मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सौरभ यादव राजविराज
२०७८ पौष ८ बिहीबार १२:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहरले कष्टकर बन्दै विपन्नको जनजीवन, सप्तरीमा मात्रै ५० हजार प्रभावित हुने

Read Time : > 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ पौष ८ बिहीबार १२:५२:००

सप्तरीसहित मधेसका जिल्लाहरूमा शीतलहर सुरु भइसकेको छ। शीतलहर सुरु भएसँगै यहाँका विपन्न परिवारको जनजीवन कष्टकर हुन थालेको छ। आर्थिक रूपमा कमजोर सप्तरीका मुसहर (सदा) र डोम (मरिक) जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउने गरेको छ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ र १२ का डोम र मुसहर समुदायसँग बस्नका लागि न राम्रो घर छ न पोसिलो खानेकुरा। छिन्नमस्ता– ३ का ३७ वर्षीय खानेश्री खंग न्यानो लुगाको अभावमा सिरेटो चल्ने गोठमा सुत्न बाध्य छन्। यहाँका मुसहर र डोम समुदाय परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने बाध्यतामा छन्।

ऐलानी जग्गामा झुप्रो बारेर बसेका वडा नं. ६ का १२ परिवारका ५० जना सबैको एउटै चिन्ता छ– यसपालिको ठण्डीमा बाँचिन्छ कि बाँचिँदैन। ‘कुनै–कुनै वर्ष त यस्तो ठण्डीमा ओड्नेलगायतका राहत दिन्थे’ ६५ वर्षीय सिफैत मरिकले भने, ‘यसपालि त अहिलेसम्म कोही सोध्नसम्म आएनन्।’ बस्तीका जीवछ मरिकले वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएको भन्दै चिन्ता व्यक्त गरे। यस्तो समस्या जीवछको मात्र नभई सप्तरीका अधिकांश गरिब विपन्न बस्तीको छ। जीविकोपार्जनको एक मात्र आधार मजदुरीबाट दुई छाक टार्न मुस्किल भएको अवस्थामा न्यानो लुगा कसरी खरिद गर्ने भन्ने उनीहरूको गुनासो छ।

चुनावको समयमा हुलका हुल उम्मेदवार अनेक आश्वासन लिएर भोट माग्न आउने गरे पनि आफूहरू ठण्डीले बिचल्ली पर्दा कोही सोध्नसमेत नआएकोमा बस्तीका सबै मरिकहरू आक्रोश पोख्न थालेका छन्। टोलको नजिकै स्थानीय जनप्रतिनिधिको बसोवास रहेको भए पनि आफूहरू ठण्डीले तड्पिरहँदासमेत कसैले वास्ता नगरेको स्थानीय वीरेन्द्र मरिकले गुनासो गरे। ‘चुनावको वेला मात्र सम्झिने अरू वेला मर्न लाग्दा पनि चासो नराख्ने जनप्रतिनिधिको के काम ?’ उनले प्रश्न गरे, ‘हामी दलितहरूलाई खालि भोटबैंकको रूपमा प्रयोग गर्दै आइएको छ। हाम्रो समस्यामाथि कसैलाई चासो रहेनछ।’

सरकारी तथ्यांकअनुसार दुई छाक टार्न नसक्ने व्यक्तिको संख्या सप्तरीमा मात्रै एक लाखको हाराहारीमा छ। तर, यिनीहरूलाई शीतलहरबाट जोगिन न्यानो लुगा प्रदान गर्न सरकारीस्तरबाट  कुनै अग्रसरता भएको देखिँदैन। दिगो विकास लक्ष्य पूरा गर्न पनि हरेक नागरिकलाई गाँस, वास र कपाससम्म पहुँच हुनुपर्छ। विपन्नको समस्यामा सरकार गम्भीर नभएकै कारण अहिले शीतलहर थेग्न धेरैलाई मुस्किल छ। शीतलहरको समस्या नयाँ भने होइन। बर्सेनि आउने शीतलहरको कहरबाट गरिब विपन्न वर्गलाई कसरी जोगाउने भन्नेतर्फ गम्भीर हुँदै सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।

शीतलहरबाट ५० हजार प्रभावित हुन सक्ने
शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले तयार पारेको ‘शीतलहर आकस्मिक योजना २०७८’ अनुसार हिउँदको मंसिर महिनादेखि फागुनसम्म ५ हजार विपन्न परिवारका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको हो।

समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा एक हजार ५० परिवारका १० हजार पाँच सय व्यक्ति प्रभावित हुन सक्नेछन् भने सबैभन्दा कम रूपनी गाउँपालिकामा ५० परिवारका पाँच सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्ने बताइएको छ।