मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७८ पौष ८ बिहीबार ०६:३१:००
Read Time : > 12 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवासँग पदाधिकारी ६१%, मनोनयनविनै दुईतिहाइनजिक

Read Time : > 12 मिनेट
२०७८ पौष ८ बिहीबार ०६:३१:००

विधानले दिएको अधिकार प्रयोग गर्दै कोषाध्यक्ष, ३३ केन्द्रीय सदस्य तथा प्रभावशाली समिति र विभागहरूलाई पूर्णता दिँदा सभापति शेरबहादुर देउवा थप शक्तिशाली बन्ने

  • चारवटा प्रदेशतर्फदेउवा समूहको ‘क्लिन स्विप’ 
  • ३५ खुला केन्द्रीय सदस्यमा २५ देउवा समूहका
  • मधेसी महिला क्लस्टरबाट सबै नयाँ अनुहार 
  • केन्द्रीय समितिमा ४६ पुरानै अनुहार

दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा १३औँ महाधिवेशनभन्दा पनि शक्तिशाली बनेका छन् । ३७ केन्द्रीय सदस्यको मतगणनाको नतिजा नआउँदै उनले केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत पाएका छन् । विधानले दिएको अधिकार प्रयोग गर्दै कोषाध्यक्ष, ३३ केन्द्रीय सदस्य तथा प्रभावशाली समिति र विभागहरूलाई पूर्णता दिँदा सभापति देउवा थप शक्तिशाली बन्नेछन् । जसले उनलाई पार्टीभित्र निर्णय लिन कुनै समस्या हुने छैन । यद्यपि, पदाधिकारीमा इतर समूहका युवा नेताहरूको उपस्थितिलाई सम्बोधन गर्नुपर्ने चुनौती भने छ । 

पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदानको बुधबारसम्म ९७ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये देउवा पक्षका पदाधिकारीसहित ७७ जना उम्मेदवार विजयी भएका छन् । पदाधिकारीका १३ पदमध्ये देउवा पक्षका आठजना विजयी भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा खुलातर्फको ३५ पदमा २५ जना देउवा पक्षबाट आएका छन् । 

सातवटा प्रदेशमध्ये चारवटा प्रदेशतर्फ देउवा पक्षले केन्द्रीय सदस्यमा ‘क्लिन स्विप’ गरेको छ । बाँकी तीनवटामा पनि देउवा पक्षका बहुमत उम्मेदवार विजयी भएका छन् । त्यस्तै, हालसम्म मतपरिणाम सार्वजनिक भएको समावेशीअन्तर्गत थारू, मुस्लिम, महिला, अपांगता, पिछडिएका क्षेत्र र अल्पसंख्यकमा पनि देउवा पक्ष नै हाबी भएको छ ।

बुधबारदेखि दलिततर्फको नौ, आदिवासी–जनजातितर्फको १५ र खस–आर्यतर्फको १३ गरी ३७ जना केन्द्रीय सदस्यको मतगणना सुरु भए पनि अन्तिम नतिजा सार्वजनिक भइसकेको छैन । केन्द्रीय निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार बिहीबार अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।

कांग्रेस केन्द्रीय सदस्यमा पदाधिकारीबाहेक महाधिवेशनमा खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक र अपांगबाट एक सदस्य निर्वाचित हुन्छन् ।

खुला केन्द्रीय समितिमा ३५ मध्ये २५ देउवा पक्षका
खुला केन्द्रीय सदस्यका ३५ सिटमा देउवा पक्षका २५ जना विजयी भएका छन् भने कोइराला समूहका नौजना विजयी भएका छन् । त्यसबाहेक दुवै समूहको मत पाएका शशांक कोइराला पनि अत्यधिक मतसहित विजयी भए । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

चारवटा प्रदेशमा देउवा पक्षको ‘क्लिन स्विप’ 
सात प्रदेशमध्ये चार प्रदेशतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षले क्लिन स्विप गरेको छ । प्रत्येक प्रदेशमा खुलातर्फ दुईजना र महिला एकजना केन्द्रीय सदस्य रहने व्यवस्था छ । जसअन्तर्गत प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका उम्मेदवार एकलौटी रूपमा विजयी भएका छन् ।

प्रदेश २ मा देउवा पक्षका रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध निर्वाचित तथा महिलातर्फ चित्रलेखा यादव विजयी भएका हुन् । लुम्बिनी प्रदेशमा खुलातर्फबाट देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी तथा महिलातर्फ शिला शर्मा खड्का विजयी भएका हुन् । कर्णाली प्रदेशबाट खुलातर्फ राजीवविक्रम शाह र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी भएका हुन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डा. रणबहादुर रावल र यज्ञराज जोशी तथा महिलातर्फबाट सुशीला मिश्र भट्ट विजयी भएका हुन् ।

यसबाहेक अन्य प्रदेशअन्तर्गतको केन्द्रीय सदस्य पदमा पनि देउवाको बहुमत देखिएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका तीन–तीन पदमध्ये खुला एक र महिला एक गरी देउवा पक्षका दुई–दुईजना गरी ६ जना उम्मेदवार विजयी भएका छन् ।

मतपरिणाम आएका समावेशीतर्फ पनि देउवा बहुमतमा
समावेशीतर्फको खुला महिला केन्द्रीय सदस्यमा पनि देउवा पक्ष बहुमतमा छ । कुल नौमध्ये आठ पदमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । एकजना भने कोइराला समूहकी छिन् ।

त्यस्तै, मधेसीतर्फ खुला पाँचमध्ये चार पदमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । एकजना कोइराला पक्षका विजयी भएका छन् । साथै, मधेसी महिलातर्फ चारजनामा चारैजना देउवा पक्षका विजयी भए । त्यस्तै, मुस्लिमतर्फ खुला दुई र महिला एक गरी तीनवटै पदमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । 

थारूतर्फ खुला दुई र महिला दुई गरी चारवटै पदमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । त्यस्तै, अल्पसंख्यक, अपांगता र पिछडिएको क्षेत्रबाट एक–एक गरी तीनैजना देउवा पक्षका उम्मेदवार विजयी भएका छन् ।

जो झिनो मतान्तरले पराजित भए 
उपसभापतिमा देउवा पक्षबाट उम्मेदवारी दिएका विजयकुमार गच्छदार कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भए । गुरुङले १९०८ मत प्राप्त गर्दा गच्छदारले १९०६ मत प्राप्त गरे ।

सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियारसँग देउवा समूहका मानबहादुर विश्वकर्मा ३७ मतको अन्तरले पराजित भए । परियारले २२१२ मत प्राप्त गर्दा विश्वकर्माले २१७५ मत प्राप्त गरे । 

त्यस्तै, खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनुपर्ने थियो । जहाँ आफ्नै समूहकासँग समेत प्रतिस्पर्धा हुन सक्थ्यो । तर, देउवा पक्षका कृष्णकिशोर घिमिरेसँग कोइराला समूहका मनोजमणि आचार्य ५३ मतले पराजित हुँदै ३६औँ नम्बरमा पुगे । घिमिरेले १७०७ मत प्राप्त गर्दा आचार्यले १६५४ मत प्राप्त गरे ।

मधेसी खुलातर्फ देउवा समूहका महेन्द्रकुमार रायसँग कोइराला समूहका डा. सुभाषचन्द्र यादव सय मतले पराजित भए । रायले १९८४ मत प्राप्त गर्दा यादवले १८८४ मत प्राप्त गरे ।

प्रदेश १ को खुलातर्फको केन्द्रीय सदस्यमा कोइराला समूहका राजीव कोइरालासँग देउवा समूहका आनन्दसन्तोषी राई ७१ मतले पराजित भए । कोइरालाले २१५२ मत प्राप्त गर्दा राईले २०८१ मत प्राप्त गरे ।

बागमती प्रदेशको खुलातर्फको केन्द्रीय सदस्यमा प्रकाशमान सिंह समूहका राजेन्द्रकुमार केसीसँग देउवा समूहका ध्रुव अधिकारी १८ मतले पराजित भए । केसीले २१२९ मत ल्याउँदा अधिकारीले २१११ मत प्राप्त गरे ।

कर्णाली प्रदेश खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हृदयराम थानी कर्णबहादुर बुढासँग एक मतले पराजित भए । २२०० मतसहित बुढा विजयी हुँदा थानीले २१९९ मतसहित पराजय भोग्नुप¥यो ।

जो निर्विरोध निर्वाचित भए 
प्रदेश २ को खुलातर्फ रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भए । जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि रिजाल र ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् । 

केन्द्रीय कार्यसमितिमा दोहोरिने अनुहार (४६)
विगतको एक सय तीन सदस्यीय कार्यसमितिबाट अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार नवनिर्वाचित कार्यसमितिमा ४६ जना दोहोरिएका छन् । दोहोरिनेमा शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, फर्मुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, महेन्द्र यादव, डा. शेखर कोइराला । 

डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, रमेश रिजाल, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, आन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, सुनीलबहादुर थापा, शंकर भण्डारी, ईश्वरी न्यौपाने, गोविन्द भट्टराई, दीपक गिरी, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, सरिता प्रसाईं, ध्यानगोविन्द रञ्जित, शिला शर्मा खड्का, कर्णबहादुर बुढा, गोपाल दहित, योगेन्द्र चौधरी, रामजनम चौधरी, ध्रुव वाग्ले । 

यस्तै, अहिलेसम्मको मतपरिणामअनुसार यसअघि आमन्त्रित केन्द्रीय सदस्यका रूपमा रहेका रमा कोइराला पौडेल र कृष्णकिशोर घिमिरे पनि यसपटकको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । 

मधेसी महिलातर्फ सबै नयाँ अनुहार 
मधेसी महिला क्लस्टरबाट विजयी हुने मुक्ता कुमारी यादव, मीनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव यसअघि केन्द्रीय सदस्य थिएनन् । यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिमा मधेसी महिलातर्फको क्लस्टरको व्यवस्था थिएन । थप गरिएको यस क्लस्टरमा पुरानो कार्यसमितिमा नरहेका चारैजनाले यसपटक अवसर प्राप्त गरे ।

३७ पदको मतपरिणाम आउन बाँकी
महाधिवेशनमा चुनाव भएका एक सय ३४ मध्ये ३७ पदको मतपरिणाम आउन बाँकी छ । जसमा दलित क्लस्टरमा खुला पाँच र महिला चार, आदिवासी–जनजातिमा खुला आठ र महिला सात, खस–आर्यमा खुला सात र महिला ६ पदको मतपरिणाम आउन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य केशव रिजालका अनुसार जारी मतगणना बुधबार रोकिएको र उक्त मतगणना बिहीबार सकेर अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

सभापति देउवालाई ३३ केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार
कांग्रेस विधानमा महाधिवेशनबाट सभापति र अन्य पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा एक सय ३४ जना निर्वाचित हुने व्यवस्था छ । कुल एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधान छ । विधानको यो व्यवस्थाअनुसार सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्नेछन् । यही व्यवस्थाले सभापति देउवा कांग्रेस केन्द्रीय कार्यसमितिमा थप शक्तिशाली हुनेछन् । यद्यपि, सभापतिले पार्टीभित्रको शक्तिसन्तुलन मिलाएर केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हुन्छ । सभापतिले मनोेनीत गरेका व्यक्तिमाथि प्रश्न उठाउन सकिए पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने बाध्यता छैन ।

३७ सदस्यको नतिजा आउन बाँकी रहँदै देउवाको स्पष्ट बहुमत
केन्द्रीय कार्यसमितिमा अहिलेसम्म १३ पदाधिकारीसहित ९७ केन्द्रीय पदको मतपरिणाम सार्वजनिक भएको छ ।  सभापतिसहित आठजना पदाधिकारी गरी ७७ जना देउवा समूहका विजयी भइसकेका छन् । ३७ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुनुअगावै केन्द्रीय कार्यसमितिमा देउवाको स्पष्ट बहुमत पुगिसकेको छ । निर्वाचनबाट चुनिने एक सय ३४ सदस्यीय कार्यसमितिमा ६७ जना विजयी भए बहुमत पुग्छ । तर, ३७ पदको मतपरिणाम आउनुअगावै देउवा पक्षका ७७ जनाले जित हासिल गरिसकेका छन् । 

पदाधिकारीमा पनि देउवाकै बहुमत
१३ जना पदाधिकारीमध्ये सभापति देउवासहित उनी पक्षका आठजना निर्वाचित भएका छन् । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय (डिना), फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, किशोरसिंह राठौर र महेन्द्र यादव देउवा समूहका हुन् । त्यस्तै, सभापतिमा पराजित भएका शेखर कोइराला समूहबाट पदाधिकारीमा चारजना विजयी भएका छन् । जसमा उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार रहेका छन् । यस्तै, प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । निर्वाचित सदस्यमध्येबाट एकजना कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था छ ।

महामन्त्रीमा सबैभन्दा धेरै भोट क्रस

१४औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा शेरबहादुर देउवाको वर्चस्व देखिएको छ । १३ पदाधिकारीमध्ये सभापतिसहित आठजना देउवा समूहले जितेको छ । तर, उनको समूहबाट महामन्त्रीमा लडेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भए । शेखर कोइरालाको प्यानलबाट उठेका गगन थापा र प्रकाशमान सिंहको प्यानलबाट उठेका विश्वप्रकाश शर्मा लोकप्रिय मत पाएर विजयी भए ।

महामन्त्रीमा सबैभन्दा धेरै भोट क्रस भएका छन् । यस विषयमा कांग्रेसभित्र अहिले सूक्ष्म बहस छ । महामन्त्रीमा जसरी भोट विभाजित भयो, त्यसलाई लिएर नेताहरू र निर्वाचन समितिका केही सदस्यले मतको अंकगणित निकालेका छन् । देउवा प्यानलबाट उठेका महत र पौडेल पराजित हुँदा शेखर कोइरालाको प्यानलबाट उठेका डा. मीनेन्द्र रिजाल र विमलेन्द्र निधिको प्यानबाट उठेका राजाराम कार्की पनि पराजित भए । 

सभापतिमा देउवाले २२ सय ५८, शेखर कोइरालाले १७ सय दुई, सिंहले तीन सय ७१ र विमलेन्द्र निधिले दुई सय ५० मत प्राप्त गर्दा महामन्त्रीका ६ जना उम्मेदवारलाई गएको भोटको प्रकृति भने बिल्कुलै फरक छ । शेखरको १७ सय दुई मत आउँदा थापाको उनको भन्दा १३ सय २१ मत बढी आयो । महामन्त्रीमा दुईजना उम्मेदवारलाई भोट दिनुपर्ने विकल्पमा थापालाई एकल मत मात्रै तीन सय ७३ प्राप्त भयो । मतगणनामा रहेका निर्वाचन समिति स्रोतका अनुसार महतको करिब ६ सय र पौडेलको करिब तीन सय मत थापालाई गएको छ ।

प्यानलमा पौडेललाई सबैभन्दा कम मत आएको छ । बरु उनले प्रतिस्पर्धी प्यानलबाट केही भोट तानेको देखिन्छ । निर्वाचन समितिका एक सदस्यका अनुसार महामन्त्रीमा विजयी थापाले अन्य प्रतिस्पर्धीका भोट पाएका छन् । थापा–शर्मालाई १,२३०, थापा–महतलाई ३००, थापा–पौडेललाई ६००, थापा–रिजाललाई ५२०, थापाको एकल ३७३ मत परेको छ । महामन्त्रीमा विजयी शर्मालाई पनि उस्तै प्रकृतिको भोट परेको छ । निर्वाचन समितिका एक सदस्यले बनाएको नोटअनुसार शर्मा–थापा– १,२३०, शर्मा–महतलाई ५४४, शर्मा–रिजाललाई ५०, शर्मा–पौडेललाई ८४ र शर्मालाई एकल ७६ मत परेको छ । 

निर्वाचन समिति सदस्यहरूका अनुसार देउवा समूहबाट लडेका पौडेललाई समूहबाटै मत आएको छैन । पौडेल–महतलाई ५०६, पौडेल–थापालाई ६००, पौडेल–शर्मालाई ८४, पौडेल–रिजाललाई १२४ र एकल ७९ मत गरी पौडेलले एक हजार तीन सय ९३ मत पाएका छन् । त्यस्तै, महतलाई पनि समूहको सबै मत आएको छैन । महत–पौडेललाई ५०६, महत र थापालाई ३००, महत–शर्मालाई ५४४, महत–रिजाललाई ५०, महत–कार्कीलाई ५० र महतले एकल १०६ गरी एक हजार पाँच सय ५६ मत पाएका छन् । 

त्यस्तै रिजाल–थापालाई ५२०, रिजाल–शर्मालाई ५०, रिजाल–महतलाई ५०, रिजाल–पौडेललाई १२४, रिजाल–कार्कीलाई ४२ र रिजाललाई एकल २३ मत प¥यो । त्यस्तै, कार्की–महतलाई ५०, कार्की–रिजाललाई ४२ र कार्कीलाई एकल १४ मत परेको छ । 

उपसभापति र सहमहामन्त्रीमा पनि तलमाथि

देउवाको  समूहबाट उपसभापतिका उम्मेदवार बनेका विजय गच्छदार पनि पराजित भए । उनी शेखर कोइराला प्यानबाट उठेका धनराज गुरुङसँग दुई मतले पछि परे । देउवा समूहबाटै उपसभापतिमा लडेका पूर्णबहादुर खड्काले २,१२१ मत पाउ“दा गच्छदारलाई १,९०६ मत परेका थिए । उपसभापतिमा गुरुङलाई १,९०८, चन्द्र भण्डारीलाई १,५८०, दिव्येश्वरी शाहलाई १३२, सुजाता कोइरालालाई ६४४ र महेश आचार्यलाई ५८९ मत परेको थियो । मतगणनास्थलमा बसेका कांग्रेस नेताहरूले बनाएको अंकगणितअनुसार उपसभापतिमा खड्का–गच्छदारलाई १,६२३, खड्का–भण्डारीलाई ५४, खड्का–शाहलाई ६७, खड्का–गुरुङलाई १५९, खड्का–आचार्यलाई ८३, खड्का–कोइरालालाई १११ र खड्कालाई एकल ६८ मत परेका थिए ।  गच्छदारलाई परेका ५९ मत खड्कालाई परेनन् । त्यस्तै, खड्कालाई परेका २७३ मत गच्छदारले पाएनन् । त्यस्तै, आठ सहमहामन्त्रीमध्ये ६ क्लस्टरमा देउवा खेमाकाले जित्दा दुईजना भने पराजित भए । दलित क्लस्टरमा उम्मेदवार बनेका मानबहादुर विश्वकर्मा ३७ भोटले र पिछडिएको क्षेत्रबाट उठेका जीवनबहादुर शाही २७८ भोटले पराजित भए । 

 सभापतिसँग कोषाध्यक्ष, ३३ केन्द्रीय सदस्य, सबै विभाग प्रमुख र केही समितिमा मनोनीत गर्ने अधिकार

सबै केन्द्रीय सदस्यको मतगणनाको नतिजा नआउँदै स्पष्ट बहुमत हासिल गरेका सभापति शेरबहादुर देउवासँग असीमित अधिकार पनि छन् । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट कोषाध्यक्ष र ३३ केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार पार्टी विधानले सभापतिलाई दिएको छ । त्यस्तै पार्टीको प्रवक्ता तोक्नेदेखि पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनको अधिकार पनि सभापतिलाई नै छ । कांग्रेसमा २८ विभागको व्यवस्था छ । ती सबैको प्रमुख र सदस्य तोक्ने अधिकार पनि सभापतिलाई नै छ । पार्टीभित्र शक्तिशाली मानिने संसदीय समितिका सदस्य तोक्ने सर्वाधिकार पनि सभापतिसँगै छ । केन्द्रीय सभापति नै प्रमुख रहने यो समितिले नै प्रतिनिधिसभा र राष्ट्रिय सभाका उम्मेदवारलाई टिकट बाँड्छ । 

१४औँ महाधिवेशनमा रामचन्द्र पौडेल

(पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीको डायरी)

पार्टी विधानले तोकेको समयभित्रै १४औँ महाधिवेशन सम्पन्न गर्न समय छँदै कार्यतालिका बनाएर काम गर्न सुरु गरौँ भनेर रामचन्द्र दाइ (पौडेल)ले महासमिति र कार्यसमितिमा प्रस्ताव लैजाँदा उहाँ एक्लै हुनुहुन्थ्यो । समय घर्काउँदै लगेर सीमा नाघेपछि महाधिवेशनको तरखर हुन लाग्दा उहाँकै खेमा (संस्थापनइतर)बाट चारजना सशक्त दाबेदार निस्किसकेका थिए । क्रियाशील सदस्यता वितरणदेखि नै निष्ठावान् साथीहरू कहाँ लुटिँदै छन्, कहाँ बाहिरका मानिस भरेर विस्थापित गरिँदै छन्, देशैभरि कहाँ–कहाँ धाँधलीका प्रपञ्च रचिँदै छन् भनेर उहाँले अहोरात्र चहरीपहरी गरिरहँदा अरू दाबेदार सम्पर्क कार्यालय खोलेर मिटिङ र भेलाहरू गर्दै हुँदोरहेछ ।

सभापति शेरबहादुर देउवाजीसँग चुनावमा जाने आधार सबै रित्तिएर एउटा मात्र नारा बाँकी थियो, ‘चुनावमा मेरोतर्फबाट म एक्लै हुन्छु, रामचन्द्रका चार–पाँचजना भिड्छन् । म जितिहाल्छु ।’ आफ्ना सहयोगीलाई ढाडस दिने उहाँको यही नै अस्त्र थियो । रामचन्द्र दाइ र अन्य शुभचिन्तक नेताहरूले पनि हाम्रोतर्फबाट एउटा साझा उम्मेदवार बनाउने पटक–पटक प्रयत्न भयो, तर सफल हुनुभएन । अन्त्यमा रामचन्द्र दाइले मुख फोरेरै भन्नुभयो– क्रियाशीलको लफडा सकिँदा–नसकिँदै एक बनिसकौँ । तैपनि चारको चारै रहनुभयो । हुँदाहुँदा केही दाबेदार नेताहरूले त दाइको फोन नै उठाउन छाड्नुभयो । पहिले प्रकाशमान सिंहले दाइको फोन उठाउन छाडेर बाहिर भन्न थाल्नुभयो– ‘रामचन्द्रले पार्टी चलाउनै सक्नुहुन्न ।’ त्यस्तै, शेखर कोइरालाले पनि किन फोन उठाउनुभएन भनेर कसैले सोध्दा भन्नुभएछ-‘पौडेलजी आदरणीय हुनुहुन्छ, उहाँसँग कति छलफल गर्ने ? उहाँले त्यही एक हौँ भन्ने न हो, किन फोन उठाउने ?’

सुरुमै एकताको सन्देश दिन सकेको भए हाम्रो समूहको बलियो स्थिति बन्दै जान्थ्यो, त्यो हुन पाएन । वडा र पालिकामा नै अर्कै स्थिति बन्थ्यो । मिलेर जान पाएको भए महाधिवेशन प्रतिनिधि नै हाम्रो पक्षमा ठूलो संख्यामा जितेर आउँथे, त्यो हुन पाएन । प्रदेशका चुनाव पनि सबैजस्तो जितिन्थ्यो । नमिलेकै कारण दुईवटा प्रदेश मात्र जितियो । महाधिवेशनको मुखैमा पुगेपछि मात्र बल्लबल्ल मिटिङमा नेताहरूलाई जोडिनसम्म सकियो । रामचन्द्र दाइले कहिले महाराजगन्ज, कहिले चाक्सीबारी धाएर धेरै प्रयास गर्नुभयो । उहाँले आफू उम्मेदवार नबनेर जित्न सकिने ‘अरू उपाय छन् भने तपाईंहरू नै भन्नोस्’ भनेर पनि भन्नुभयो । त्यतिभन्दा पनि प्रकाशमानले भन्नुभयो, ‘मैले अघिल्लो चोटि तपाईंलाई छोडेँ, अहिले त म लड्छु–लड्छु ।’ उता शेखरले भन्नुभयो, ‘प्रकाशमान लड्ने भए म पनि लड्छु ।’ शशांक कोइरालाले चाहिँ ‘म रामचन्द्र दाइलाई छाड्न तयार छु’ भनिसक्नुभएको थियो । 

रामचन्द्र पौडेल

बत्तीसपुतलीको अन्तिम छलफलमा पनि पुरानै कुरा दोहोरिए । प्रकाशमानले आफू नलडी नछाड्ने बताउनुभयो । शेखरले ‘प्रकाशमानजी लड्ने भए रामचन्द्रजी लड्नै हुँदैन’ भन्नुभयो । बरु, शशांकले ‘चुनाव त रामचन्द्र दाइ नै लड्नुपर्ने हो’ भन्नुभयो । तर, उहाँको कुरामा कसैले महत्व दिएनन् ।

यस्तो चल्दाचल्दै चाक्सीबारीमा केन्द्रीय समितिका सदस्यहरूसहित बैठक बस्यो । त्यहाँ पनि चामचन्द्र दाइले ‘हामी चारजनाबीच कुरा मिल्न सकेको छैन । मैलै प्रकाशमानजी र शेखरजीलाई भनिसकेँ– स्थिति अनुकूल देखिन्न । तैपनि म उठ्ने हो भने देउवाजी र मेरो तुलना गरेर कांग्रेसका आमसाथीहरूले मलाई सहानुभूतिको भोट दिन्छन् । तसर्थ उहाँहरूलाई सम्झाइदिनोस्’ भनेर भन्नुभयो । केन्द्रीय सदस्यहरूले ‘तपाईं तीनजना छुट्टै बस्नुस् । कि एक भएर आउनोस्, कि प्रक्रियामा सहमत भएर आउनोस्, अनि हामी निर्णय गर्छौँ’ भन्नुभयो । 

त्यसपछि रामचन्द्र दाइ, प्रकाशमान र शेखर पल्लो कोठामा गएर छलफल गर्नुभयो । त्यहाँ पनि दाइले दुवै नेतालाई सम्झाउने कुरा सम्झाउनुभयो, सबै परिस्थिति र भविष्य देखाउनुभयो । तर, कुरा जहाँको त्यहीँ रह्यो । प्रकाशमानले त ‘यहाँ पल्लो कोठामा निर्णय गर्न किन दिने ? महाधिवेशन जाउँ, साथीहरूले नै निर्णय गर्छन्’ भन्नुभयो । त्यसपछि शेखरले भन्नुुभयो– ‘त्यसो हो भने कुरा सकियो ।’ अन्तिममा रामचन्द्र दाइले यहाँ भएका सबै कुरा पल्लो कोठामा सबै साथीहरूलाई भन्छु । 

त्यसपछि उहाँहरू तीनैजना केन्द्रीय सदस्यहरू बसिरहेको वल्लो कोठामा आउनुभयो । त्यहाँ रामचन्द्र दाइले भन्नुभयो– ‘अब तपाईंहरू भन्नोस्– म के गरुँ ?’ ठोस जवाफ केही आएन, समाधानको उपाय कसैबाट निस्केन । उहाँले फेरि भन्नुभयो– ‘नेतृत्व परिवर्तनका लागि समयमै अधिवेशन गर्न दबाब दिउँ भन्दा म एक्लै भएँ । १३औँ महाधिवेशनमा जुन प्रपञ्च भयो, त्यसबाट हतोत्साही नभईकन मैले आजसम्म निरन्तर निष्ठावान् साथीहरूमाथि भइरहेको थिचोमिचो र विस्थापित गराउने हर्कतविरुद्ध लडी नै रहेँ । तर, त्यहीँ अर्कोतिर साथीहरू मेरो हात बलियो बनाउनुको सट्टा आफैँ उम्मेदवारी सशक्त बनाउन तयारी गर्नतिर लाग्नुभयो । उता शेरबहादुर देउवा हाम्रा बहुउम्मेदवारीलाई आधार बनाएर आफ्ना पक्षमा बढी प्रतिनिधि ल्याउने खेलमा सफल हुँदै गएका छन् । त्यही साहसले अनेक हथकण्डा प्रयोग हुँदै गएका छन् । यस्तो अवस्थामा पनि साथीहरू गम्भीर नहुने हो भने विवेकको आगो बलेर ठोस निर्णय दिन नसक्ने हो भने म के गरुँ ? मैले के बिराएको छु ?’

प्रकारान्तरले धेरैजसो केन्द्रीय सदस्यहरूले भन्नु त भएको थियो–‘रामचन्द्रजीले नै अहिलेसम्म टिमको नेतृत्व गर्दै आउनुभएको छ, सहमति उहाँमा नै हुनुपर्ने हो ।’ तर, निष्कर्ष दिन खुलेर कसैले आँट गर्नुभएन । सामूहिक निर्णय र सामूहिक सोचबाट अघि बढौँ भन्ने सदाशयता हार खाएजस्तो भयो । त्यसपछि रामचन्द्र दाइले अलि भावुक हँुदै भन्नुभयो, ‘विवेकको आगो नबल्ने हो भने मैले नै अब प्रतिस्पर्धाबाट आफूलाई अलग राखेँ । पार्टी राजनीतिबाटै पनि टाढिन सक्छु ।’ अरू नेताहरू त्यसपछि एक सय ३४ जना केन्द्रीय समितिमा उम्मेदवार खडा गर्नुपर्ने चाँजोपाँजोतिर लाग्नुभो, रामचन्द्र दाइ भने घरतिर लाग्नुभयो । 

२४ मंसिरको बिहान केही केन्द्रीय सदस्यहरू रामचन्द्र दाइको घर आउनुभयो । र, उहाँलाई भन्नुभयो– ‘चुनावी प्रतिस्पर्धाबाट अलग भए पनि तपाईंले आज उद्घाटन समारोहलाई सम्बोधन गर्नैपर्छ, अलि माथि उठेर देशभरिबाट आएका साथीहरूलाई ढाडससम्म त दिनैपर्छ ।’ उहाँहरूको कुरा मानेर नै दाइ उद्घाटनमा जानुभएको हो । 

उद्घाटन कार्यक्रम सकेर एकपटक अन्तिम छलफल भनेर रामचन्द्र दाइ बत्तीसपुतली पनि पुग्नुभयो । त्यहाँ पनि पुरानै कुरा दोहोरियो । प्रकाशमानले आफू नलडी नछाड्ने कुरा गर्नुभयो । शेखरले ‘प्रकाशमानजी लड्ने भए रामचन्द्रजी लड्नै हुँदैन’ भन्नुभयो । बरु, शशांकले ‘चुनाव त रामचन्द्र दाइ नै लड्नुपर्ने हो’ भन्नुभयो । तर, उहाँको कुरामा त्यहाँ भएका कसैले महत्व दिएनन् । त्यसपछि रामचन्द्र दाइले ‘अब धेरै घिङन्याइँ गर्नुहुँदैन’ भन्ने सोच्नुभयो र आफ्नो टिमका साथीहरूलाई प्रस्ट भन्नुभयो– ‘अब आ–आफ्नो सुरक्षा आफैँ गर्नुस् ।’ उहाँले प्रतिस्पर्धाबाट अलग रहने आफ्नो वचनप्रति इमानदार रहनुपर्छ भन्ने सोचेर नै मतदानमा पनि भाग नलिनुभएको हो । मतदानमा भाग लिनु पनि इमानदारिता हुँदैनथ्यो । 

२५ मंसिरको बेलुका ९ बजे सभापति शेरबहादुर देउवा रामचन्द्र दाइकोे घर आउनुभयो । दाइले सुरुमै उहाँसँग भन्नुभयो– ‘यहाँ स्वच्छ प्रतिस्पर्धा भइरहेको नठानेर मैले प्रतिस्पर्धाबाट आफूलाई बिल्कुलै अलग राखेको छु ।’ त्यसपछि देउवाले त्यहाँ अरू केही भन्ने आँट नै गर्नुभएन, केवल यति मात्र भन्नुभयो– ‘आफ्नो स्वास्थ्य राम्रो राखेर बस्नुहोस्, राष्ट्रलाई तपाईंको खाँचो छ ।’ चिया खाँदै घरपरिवार र बाहिरी कुरा गरेर आधा घन्टाको समय बिताएर उहाँ फर्किनुभयो । 

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिसँग आमने–सामने भेटसम्म त हुनुपर्छ भनेर रामचन्द्र दाइले २७ मंसिरको बिहान चियापान कार्यक्रम राख्नुभयो । तर, मतदानको अपूरो नतिजा राति नै आइहाल्यो । त्यहाँ देउवादेखि शेखरसम्म र सिटौलादेखि प्रकाशमानसम्म सबैलाई बोलाउनुभएको थियो । अरूभन्दा चाँडो देउवा आउनुभयो । रामचन्द्र दाइसँग ‘शेखरलाई भोट मागिदिनुपर्छ’ भनिरहेका साथीहरूमा यसबाट झन् चिसो पसेछ । उत्तेजित नै हुनुभयो । मञ्चमा रामचन्द्र दाइ बोल्दै गर्दा शेखर पनि पुग्नुभयो । डा. मीनेन्द्र रिजालले रामचन्द्र दाइलाई बस्न लगाएर शेखरलाई बोल्न लगाउनुभयो । शेखरले सबैलाई ‘अनुशासनमा रहन’ भन्नुभयो । शेरबहादुर देउवाले ‘रामचन्द्रजीलाई अप्ठ्यारो नपार्नोस्, उहाँ हामी सबैको नेता हो । उहाँको राष्ट्रमा ठूलो महत्व छ आउँदा दिनमा’ भन्नुभयो । 

त्यहाँ रामचन्द्र दाइले भन्नुभयो– ‘यो चियापान मैले साथीहरूसँग प्रत्यक्ष भेटेर सदाशयता व्यक्त गर्न र हाम्रासामु रहेका आगामी चुनौतीतर्फ पनि ध्यान दिएर पार्टीमा सद्भाव र एकता कायम राखौँ भनेर आयोजना गरेको हुँ । अबका चुनौती भनेको चाँडै हुने तीनवटै तहका निर्वाचन हुन् ।’ 

२०७८/०८/२९
जय नेपाल