१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष ९ शुक्रबार १३:१५:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

माओवादी नेतृत्वको प्रचण्ड–सपना

Read Time : > 3 मिनेट
२०७८ पौष ९ शुक्रबार १३:१५:००

७६ वर्षको उमेरमा जो बाइडेनले अमेरिकी सत्ताको वागडोर सम्हालिरहेका छन्। नयाँ जनवादी क्रान्तिको चार वर्षपछि जन्मेका सी जिनपिङ ६८ वर्षको उमेरमा चिनियाँ राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सफलतापूर्वक हाँकिरहेका छन्। ७१ वर्षीय नरेन्द्र मोदीले विशाल भारतको शासनसत्ता कुशलतापूर्वक सञ्चालन गरिरहेका छन्। हालै मात्र काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको पार्टी सभापतिमा ७५ वर्षीय शेरबहादुर देउवा विजयी भएका छन्। चितवनमा सम्पन्न नेकपा (एमाले)को महाधिवेशनबाट ६९ वर्षका केपी ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। यही पुस ११–१३ मा सम्पन्न हुने नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनबाट ६७ वर्षीय पुष्पकमल दाहाल (क. प्रचण्ड) पुनः अध्यक्षमा निर्वाचित हुने निश्चित नै छ। 

उमेर समूहका आधारमा हेर्ने हो भने विश्वको नेतृत्वपंक्ति र नेपाली राजनीतिको नेतृत्वपंक्ति मिल्दोजुल्दो नै छ। तर, पृष्ठभूमि, राज्य संरचना र सम्बन्धित नेताको इतिहास बेग्लाबेग्लै र उथलपुथलकारी देख्न सकिन्छ। आज नेतृत्वलाई उमेर समूहको आधारमा हेर्ने, बुझ्ने र व्याख्या गर्ने चलन पनि छ। युवापंक्तिमा नेतृत्व लिनुपर्छ र आउनुपर्छ भन्ने दुवै किसिमको माग र चाहना देख्न पाइन्छ। तर, कुनै पनि नेतृत्व विकास र निर्माण व्यक्तिका इच्छा, आकांक्षा र चाहनाका आधारमा भएको पाइँदैन। हरेक समाजको विकास आफ्नै मौलिकतासहित भइरहेको हुन्छ। समाज विकासको त्यही मौलिकतामा फरक–फरक ढंगले नेतृत्व पनि विकास भइरहेको हुन्छ। नेतृत्व विकास वस्तुगत र आत्मगत विकासको तालमेलबाट मात्र हुन्छ।

जुनसुकै देशमा पनि विकास र प्रगतिका लागि योग्य र सक्षम नेतृत्वको विकास हुनु अपरिहार्य छ। अक्षम र गलत नेतृत्व भयो भने समाजले मात्र होइन, देशले पनि ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ। नेतृत्व विकाससँगै उसले अंगालेको विचार पनि विकसित हुनुपर्छ। त्यसैले विचार र नेतृत्व एक–अर्कासँग अभिन्न रूपले गाँसिएका हुन्छन्।

नेतृत्व विकाससम्बन्धी पछिल्ला प्रयोग पनि हामीले देखेका छौँ। अमेरिकनहरूको आफ्नै खालको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय भूमिकामार्फत नेतृत्व विकास गरिरहेका हुन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीको पिरामिड संरचनामा नेतृत्व विकाससम्बन्धी स्पष्ट मापदण्डहरू पालन गरेर नेतृत्व विकास गर्ने गरिन्छ। भारतमा पनि नेतृत्व विकासलाई विशेष प्राथमिकतामा राखेर भाजपा र कांग्रेसले विभिन्न पात्रहरूलाई अगाडि बढाइरहेका छन्। नेपालमा पनि पछिल्लो राजनीतिक परिवर्तनपश्चात् नेतृत्व विकाससम्बन्धी नयाँ अभ्यासहरू भइरहेका छन्। नेपाली कांग्रेसमा आउँदै गरेको युवा नेतृत्व, एमालेको युवा नेतृत्व र माओवादी पार्टीले प्रस्तुत गर्दै गरेको नयाँ नेतृत्वको अभ्यास आदिले नेपाली राजनीतिमा नेतृत्व विकाससम्बन्धी व्यवस्थित मान्यता विकास हुँदै आएका छन्।
जुनसुकै देशमा पनि विकास र प्रगतिका लागि योग्य र सक्षम नेतृत्वको विकास हुनु अपरिहार्य छ। अक्षम र गलत नेतृत्व भयो भने समाजले मात्र होइन, देशले पनि ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ। नेतृत्व विकाससँगै उसले अंगालेको विचार पनि विकसित हुनुपर्छ। त्यसैले विचार र नेतृत्व एक–अर्कासँग अभिन्न रूपले गाँसिएका हुन्छन्। विश्वमा एकथरी नेता र विचारकहरूले नयाँ विचार त दिए, तर नेतृत्व दिन सकेनन्। अर्काथरीले नेतृत्व प्रदान गरिरहे, तर व्यवहारमा नयाँँ विचार विकास गर्न सकेनन्। अर्थात् अरूको विचारलाई लागू गर्ने काम मात्रै गरे। त्यसैले हामी खासगरी तीन किसिमको नेतृत्व देख्छौँ। एकथरी विचार प्रतिपादन गर्ने, तर नेतृत्व नगरेका वा गर्न नपाएका हुन्छन्। अर्को किसिमको नेतृत्व भनेको विचार र नीति अरूको नेतृत्व मात्रै आफ्नो भएका हुन्छन्। तेस्रो भनेका विचार र नीति आफैँ विकास गरेर नेतृत्व पनि गरेका हुन्छन्। 

आफ्नै नेतृत्वमा विचार र नीतिको विकास मात्रै होइन, नेतृत्वसमेत गरेका संसारकै दुर्लभ नेतृत्वमध्येका एक हुन् कमरेड प्रचण्ड। नेपाल एकीकरण गर्ने विचार–नीति र नेतृत्व गरेका पृथ्वीनारायण शाह हुन्। नेपालमा विकासको मोडेल दिने गरी नेतृत्व गरेका राजा महेन्द्र हुन्। ‘जनताको बहुदलीय जनवाद’को विचार प्रतिपादन गरेका नेता मदन भण्डारी हुन्। तर, उनले आफैँले प्रतिपादन गरेको विचारलाई नेतृत्व गर्ने अवसर प्राप्त गरेनन्। ‘प्रजातान्त्रिक समाजवाद’को विचार बिपी कोइरालाले विकास गरे। तर, त्यसलाई प्रयोग गर्ने अवसर उनले पनि प्राप्त गर्न सकेनन्। आजको नेपाली राजनीतिमा शेरबहादुर देउवा र केपी ओली बिपी र मदन भण्डारीको विचारलाई बोकेर अघि बढेका नेताहरू हुन्। व्यवहारमा कति उतारेका छन् त्यो त नेपाली जनताले राम्रोसँग बुझेकै छन्। तर, उनीहरूले भन्ने गरेको सच्चाइ यही हो।
नेपाली इतिहासको क्रमभंग कमरेड प्रचण्डको नेतृत्वमा भएको हो। २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको प्रारम्भ कमरेड प्रचण्डको नेतृत्वमा भएको हो। एकातिर विश्वमा साम्यवादको अन्त्य, माक्र्सवाद असफल भन्दै साम्राज्यवादले हल्ला फैलाइरहेको र अर्कोतिर कम्युनिस्ट पार्टीहरू विघटन हुँदै गइरहेको वेला नेपालमा मार्क्सवाद–लेनिनवाद–माओवादको विचारलाई नेपाली मौलिकतामा प्रयोग र विकास गर्ने काम कमरेड प्रचण्डको नेतृत्वमा भएको हो। मालेमालाई नेपाली मौलिकतामा प्रयोग गर्ने क्रममा विकास भएको विचार ‘प्रचण्डपथ’ संश्लेषण भएको थियो। भलै त्यो विचार संस्थागत रूपमा छैन। नेकपा एकीकरणको क्रममा ‘एक्काइसौं शताब्दीको जनवाद’लाई बहसको विषय भनेर स्वीकार गरिएको थियो। त्यो विचार कमरेड प्रचण्डको आविष्कार हो। 

यतिवेला माओवादी पार्टी आफ्नो राष्ट्रिय सम्मेलनको घनीभूत तयारीमा छ। यो सम्मेलन कांग्रेस र एमालेको जस्तो नेताप्रधान अधिवेशन होइन। देशभरका नेता–कार्यकर्ता जम्मा गरेर चुनाव गर्दै केवल नेतृत्व छनोट गर्ने कार्य माओवादीले गर्दैन। माओवादी केन्द्रको सम्मेलनमा विचारको बहस हुन्छ र त्यसलाई समृद्ध गरिन्छ। पार्टीको नीतिमा छलफल हुन्छ र त्यसलाई परिष्कृत गरिन्छ। अधिकतम र न्यूनतम कार्यक्रमहरूबारे छलफल हुन्छ र उक्त छलफलले नीति तथा कार्यक्रम ठोस गर्छ। त्यही समृद्ध विचार, परिष्कृत नीति र ठोस कार्यक्रम लागू गर्ने नयाँ नेतृत्वको टिम तयार गर्छ। यसरी पात्रको रूपमा मूल नेतृत्वमा कमरेड प्रचण्ड आए पनि विचार–दृष्टिकोणका आधारमा नयाँ र गतिशील प्रचण्डको नेतृत्व कायम हुन्छ। यसलाई कांग्रेस र एमालेको जस्तो अरूको विचारलाई लागू गर्ने पात्रको रूपमा नेतृत्वको निरन्तरता होइन। विचार र सिद्धान्तमा माथि उठेको गतिशील नेतृत्वको रूपमा बुझ्नुपर्दछ।

सिंगो व्यवस्था बदलेर नयाँ युगको सुरुवात गरेको माओवादी नेतृत्वका सामु कुनै व्यक्तिगत वा सामूहिक चाहना छैनन्। तीन करोड नेपालीको भाग्य र भविष्य बदल्ने महान् अभियानमा जोडिएका अजम्बरी सपना छन्। व्यक्तिगत जीवनलाई परित्याग गरेर सामूहिक जीवनका निम्ति युद्धमा हेलिएका जिउँदा सहिदहरूका जीवित सपना केन्द्रित हुँदै छन्। दशौँ हजार महान् सहिदले अधुरो छोडेका सपनाका भारी आजको माओवादी नेतृत्वका साथमा छन्। शान्तिप्रक्रियायता नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने अठोटका साथ जनताका सामु वाचा गरिएका प्रतिबद्धताका दस्ताबेजहरू छन्। जसलाई अझै केन्द्रीकृत गर्नुपर्नेछ। यिनै सपनाहरूको केन्द्रीकृत रूप हो माओवादी नेतृत्वको प्रचण्ड–सपना। 

अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट जनताको जीवन बदल्ने अठोट माओवादीले लिएको थियो। समाजमा अशिक्षा, गरिबी र बेरोजगारी हटाउने जिम्मेवारी माओवादीले नै लिएको हो। उत्पीडित जाति, क्षेत्र र लिंगको समस्यालाई उत्पीडनका विविध रूपहरूमा परिभाषित गर्दै अन्त्य गर्ने अठोट माओवादीले नै लिएको हो। नोकरशाही, दलाल पुँजीवादमा विकास भएको साम्राज्यवादको भिन्न रूप वित्तीय पुँजीवादको अन्त्य गर्ने प्रण माओवादीले नै गरेको छ। सबै खालका शोषण, दमन र विभेद अन्त्य गर्दै समाजवादको दिशामा अघि बढ्ने स्पष्ट मार्गचित्र माओवादीसँग मात्र छ। यिनै सपना र योजनाहरूको एकीकृत रूप नै माओवादी नेतृत्वको प्रचण्ड–सपना हो।
(मल्ल नेकपा माओवादी केन्द्रका युवा नेता हुन्।)