Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
लेखनाथ न्यौपाने
२०७८ पौष ८ बिहीबार ०९:३४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

माओवादी सम्मेलन र बहसका मुद्दाहरू

अग्रलेख

Read Time : > 5 मिनेट
लेखनाथ न्यौपाने
२०७८ पौष ८ बिहीबार ०९:३४:००

माओवादीभित्रको आजको समस्या विचारमा यथास्थिति, कार्यदिशामा द्विविधा, संगठनमा तदर्थता र सांस्कृतिक रूपमा भ्रष्टीकरण हो 

यही ११ पुसदेखि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुँदै छ । सम्मेलनमा माओवादी आन्दोलनभित्रका समस्या र समाधानका विकल्पबारे जीवन्त बहस हुनेछ । माओवादीभित्रको आजको समस्या विचारमा यथास्थिति, कार्यदिशामा द्विविधा, संगठनमा तदर्थता र सांस्कृतिक रूपमा भ्रष्टीकरण हो । राष्ट्रिय सम्मेलन यिनै विषयमा केन्द्रित हुनेछ । जीवन्त बहसको निष्कर्षले माओवादीलाई पुरानै पहिचानमा फर्काउने कार्य प्रारम्भ गर्नेछ ।

समाजवादी आन्दोलनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु पहिलो दायित्व हो भने बुर्जुवासँगको चुनावी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नु तत्कालको अर्को दायित्व हो । अन्तरविरोधी देखिने दुई दायित्व विचारको विकास, कार्यदिशाको सुस्पष्टता, समर्पण भावको संगठन र सांस्कृतिक रूपान्तरणले मात्र पूरा गर्न सकिन्छ । तर, आजसम्म दुनियाँमा यी दुवै दायित्व सँगसँगै सम्पन्न भएको उदाहरण छैन । सैद्धान्तिक प्रश्न उठ्छ, के माओवादी आन्दोलन पहिलो सफल उदाहरण बन्न सक्छ ? वैज्ञानिक समाजवादको आधार तयार गर्ने संगठनको स्वरूप र चुनावमा श्रेष्ठता हासिल गर्ने संगठनको ढाँचा एउटै हो कि फरक ? एकै समयमा दुई ढाँचाका संगठनात्मक संरचना बनाउने र परिचालन गर्ने माओवादीसँंग कुन त्यस्तो जादुको छडी छ र दुनियाँमा कतै नभएको उदाहरण प्रस्तुत हुन सक्छ ? आजको माओवादीको वैचारिक, सैद्धान्तिक र सांस्कृतिक धरातलमा टेकेर हेर्दा द्विविधा सघन देखिन्छ । 

गत साउनमा सम्पन्न पार्टीको बैठकले एककाइसौँ शताब्दीको वैज्ञानिक समाजवाद रणनीति र दालाल पुँजीवादविरुद्ध लड्ने कार्यनीति भन्यो तर समाजवादको अन्तरवस्तुसहित रणनीतिमा पुग्ने कार्यदिशाबारे खास छलफल र बहस भएन । राष्ट्रिय सम्मेलनबाट बहसले औपचारिक लय समात्नेछ । संसदीय व्यवस्था, बुर्जवासँगको चुनावी प्रतिस्पर्धा र बनिबनाउ राज्यसत्ताको एउटा अंग सरकारमा सहभागी बन्ने पार्टीको जीवन व्यवहारले समाजवादको आधार तयार पार्न कति योगदान गरेको छ वा गर्न सक्छ ? प्रश्नको निराकरणका लागि पार्टीभित्र र बाहिरसमेत घनीभूत बहस आवश्यक देखिन्छ । वैज्ञानिक समाजवाद, संसदीय चुनावमा प्रतिस्पर्धा वा एक–दुईपटक जितेको संसदीय आकार माक्र्सवादसँग कति संगतिपूर्ण छ ? इतिहासमा माक्र्सवादसँग साइनो नभएको विषयले माक्र्सवादको विकास हुन्छ वा एमालेजस्तो विद्रुपीकरण ? बहस भित्र र बाहिर केन्द्रित गर्न जरुरी देखिन्छ । 

मार्क्सवादको आधारभूत नियममा टेकेर अघि बढ्दा मात्र हामी माक्र्सवादी बन्न सक्छौँ र माक्र्सवादको विकासको सम्भावना रहन्छ । एकातिर बदलिएको विश्व परिस्थिति (एक ध्रुवबाट बहुध्रुव र वित्तीय पुँजीवाद, तरंग पुँजीवादमा विकास) भने अर्कातिर रक्षात्मक विश्व कम्युनिस्ट आन्दोलन (समाजवादी शिविरको विघटन) र यसले नेपालमा पारेको असर । एकातिर नेपाली समाजको बदलिँदो वर्ग चरित्र र आजको फरक समय (त्यतिवेला युरोपकेन्द्रित मार्क्सको वर्गविश्लेषण) भने अर्कातिर नेपालभित्रको बसाइँसराइ एवं श्रम र सुविधाको जीवन खोज्ने क्रममा बिदेसिने तीव्रता आदि विषय आफ्नै स्रोत, साधन र जनशक्तिले अध्ययन, खोज र निष्कर्ष ननिकाल्दासम्म हाम्रो विशेषताको समाजवादको आधार बन्दैन र माक्र्सवादमा थप विकास पनि हुँदैन । मार्क्सवादको प्रयोग र विकासको कुरा गर्दा माक्र्सवादको आधारभूत पक्ष शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवादमा पुग्न नसकिने प्रमाणित अनुभव छ । बनिबनाउ राज्यसत्ताको सरकारमा गएर जनताको पक्षमा गुणात्मक काम गर्न सकिन्न भन्ने प्रमाणका रूपमा पशुपतिको भट्ट र सेनापति प्रकरण खडा छ । प्रगतिशील चरित्रबाट च्यूत पुँजीपति वर्गसँग सहकार्य गरेर समाजवादी आन्देलनको सेवा हुन सक्दैन । माथिका तीनवटै मार्क्सवादका आधारभूत विषय आपसमा घोलमेल गरेर बुझ्ने र बुझाउने कोसिस गरिँदै छ । हाम्रो प्रयोगको तरिकाले न माक्र्सवादको विकास हुन सक्छ, न त श्रमिक/सर्वहारा वर्गसँग माओवादीको सम्बन्ध नै सुदृढ हुन सक्छ । 

दलाल पुँजीसँगको हाम्रो सम्बन्धलाई व्यावहारिक अन्त्यको घोषणा, उद्योग–व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र बिचौलिया वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी मार्क्सवादी बन्न सक्छौँ 

समाजवादको आधार निर्माणको अर्थ कम्युनिस्ट पार्टीलाई सबै वर्गको पार्टीबाट मुक्त गरेर एउटा वर्ग (श्रमिक सर्वहारा) को पार्टी बनाउनु हो । दोस्रो, एउटा बिन्दुमा पुगेपछि पुँजीपति वर्गसँग श्रमिक वर्गले प्रत्यक्ष नलडी समाजवादी आन्दोलन एक पाइला पनि अघि बढ्दैन । तेस्रो, बुर्जुवा वर्गले मायाले मजदुर वर्गको हातमा राज्यसत्ता कहिल्यै सुम्पिँदैन । मार्क्सवादका आधारभूत प्रश्नमा ध्यान दिएर त्यता फर्किने इच्छाशक्ति प्रदर्शन नगर्दा माओवादी आन्दोलन नयाँ बन्दैन । 

दालल पुँजीवादविरुद्ध लड्ने कार्यनीति कार्यक्रममा ढाल्ने चुनौती त्यत्तिकै कठिन छ । एकातिर पुँजीवादविरुद्ध लड्नु छ भने अर्कातिर त्यही वर्गसँग निरन्तर सहकार्य र चुनावी तालमेल गरिँदै छ । जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहार र कार्यनीतिले रणनीतिलाई पुर्‍याउने योगदान र समाजवादको आधार निर्माणको पहल कमजोर हुन्छ । दोस्रो, दलाल पुँजीवादविरुद्ध लड्ने पार्टीले पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ । श्रम वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका आधार हुन् । श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता देखिनु पार्टीमा दलाल पुँजीले हैकम चलाउनु हो । विनापसिना र उत्पादनसँगको सहकार्य, दैनिक गरिने लाखौँ खर्चको स्रोत के हो ? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो । यसकारण दलाल पुँजीसँगको हाम्रो सम्बन्धलाई व्यावहारिक अन्त्यको घोषणा, उद्योग–व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र बिचौलिया वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौँ । 

बुर्जुवासँगको चुनावी प्रतिस्पर्धामा श्रेष्ठ हुने आजको कार्यनीतिले हामीलाई कम्युनिस्ट बन्न दिँदैन । आजको नेपाली समाजमा बिचौलिया, तस्कर अथवा कालो बजारियाले मात्र पैसा थुपार्न र चुनावी पार्टीका नेताहरू किन्न सक्छन् । चुनाव जित्न बिचौलिया वर्ग निर्णायक हुन्छन्, न कि श्रमशील पार्टी कार्यकर्ता र जनता । यसरी लडिने चुनाव, जित्ने प्रतिनिधि र संसद्भित्रको अंक गणितले समाजवादको कस्तो आधार बनाउला ? यस्तो दलदले यात्राले एकातिर हामीलाई कम्युनिस्ट बन्न दिँदैन भने अर्कातिर मत तान्नका निम्ति जनताबीच हामी कम्युनिस्ट नै हौँ भनेर छली भाषा प्रयोग गर्न बाध्य बनाउँदै छ । 

रूपमा हामी कम्युनिस्ट भए पनि सारमा हामीभित्र पुँजीवाद जबर्जस्त छ । हामीभित्रको पुँजीवादविरुद्ध लडेर नजित्दासम्म समाजमा रहेको पुँजीवादसँग लड्न सकिँदैन । नेताहरू पुँजीवादी प्रवृत्तिबाट मुक्त भए मात्र कम्युनिस्ट बन्ने मूर्त प्रक्रिया सुरु हुन्छ, जसले जनताबीच हामीलाई स्थापित गर्छ । श्रमिक वर्गमा आशा र कार्यकर्ताबीच विश्वास पलाउँछ । 

क्रान्तिकारी बन्ने वा समाजवाद संसद्बाट आउँदैन भन्ने नाममा आज चुनावलाई बिलकुल बेवास्ताको विषय बनाउन मिल्दैन । चुनावलाई कार्यनीतिका रूपमा बुझ्ने, यसलाई जनतासँग सम्बन्ध सुधारको माध्यम बनाउने र कम्युनिस्ट बनेर चुनावमा जाने आफ्नै तरिका निर्माण गर्न जरुरी देखिन्छ । यसको जग विचार र संस्कृतिसहितको संगठन, नियमित छलफल र बहसद्वारा सञ्चालित संगठन र जनसम्बन्धमा आधारित संगठन नै हो । 

वैचारिक अस्पष्टताको प्रत्यक्ष नकारात्मक प्रभाव संगठनात्मक जीवनमा नजानिँदो ढंगले आकार ग्रहण गर्दै छ । त्याग, समाजवादको सेवाका लागि कार्यविभाजन र सहयोद्धासँगको सहकार्यको संगठनात्मक संस्कृति मृतप्रायः हुन्छ एकातिर भने अर्कातिर सबैलाई माथिल्लो लाभको पद चाहिन्छ । पद प्राप्तिका लागि आफूलाई मात्र योग्य र सही प्रमाणित गर्न आत्मप्रशंसारप्रचार गर्नुपर्ने, रोएर, धम्क्याएर वा चाकरी गरेर भए पनि आफूले चाहेको पद लिनैपर्ने । जतिसुकै लफंगो, गैरकम्युनिस्ट र श्रमचोर भए पनि गुटको सदस्यलाई गुटको मुखियाले माथि तानिदिने । त्यसरी तानिएको नेताले तल आफ्नो गुट बलियो बनाउन जथाभावी भर्ती र पद पजनी गर्ने । क्रोनिक संगठनात्मक समस्याले यति कमजोर बनाएको छ कि पार्टी सदस्य संख्याको उल्लेखनीय वृद्धि, जनस्तरमा पलाएको आशा र संगठनात्मक अभियानले सिर्जना गरेको रक्तसञ्चारलाई एकीकृत र गुणात्मक बन्न दिएको छैन ।

मोर्चाहरू र पार्टीका कतिपय भेला/सम्मेलनमा देखिएका अस्वाभाविक किचलो र अनिर्णय क्रोनिक समस्याका एकाध उदाहरण मात्र हुन् । एकातिर हामीलाई बुर्जुवा प्रतिस्पर्धाले लपेटेको र त्यही सही भन्ने आम कार्यकर्ताको बुझाइ छ भने अर्कातिर समाजमा रहेका अन्तरविरोध हल गर्न सहकार्य, सँगसँगै अघि बढ्ने र एक–अर्कोका पूरक बन्ने संगठात्मक संस्कृतिले दिने अवस्था छ । यस अर्थमा इतिहास, विषय विज्ञतासहितको गति र वैचारिक–सांस्कृतिकस्तरको आधारमा कार्यविभाजनको प्रणाली विकसित हुने हो । वैचारिक अस्पष्टता, गुटहरूको निषेधको गतिविधि, आन्तरिक लोकतन्त्रका नाममा अन्य पार्टीले प्रयोग गरेको मनी र मसल्सको विषालु हावाले हाम्रो ध्यान माथिको दोस्रो पक्षमा केन्द्रित भएकै छैन । 

संगठनलाई समाजमा रहेका विभेद, थिचोमिचो र अन्यायविरुद्ध उभिने र लड्ने औजार बनाउनुपर्छ । पार्टी काम गर्ने गहिरो सोच, जनताको सेवामा सधैँ समर्पित हुने लगाव र जनतालाई बुझ्ने र सहयोग गर्ने इच्छाशक्ति भएका सचेतलाई मात्र पार्टी सदस्यता दिने हो । सदस्यबीच नियमित प्रशिक्षण र परीक्षण, राम्रो नतिजा निकाल्नेलाई थप जिम्मेवारी, जिम्मेवारी थप्दा जनताको रिपोर्टलाई मुख्य आधार मान्ने प्रणालीको विकासले संगठन गुणात्मक बन्छ । जनताले कम्युनिस्ट कार्यकर्तालाई हाम्रो दुःखसुखको नियमित साथी भनेर बुझ्छ, जुन चुनाव र समाजवादी आन्दोलनको जग बन्छ । 

वैचारिक र सांस्कृतिक विषयमा सम्मेलनमा खुलेर बहस गर्ने हो । बहस, खोज–अनुसन्धानकेन्द्रित बनाउने हो । विचारको बहस आलोचनात्मक चेतसहितको स्वतन्त्रता हो । जनवादी केन्द्रीयताको अर्थ सामूहिक नेतृत्व, क्षमताहरूको केन्द्रीकरण र नैतिकतामा आधारित नेताहरूको जत्थाबन्दी हो । व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ, तर व्यक्तिवादी ‘हिरोइजम’को कुनै स्थान हुँदैन, जुन कम्युनिस्टविरोधी प्रवृत्ति हो । हामीले बनाउने नयाँ पार्टी वर्ग अडानको चरित्रको हो । हाम्रो कार्यप्रणालीले परिवर्तन वा क्रान्तिको भोक जगाउने हो । आन्दोलनको मुख्य शक्ति पसिना बगाएर बाँच्ने श्रमिकलाई बनाउने हो । मार्क्सलाई पत्रकारहरूले ‘मार्क्स महोदय, मार्क्सवाद भनेको के हो ?’ भनेर प्रश्न गर्दा माक्र्स भन्थे, ‘आफैँविरुद्धको संघर्ष ।’ यस अर्थमा संघर्ष माओवादीभित्र पसेर छिप्पिँदै गरेको पुँजीपन्थी विचार र संस्कृतिविरुद्ध हो । यो संघर्ष आन्तरिक बहसबाट हल गर्ने पहिलो कोसिस हो । आन्तरिक बहस र संघर्षले अपेक्षित हल नदिँदा पार्टीभित्र घुसेको पुँजीपन्थविरुद्ध सांस्कृतिक क्रान्तिमा जस्तै ठुल्ठूला सार्वजनिक पोस्टरहरू टाँस्ने र चुच्चे टोपी लगाइदिने हदसम्म जाने आँट गर्ने हो । हामीभित्रको अँध्यारोविरुद्ध लडेर मात्र बाहिरका दुस्मनसँग लड्ने (वर्गसंघर्ष) चेतना र शक्ति केन्द्रित हुन सक्छ ।