्थित क्यान्सर केयर सेन्टरमा ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच अभियान सुरु गरिएको छ। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालसँगको सहकार्यमा सेन्टरमा संक्षिप्त समारोहबीच शनिबार जाँच अभियानको थालनी गरिएको हो। अभियानको थालनी गर्दै लहान नगरपालिकाकी उपप्रमुख सरियारकुमारी चौधरीले क्यान्सरजस्तो जटिल रोगको पहिचानका लागि सेन्टरले थालेको अभियानमा नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक एवं क्यान्सर विशेषज्ञ डा. वीरेन्द्र यादवले संकोच र त्रासको कारणले तराईका जिल्लामा भयावह रूप लिँदै गएको क्यान्सरको पहिचान गर्न जटिलता रहेको सन्दर्भमा हरेक शनिबारको जाँचले बेलैमा रोगको पहिचान गर्न सकिने बताए। ‘बेलैमा पहिचान गर्न सकिए उपचार गरेर बिरामीलाई निको पार्न सकिन्छ,’ डा. यादवले भने, ‘नियमित जाँचको अतिरिक्त जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्छ।’

बेलैमा पहिचान, बेलैमा निदान
नेपालमा खासगरी पाठेघरको मुख र स्तन क्यान्सर भएका महिलाको संख्या बढिरहेको उल्लेख गर्दै डा. यादवले कम्तीमा प्रारम्भिक चरणमै पहिचान गर्न सकिए रोगको निदान गर्न सकिने बताए। ‘त्यसका लागि जाँच अभियानले थप सघाउनेछ,’ उनले भने । डा. यादवका अनुसार कुल क्यान्सर रोगीमध्ये पाठेघरको मुख र स्तन क्यान्सरका बिरामी महिलाको संख्या ३० देखि ३५ प्रतिशतको हाराहारीमा छ। 

नाक, कान, घाँटीको क्यान्सरका बिरामीको संख्यासमेत बढिरहेको उल्लेख गर्दै उनले भने, ‘क्यान्सर जाँच अभियानअन्तर्गत हरेक हप्ता हरेक क्यान्सरका विशेषज्ञहरूद्वारा जाँच गरी रोगको पहिचान गरिनेछ।’ कार्यक्रममा अस्पतालका बालरोग क्यान्सर विशेषज्ञ डा. ऋतु लामिछाने, डा. मुक्ति देवकोटा, डा. बजरंगप्रसाद साहलगायतले बदलिँदो जीवनशैली, खानपानलगायतको कारणले बढ्दै गएको क्यान्सर रोगको निदानका लागि सजग हुनुपर्ने औँल्याएका थिए।