मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ पौष ७ बुधबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हत्या आरोपी तीन भारतीय त्रिभुवन विमानस्थलमा पक्राउ परे, प्रहरी अधिकारीले गुपचुप भारतलाई बुझाए

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ पौष ७ बुधबार ०६:०३:००

सरकारलाई औपचारिक जानकारी छैन, प्रहरी मुख्यालयले गृहलाई बुझायो छानबिन प्रतिवेदन 

त्रिभुवन विमानस्थलमा पक्राउ परेका हत्या आरोपी तीन भारतीयलाई नेपाल प्रहरीका केही अधिकारीले गुपचुप भारतलाई बुझाएको खुलेको छ । गृह मन्त्रालयले यस विषयमा छानबिन गरी सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाहीको तयारी गरेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५)लाई ५ कात्तिकमा विमानस्थलबाट निस्किएलगत्तै पक्राउ गरेको थियो । उनीहरू संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पु¥याएर प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चन्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिर हो । 

अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार उनीहरू ५ कात्तिकको साँझ काठमाडौं आएका थिए । अग्रिम रूपमा होटेल बुकिङ र सम्पर्क व्यक्तिको नामसमेत खुलाएर नेपाल आएका थिए । घटना थाहा पाएपछि मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले एक डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । ‘मन्त्रीज्यूले यसमा संलग्न प्रहरीलाई कस्तो कारबाही गर्ने भन्नेमा आन्तरिक छलफल गरिरहनुभएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो । 

प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी नदिई अवैध रूपमा सुपुर्दगी गरिएको उल्लेख छ । ‘छानबिनका क्रममा प्रहरीले नै ती भारतीयलाई स्कारपियो गाडीमा राखेर सुनौली नाका हुँदै भारतमा लगेर बुझाएको पुष्टि भयो,’ छानबिनमा संलग्न एक अधिकारीले भने, ‘एउटा देशको सुरक्षा निकायले माथिल्लो निकायलाई जानकारी नदिई अर्काे देशलाई बुझाउनु असाध्यै गम्भीर विषय भएकाले यसमा थप छानबिन गरी कारबाही गर्न भनेका छौँ ।’ 

सोधपुछ गरिएका महानगरीय प्रहरी कार्यालयका अधिकारीले एआइजी हरिबहादुर पालको निर्देशनमा आफूहरूले ती व्यक्तिलाई सुनौली लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाएको बताएका छन् । हाल तीनैजनाको अवस्था अज्ञात छ । छानबिन समितिमा आबद्ध एक अधिकारीका अनुसार उनीहरूको ‘इन्काउन्टर’ भएको सूचना प्राप्त भएको छ, तर पुष्टि भने हुन सकेको छैन । आतंकवादसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप उनीहरूमाथि लागेको थियो । जम्मु–कस्मिरमा केही प्रहरीको हत्यामा उनीहरूको संलग्नताको दाबी गरिएको छ । पछल्लिो दुई महिनामा जम्मु–कस्मिर क्षेत्रमा दोहोरो भिडन्तमा करिब एक दर्जन आतंककारीको इन्काउन्टरमा मृत्यु भएको भनेर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ । 

‘जम्मु–कस्मिरमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई गोली हानिएको भन्ने सूचना प्राप्त भएको छ, तर पुष्टि हुन सकेन,’ छानबिनमा आबद्ध ती अधिकारीले भने, ‘तर, केही प्रहरी अधिकारीले सरकारलाई नै गुमराहमा राखी विदेशीलाई गोप्य रूपमा बुझाउनु देशको सार्वभौमसत्ताकै लागि पनि एउटा संवेदनशील विषय हो ।’ यसमा महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी पालको भूमिका शंकास्पद देखिएको स्रोत बताउँछ । सो घटनाअघि उनी व्यक्तिगत कामका लागि भन्दै भारत भ्रमणमा गएकोसमेत खुलेको छ । 

प्रहरी महानिरीक्षक सचिवालय स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा छानबिन भएको र प्रतिवेदन बुझाएको एक हप्ता भइसकेको छ । तर, गृहमन्त्री बालकृष्ण खाणले यस विषयमा कसरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न सकेका छैनन् । खाणकै चासोका आधारमा सो घटनाको छानबिन भएको हो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सो विषयमा आफूलाई जानकारी नभएको बताए । 

गृह स्रोतका अनुसार नेपाल प्रहरीबाट भएको यो घटनालाई गम्भीर रूपमा लिई कारबाहीको तयारी भइरहेको छ । ‘सन्धि नभएकाले गोप्य रूपमा हुने सुपुर्दगी विगतमा पनि हुँदै आएको हो,’ गृहका ती अधिकारी भन्छन्, ‘तर, यसरी प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयलाई समेत जानकारी नदिई अवैध सुपुर्दगी गर्नु एकदमै संवेदनशील हो, यसले हाम्रो सुरक्षा निकायमा विदेशी चलखेल कस्तो छ भन्ने प्रस्ट हुन्छ ।’