मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
क्यानका ६ जना केन्द्रीय सदस्य बुधबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्दै ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ८ बिहीबार ०८:२५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कारबाही फिर्ता लिन क्यानका ६ सदस्यको माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ८ बिहीबार ०८:२५:००

सिनियर ६ खेलाडीमाथि गरिएको कारबाहीप्रति नेपाल क्रिकेट संघ (क्यान) को ६ जना केन्द्रीय सदस्यहरूले खुलेरै विरोध र असन्तुष्टि जनाएका छन् । बोर्डका ६ जना पदाधिकारीले बुधबार आयोजना गरी बहुमतका आधारमा भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, अमितवीर पाण्डे, ऋषिराम गौतम, करण महतरा, मोहम्मद दाउद अन्सारी र सञ्जयराज सिंहले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै क्यानको काम र निर्णयप्रति विरोध जनाएका हुन् ।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन मिहिनेत गरेका खेलाडीलाई क्यानले नै अपमानजनक व्यवहार गर्दै कारबाही गरेको असन्तुष्ट पदाधिकारीको दाबी 
 

क्यान कार्यसमितिले गत साता तत्काल कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीमाथि अनुशासनको कारबाही गरेको थियो । कार्यसमितिले ज्ञानेन्द्र र दीपेन्द्रसिंहका पद खोसेको थियो । साथसाथै ज्ञानेन्द्र, दीपेन्द्रसिंह सोमपाल र कमलसिंहका २०२२ को प्रारम्भिक खेलाडी सम्झौताबापत पाउने ६ महिनाको मासिक पारिश्रमिक नपाउने निर्णय गरेको थियो ।

‘खेलाडीको कारबाही नियोजित तरिकाले भयो, हामीले खेलाडीको कारबाहीको विषयमा सहमति जनाएका थिएनौँ,’ केन्द्रीय सदस्य लामाले भने, ‘बोर्डले हामी सदस्यलाई अनुशासन छानबिन कमिटीले तयार पारेको प्रतिवेदनसमेत हेर्न दिएन ।’ असन्तुष्ट पदाधिकारीहरूले पत्रकार सम्मेलनमा क्यानभित्र केही व्यक्तिहरू आफूखुुसी प्रस्ताव ल्याउने र खासै छलफल नगरी निर्णय हुने गरेको दाबी गरेका छन् ।

‘कार्यसमितिको बैठकमा एजेन्डा आफूखुसी प्रस्ताव ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने हुने गर्छ,’ पत्रकार सम्मेलनमा लामाले भने, ‘कतिपय निर्णय छलफल नहुँदै पास हुने गर्छ ।’ बोर्डले पास गरको केही निर्णय विज्ञप्ति वा मिडियाबाट थाहा पाउनुपर्ने अवस्था रहेको लामाको भनाइ छ । ‘केही पदाधिकारीहरूले अन्य सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्छन्, जुन हामीले पछि विज्ञप्तिमार्फत थाहा पाउछौँ,’ उनले भने ।

सम्मानको बदला कारबाही
थुप्रै पदाधिकारीहरूको असन्तुष्टि हुँदाहुँदै पनि नेतृत्व पक्षले खेलाडीमाथि कारबाही गरेको लामाले बताए । ‘धेरैपटक असहमतिका विषयमा कुरा राख्यौँ, तर नेतृत्व पक्षले कुरा सुनेन,’ उनले भने, ‘खेलाडीलाई कारबाही गर्नु राम्रो होइन भन्दाभन्दै उहाँहरूले सुन्नुभएन, नियोजित रूपमा नै गरिएको हो ।’ नेपाललाई एकदिवसीय मान्यता दिलाउन मिहिनेत गरेका खेलाडीलाई क्यानले नै अपमानजनक व्यवहार र कारबाही गरेको असन्तुष्ट पदाधिकारीहरूको भनाइ छ ।

थुप्रै केन्द्रीय सदस्यको असहमति हुँदाहुँदै क्यान नेतृत्व पक्षले सुनियोजित रूपमा खेलाडीलाई कारबाही गरेको ६ केन्द्रीय सदस्यहरूकोे आरोप 

‘आफ्नै मिहिनेत, परिश्रम, टिम भावनाका साथ नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका खेलाडीलाई सम्मानको बदलामा अनुशासनको नाममा नेतृत्वकर्ताहरूले नियोजित रूपमा कारबाही गरेको छ, त्यसमा हाम्रो घोर भत्र्सना छ,’ उनीहरूले संयुक्त रूपमा भने । नेतृत्व पक्षले अनुशासन समिति गठन हुँदाहुँदै काम गर्न नदिएको र एक्कासि संयोजकलाई हटाएको आरोप केन्द्रीय सदस्य लामाले लगाएका छन् । ‘छानबिन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले पनि स्वतन्त्र रूपमा छानबिन नहुने शंका थियो, छानबिनको एकप्रति पनि हामी बोर्ड सदस्यलाई उपलब्ध र जानकारीसमेत गराइएन,’ लामाले भने ।

आसन्न साधारणसभा अवैधानिक
१४–१५ पुससम्म धनगढीमा क्यानको दोस्रो साधारणसभा हुँदै छ । क्यानले गर्न लागेको साधारणसभा वैधानिक नभएको असन्तुष्ट पदाधिकारीले दाबी गरेका छन् । असन्तुष्ट पक्षहरूले आसन्न साधारणसभा अवैधानिक र नियमसंगत नभएको भनी खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा निवेदन राखेका छन् ।

यस सम्बन्धमा मन्त्रालय र राखेपले केही जवाफ पठाएको छैन । यदि यी दुवै संस्थाले साधारणसभा सम्बन्धमा कुनै पनि पत्र काटेको अवस्थामा भविष्यमा क्यान अप्ठ्यारोमा पर्न सक्छ । मन्त्रालय र राखेपले साधारणसभा रोक्न पनि निर्देशनयुक्त पत्र पठाउँदा नेपाली क्रिकेटमा अर्को समस्या आउन सक्छ । पछिल्लोपटक राखेपले क्यानको साधारणसभा रोक्न पत्र काट्दा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालमाथि प्रतिबन्ध लगाएको थियो । 

आफूखुसी कर्मचारी भर्ना
बोर्डका मुख्य पदाधिकारीहरूले एउटा बैठकको निर्णय टिपोट नगर्ने तथा अर्को बैठकमा समेत त्यसबारे जानकारीसमेत नगराउने आरोप लामाले लगाएका छन् । संघमा कर्मचारी दरबन्दी कायम नगरी आफूखुसी भर्ना गरेको र सो कर्मचारीको काम कर्तव्य तथा तलब सुविधाबारे कुनै निर्णयबारे जानकारी गराइएको आरोप ६ बोर्ड सदस्यहरूले लगाएका छन् ।

यसैगरी, संघले हालसम्म वार्षिक क्यालेन्डर बनाउन नसकेको उनीहरूको भनाइ छ । ‘हचुवाका भरमा राष्ट्रिय खेलकुद परिषद् र महानगरपालिकाको कार्यक्रमअनुसारका सीमित प्रतियोगितामा आनन्द लिइरहेको छ, नेतृत्वमा आएको दुई वर्ष बितिसक्दा पनि संघको नामको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकेको छैन,’ केन्द्रीय सदस्य लामाले भने, ‘संघको जनरल मेनेजर र क्रिकेट मेनेजरको नियुक्ति भएको एक वर्ष अवधिमा उनीहरूबाट पदीय जिम्मेवारीअनुसार काम लिन नसकेको देखिन्छ ।’