मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ७ बुधबार १०:५८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमलाई कम्पनीकरण गरिँदैन : मन्त्री आले 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ७ बुधबार १०:५८:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कम्पनीकरण नगरिने बताएका छन् । निगमलाई कम्पनीकरण नगर्ने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको जानकारी गराउँदै उनले सरकारी स्वामित्वमै सञ्चालन गर्ने बताएका हुन् । 

नेपाल वायुसेवा निगम सञ्चालक समितिको बैठकले निगमलाई अहिलेकै अवस्थामा चुस्त रूपमा सञ्चालन गर्न नसकिने ठहर गर्दै पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको थियो । समितिले निगमलाई कम्पनी मोडेलमा रूपान्तरण गर्न प्रबन्धपत्र र नियमावली तयार गरेर पर्यटन मन्त्रालयलाई बुझाइसकेको छ । सञ्चालक समिति बैठकको यो निर्णयसँगै कर्मचारीहरू वायुसेवालाई निजीकरण गर्न लागेको भन्दै आन्दोलनमा उत्रिएका थिए । कर्मचारीको विरोधका कारण उक्त निर्णय अगाडि बढ्न सकेको थिएन । आन्दोलनरत कर्मचारीले निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेललाई महिनौँ कार्यालय प्रवेश गर्न दिएनन् । पछि, आले मन्त्री नियुक्त भएपछि पौडेललाई मन्त्रालयमा तानेर निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेका छन् । 

निगमलाई कम्पनी मोडेलमा नलैजाने निर्णय भइसकेको भन्दै मन्त्री आलेले निगमको उन्नति र प्रगतिमा साथ दिएर राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने बताए । मंगलबार निगमको मुख्यालयमा आयोजित कार्यक्रममा उनले विमान कम्पनीसँग पर्याप्त विमान नहुनु नै विडम्बना भएको बताए । उनले भने, ‘विमान थप्न सरकारले सहयोग गर्छ, तपाईंहरू तयारी थाल्नुस् ।’ आफूले दबाबमा परेर काम नगर्ने दृढता व्यक्त गर्दै उनले निगमसँग भएको दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाजको संख्या बढाउने र भाडा प्रतिस्पर्धी बनाउने बताए । 

कार्यक्रममा पर्यटनसचिव महेश्वर न्यौपानेले कर्मचारीले उडानमा नियमितता र सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले संस्थाप्रति विश्वसनीयता बढाउँदै अरूको कुदृष्टि रोक्न निगममा सामूहिक प्रयास गर्नुपर्ने पनि औँल्याए । निगमका कार्यकारी अध्यक्ष अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिबद्ध भएकै कारण खतराजन्य सामान ढुवानी गर्ने दायित्व पाएको बताए । ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको पनि उनको भनाइ छ ।