मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ८ बिहीबार ०९:२६:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१४औँ महाधिवेशनमा रामचन्द्र पौडेल

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ८ बिहीबार ०९:२६:००

(पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीको डायरी)

पार्टी विधानले तोकेको समयभित्रै १४औँ महाधिवेशन सम्पन्न गर्न समय छँदै कार्यतालिका बनाएर काम गर्न सुरु गरौँ भनेर रामचन्द्र दाइ (पौडेल)ले महासमिति र कार्यसमितिमा प्रस्ताव लैजाँदा उहाँ एक्लै हुनुहुन्थ्यो । समय घर्काउँदै लगेर सीमा नाघेपछि महाधिवेशनको तरखर हुन लाग्दा उहाँकै खेमा (संस्थापनइतर)बाट चारजना सशक्त दाबेदार निस्किसकेका थिए । क्रियाशील सदस्यता वितरणदेखि नै निष्ठावान् साथीहरू कहाँ लुटिँदै छन्, कहाँ बाहिरका मानिस भरेर विस्थापित गरिँदै छन्, देशैभरि कहाँ–कहाँ धाँधलीका प्रपञ्च रचिँदै छन् भनेर उहाँले अहोरात्र चहरीपहरी गरिरहँदा अरू दाबेदार सम्पर्क कार्यालय खोलेर मिटिङ र भेलाहरू गर्दै हुँदोरहेछ ।

सभापति शेरबहादुर देउवाजीसँग चुनावमा जाने आधार सबै रित्तिएर एउटा मात्र नारा बाँकी थियो, ‘चुनावमा मेरोतर्फबाट म एक्लै हुन्छु, रामचन्द्रका चार–पाँचजना भिड्छन् । म जितिहाल्छु ।’ आफ्ना सहयोगीलाई ढाडस दिने उहाँको यही नै अस्त्र थियो । रामचन्द्र दाइ र अन्य शुभचिन्तक नेताहरूले पनि हाम्रोतर्फबाट एउटा साझा उम्मेदवार बनाउने पटक–पटक प्रयत्न भयो, तर सफल हुनुभएन । अन्त्यमा रामचन्द्र दाइले मुख फोरेरै भन्नुभयो– क्रियाशीलको लफडा सकिँदा–नसकिँदै एक बनिसकौँ । तैपनि चारको चारै रहनुभयो । हुँदाहुँदा केही दाबेदार नेताहरूले त दाइको फोन नै उठाउन छाड्नुभयो । पहिले प्रकाशमान सिंहले दाइको फोन उठाउन छाडेर बाहिर भन्न थाल्नुभयो– ‘रामचन्द्रले पार्टी चलाउनै सक्नुहुन्न ।’ त्यस्तै, शेखर कोइरालाले पनि किन फोन उठाउनुभएन भनेर कसैले सोध्दा भन्नुभएछ-‘पौडेलजी आदरणीय हुनुहुन्छ, उहाँसँग कति छलफल गर्ने ? उहाँले त्यही एक हौँ भन्ने न हो, किन फोन उठाउने ?’

सुरुमै एकताको सन्देश दिन सकेको भए हाम्रो समूहको बलियो स्थिति बन्दै जान्थ्यो, त्यो हुन पाएन । वडा र पालिकामा नै अर्कै स्थिति बन्थ्यो । मिलेर जान पाएको भए महाधिवेशन प्रतिनिधि नै हाम्रो पक्षमा ठूलो संख्यामा जितेर आउँथे, त्यो हुन पाएन । प्रदेशका चुनाव पनि सबैजस्तो जितिन्थ्यो । नमिलेकै कारण दुईवटा प्रदेश मात्र जितियो । महाधिवेशनको मुखैमा पुगेपछि मात्र बल्लबल्ल मिटिङमा नेताहरूलाई जोडिनसम्म सकियो । रामचन्द्र दाइले कहिले महाराजगन्ज, कहिले चाक्सीबारी धाएर धेरै प्रयास गर्नुभयो । उहाँले आफू उम्मेदवार नबनेर जित्न सकिने ‘अरू उपाय छन् भने तपाईंहरू नै भन्नोस्’ भनेर पनि भन्नुभयो । त्यतिभन्दा पनि प्रकाशमानले भन्नुभयो, ‘मैले अघिल्लो चोटि तपाईंलाई छोडेँ, अहिले त म लड्छु–लड्छु ।’ उता शेखरले भन्नुभयो, ‘प्रकाशमान लड्ने भए म पनि लड्छु ।’ शशांक कोइरालाले चाहिँ ‘म रामचन्द्र दाइलाई छाड्न तयार छु’ भनिसक्नुभएको थियो । 

रामचन्द्र पौडेल

बत्तीसपुतलीको अन्तिम छलफलमा पनि पुरानै कुरा दोहोरिए । प्रकाशमानले आफू नलडी नछाड्ने बताउनुभयो । शेखरले ‘प्रकाशमानजी लड्ने भए रामचन्द्रजी लड्नै हुँदैन’ भन्नुभयो । बरु, शशांकले ‘चुनाव त रामचन्द्र दाइ नै लड्नुपर्ने हो’ भन्नुभयो । तर, उहाँको कुरामा कसैले महत्व दिएनन् ।

यस्तो चल्दाचल्दै चाक्सीबारीमा केन्द्रीय समितिका सदस्यहरूसहित बैठक बस्यो । त्यहाँ पनि चामचन्द्र दाइले ‘हामी चारजनाबीच कुरा मिल्न सकेको छैन । मैलै प्रकाशमानजी र शेखरजीलाई भनिसकेँ– स्थिति अनुकूल देखिन्न । तैपनि म उठ्ने हो भने देउवाजी र मेरो तुलना गरेर कांग्रेसका आमसाथीहरूले मलाई सहानुभूतिको भोट दिन्छन् । तसर्थ उहाँहरूलाई सम्झाइदिनोस्’ भनेर भन्नुभयो । केन्द्रीय सदस्यहरूले ‘तपाईं तीनजना छुट्टै बस्नुस् । कि एक भएर आउनोस्, कि प्रक्रियामा सहमत भएर आउनोस्, अनि हामी निर्णय गर्छौँ’ भन्नुभयो । 

त्यसपछि रामचन्द्र दाइ, प्रकाशमान र शेखर पल्लो कोठामा गएर छलफल गर्नुभयो । त्यहाँ पनि दाइले दुवै नेतालाई सम्झाउने कुरा सम्झाउनुभयो, सबै परिस्थिति र भविष्य देखाउनुभयो । तर, कुरा जहाँको त्यहीँ रह्यो । प्रकाशमानले त ‘यहाँ पल्लो कोठामा निर्णय गर्न किन दिने ? महाधिवेशन जाउँ, साथीहरूले नै निर्णय गर्छन्’ भन्नुभयो । त्यसपछि शेखरले भन्नुुभयो– ‘त्यसो हो भने कुरा सकियो ।’ अन्तिममा रामचन्द्र दाइले यहाँ भएका सबै कुरा पल्लो कोठामा सबै साथीहरूलाई भन्छु । 

त्यसपछि उहाँहरू तीनैजना केन्द्रीय सदस्यहरू बसिरहेको वल्लो कोठामा आउनुभयो । त्यहाँ रामचन्द्र दाइले भन्नुभयो– ‘अब तपाईंहरू भन्नोस्– म के गरुँ ?’ ठोस जवाफ केही आएन, समाधानको उपाय कसैबाट निस्केन । उहाँले फेरि भन्नुभयो– ‘नेतृत्व परिवर्तनका लागि समयमै अधिवेशन गर्न दबाब दिउँ भन्दा म एक्लै भएँ । १३औँ महाधिवेशनमा जुन प्रपञ्च भयो, त्यसबाट हतोत्साही नभईकन मैले आजसम्म निरन्तर निष्ठावान् साथीहरूमाथि भइरहेको थिचोमिचो र विस्थापित गराउने हर्कतविरुद्ध लडी नै रहेँ । तर, त्यहीँ अर्कोतिर साथीहरू मेरो हात बलियो बनाउनुको सट्टा आफैँ उम्मेदवारी सशक्त बनाउन तयारी गर्नतिर लाग्नुभयो । उता शेरबहादुर देउवा हाम्रा बहुउम्मेदवारीलाई आधार बनाएर आफ्ना पक्षमा बढी प्रतिनिधि ल्याउने खेलमा सफल हुँदै गएका छन् । त्यही साहसले अनेक हथकण्डा प्रयोग हुँदै गएका छन् । यस्तो अवस्थामा पनि साथीहरू गम्भीर नहुने हो भने विवेकको आगो बलेर ठोस निर्णय दिन नसक्ने हो भने म के गरुँ ? मैले के बिराएको छु ?’

प्रकारान्तरले धेरैजसो केन्द्रीय सदस्यहरूले भन्नु त भएको थियो–‘रामचन्द्रजीले नै अहिलेसम्म टिमको नेतृत्व गर्दै आउनुभएको छ, सहमति उहाँमा नै हुनुपर्ने हो ।’ तर, निष्कर्ष दिन खुलेर कसैले आँट गर्नुभएन । सामूहिक निर्णय र सामूहिक सोचबाट अघि बढौँ भन्ने सदाशयता हार खाएजस्तो भयो । त्यसपछि रामचन्द्र दाइले अलि भावुक हँुदै भन्नुभयो, ‘विवेकको आगो नबल्ने हो भने मैले नै अब प्रतिस्पर्धाबाट आफूलाई अलग राखेँ । पार्टी राजनीतिबाटै पनि टाढिन सक्छु ।’ अरू नेताहरू त्यसपछि एक सय ३४ जना केन्द्रीय समितिमा उम्मेदवार खडा गर्नुपर्ने चाँजोपाँजोतिर लाग्नुभो, रामचन्द्र दाइ भने घरतिर लाग्नुभयो । 

२४ मंसिरको बिहान केही केन्द्रीय सदस्यहरू रामचन्द्र दाइको घर आउनुभयो । र, उहाँलाई भन्नुभयो– ‘चुनावी प्रतिस्पर्धाबाट अलग भए पनि तपाईंले आज उद्घाटन समारोहलाई सम्बोधन गर्नैपर्छ, अलि माथि उठेर देशभरिबाट आएका साथीहरूलाई ढाडससम्म त दिनैपर्छ ।’ उहाँहरूको कुरा मानेर नै दाइ उद्घाटनमा जानुभएको हो । 

उद्घाटन कार्यक्रम सकेर एकपटक अन्तिम छलफल भनेर रामचन्द्र दाइ बत्तीसपुतली पनि पुग्नुभयो । त्यहाँ पनि पुरानै कुरा दोहोरियो । प्रकाशमानले आफू नलडी नछाड्ने कुरा गर्नुभयो । शेखरले ‘प्रकाशमानजी लड्ने भए रामचन्द्रजी लड्नै हुँदैन’ भन्नुभयो । बरु, शशांकले ‘चुनाव त रामचन्द्र दाइ नै लड्नुपर्ने हो’ भन्नुभयो । तर, उहाँको कुरामा त्यहाँ भएका कसैले महत्व दिएनन् । त्यसपछि रामचन्द्र दाइले ‘अब धेरै घिङन्याइँ गर्नुहुँदैन’ भन्ने सोच्नुभयो र आफ्नो टिमका साथीहरूलाई प्रस्ट भन्नुभयो– ‘अब आ–आफ्नो सुरक्षा आफैँ गर्नुस् ।’ उहाँले प्रतिस्पर्धाबाट अलग रहने आफ्नो वचनप्रति इमानदार रहनुपर्छ भन्ने सोचेर नै मतदानमा पनि भाग नलिनुभएको हो । मतदानमा भाग लिनु पनि इमानदारिता हुँदैनथ्यो । 

२५ मंसिरको बेलुका ९ बजे सभापति शेरबहादुर देउवा रामचन्द्र दाइकोे घर आउनुभयो । दाइले सुरुमै उहाँसँग भन्नुभयो– ‘यहाँ स्वच्छ प्रतिस्पर्धा भइरहेको नठानेर मैले प्रतिस्पर्धाबाट आफूलाई बिल्कुलै अलग राखेको छु ।’ त्यसपछि देउवाले त्यहाँ अरू केही भन्ने आँट नै गर्नुभएन, केवल यति मात्र भन्नुभयो– ‘आफ्नो स्वास्थ्य राम्रो राखेर बस्नुहोस्, राष्ट्रलाई तपाईंको खाँचो छ ।’ चिया खाँदै घरपरिवार र बाहिरी कुरा गरेर आधा घन्टाको समय बिताएर उहाँ फर्किनुभयो । 

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिसँग आमने–सामने भेटसम्म त हुनुपर्छ भनेर रामचन्द्र दाइले २७ मंसिरको बिहान चियापान कार्यक्रम राख्नुभयो । तर, मतदानको अपूरो नतिजा राति नै आइहाल्यो । त्यहाँ देउवादेखि शेखरसम्म र सिटौलादेखि प्रकाशमानसम्म सबैलाई बोलाउनुभएको थियो । अरूभन्दा चाँडो देउवा आउनुभयो । रामचन्द्र दाइसँग ‘शेखरलाई भोट मागिदिनुपर्छ’ भनिरहेका साथीहरूमा यसबाट झन् चिसो पसेछ । उत्तेजित नै हुनुभयो । मञ्चमा रामचन्द्र दाइ बोल्दै गर्दा शेखर पनि पुग्नुभयो । डा. मीनेन्द्र रिजालले रामचन्द्र दाइलाई बस्न लगाएर शेखरलाई बोल्न लगाउनुभयो । शेखरले सबैलाई ‘अनुशासनमा रहन’ भन्नुभयो । शेरबहादुर देउवाले ‘रामचन्द्रजीलाई अप्ठ्यारो नपार्नोस्, उहाँ हामी सबैको नेता हो । उहाँको राष्ट्रमा ठूलो महत्व छ आउँदा दिनमा’ भन्नुभयो । 

त्यहाँ रामचन्द्र दाइले भन्नुभयो– ‘यो चियापान मैले साथीहरूसँग प्रत्यक्ष भेटेर सदाशयता व्यक्त गर्न र हाम्रासामु रहेका आगामी चुनौतीतर्फ पनि ध्यान दिएर पार्टीमा सद्भाव र एकता कायम राखौँ भनेर आयोजना गरेको हुँ । अबका चुनौती भनेको चाँडै हुने तीनवटै तहका निर्वाचन हुन् ।’ 

२०७८/०८/२९
जय नेपाल