मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ पौष ६ मंगलबार ०६:२८:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पपछि ‘रेड स्टिकर’ लगाइएका  त्रिविका ३३ क्याम्पसमा जोखिम मोल्दै पढाइ

Read Time : > 6 मिनेट
२०७८ पौष ६ मंगलबार ०६:२८:००

भारतले प्रतिबद्धता जनाएको ६ वर्षपछि एक्जिम बैंकले बल्ल दियो स्वीकृति, टेन्डर कहिले हुने अझै टुंगो छैन

०७२ वैशाखको भूकम्पमा चर्किएर ‘रेड स्टिकर’ लगाइएका त्रिभुवन विश्वविद्यालयका ३३ आंगिक क्याम्पसमा ६ वर्षसम्म पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामै पढाइ हुने गरेको छ । नयाँ भवन नबनेपछि रेड स्टिकर हटाएर चर्किएका भवनमै कक्षा सञ्चालन गरिएको हो । 

सरकारले त्रिविका ३३ आंगिक क्याम्पस, त्रिवि स्मृति भवन, होस्टेललगायत गरी ३८ कार्यालय र दोलखाको जिरी प्राविधिक शिक्षालय भारतको एक्जिम बैंकको ऋण सहयोगमा पुनर्निर्माण गर्ने सम्झौता भारत सरकारसँग गरेको थियो । पुनर्निर्माणको सूचीमा रहेका ३८ कार्यालयमध्ये त्रिवि प्रेस र थापाथली क्याम्पसको स्वीकृति आएको छैन । ऋण सहयोग भारतको हुने र परामर्शदाता नेपालको रहने सम्झौतामा उल्लेख छ । तर, भारतको बेवास्ता र झन्झटिला सर्तका कारण पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माणमा अन्य देश तथा निकायले समेत चासो दिए पनि भारतसँग सम्झौता भइसकेकाले समस्या भएको छ । 

जोखिम मोलेर पढाउनुपरेको छ : प्रा.डा. धर्मकान्त बाँस्कोटा, उपकुलपति, त्रिवि
भत्किएका क्याम्पस पुनर्निर्माण नहुँदा धेरै समस्या भएको छ । कक्षाकोठा अभावका कारण रेड स्टिकर लगाइएका भवनमा समेत जोखिम मोलेर पढाउनुपरेको छ । हामीले छिटो काम गर्न भनिरहेका छौँ, तर भएको छैन ।

‘पुनर्निर्माण नहुँदा धेरै समस्या भएको छ, कक्षाकोठा अभावका कारण रेड स्टिकर लगाइएका भवनमा समेत जोखिम मोलेर पढाउनुपरेको छ,’ त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, ‘हामीले छिटो काम गर्न भनिरहेका छौँ, तर भएको छैन ।’ 

०५८ मा युरोपेली युनियनको सहयोगमा निर्माण भएको अर्घाखाँचीको पाणिनि बहुमखी क्याम्पसको आठकोठे भवन भूकम्पमा चर्किएर बस्नै नमिल्ने भयो । तर, वर्षौँसम्म पुनर्निर्माण नभएपछि तल्लो तलाका चार कोठामा जोखिम मोलेर पढाउनुपरेको क्याम्पसका प्राध्यापक माधवराज चुदालीले बताए । 

बाग्लुङको धौलागिरि बहुमुखी क्याम्पसले पनि क्षति भएका चारवटा भवन पुनर्निर्माण नभएपछि त्यसैलाई प्रयोगमा ल्याएको छ । ‘भूकम्पमा पुरानो प्रशासनिक भवन, हालको विज्ञान प्रयोगशाला, छात्रावास र कर्मचारी आवास भवन चर्किएको थियो । रातो स्टिकर टाँसिएको थियो । प्रधिकरणका प्राविधिकले लागत अनुमान पनि गरेका थिए । तर, अहिलेसम्म पुनर्निर्माण सुरु भएको छैन । रातो स्टिकर पनि उप्किएर गइसकेका छन्,’ क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले भने, ‘कोठा अभावमा स्नातकोत्तर र स्नातक तहका कक्षा चर्किएकै भवनमा सञ्चालन गरिएको छ ।’ महिला छात्रावास पनि त्रिविबाट केही रकम ल्याएर रङरोगन गरी जोखिमपूर्ण अवस्थामै चलाइएको उनले बताए । 

चितवन भरतपुरको वीरेन्द्र बहुमखी क्याम्पसले पनि चर्किएकै भवनमा अध्ययन–अध्यापन गराएको छ । ०३४ मा निर्माण भएको भवन यसै पनि पुरानो थियो, त्यसैमाथि भूकम्पको धक्का खाएपछि ठाउँ–ठाउँमा चिरा परेको छ । पुनर्निर्माण नभएपछि चर्किएका ठाउँ टालेर चलाइएको क्याम्पसका सामान्य प्रशासन प्रमुख सरोज लामिछानेले बताए ।

गोरखा बहुमुखी क्याम्पसमा प्रयोग भएका ३७ मध्ये १६ कोठा जोखिमपूर्ण भवनमा छन् । ‘भूकम्पपछि आएको इन्जिनियर टोलीले दुई भवनका १६ कोठा बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो । विद्यार्थीको चाप बढ्दा कोठा अभाव भएकाले तिनै भवन टालटुल गरेर पठनपाठन गराइरहेका छौँ,’ क्याम्पस प्रमुख रामशरण बानियाँले भने ।

गुल्मीको रेसुंगा बहुमखी क्याम्पसले पनि भूकम्पपछि रातो स्टिकर लगाएकै भवनमा प्रशासन र लेखा सञ्चालन गरेको छ । पुनर्निर्माणमा ढिलाइ हुँदा समस्या भएको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । गत वर्ष फाइल बनाएर त्रिवि केन्द्रीय कार्यालयमा पठाएको उनको भनाइ छ । ०५६ मा बनेको दशकोठे भवनमा भूकम्पले क्षति पुर्‍याएको थियो । 

लमजुङ कृषि क्याम्पसमा पनि भूकम्पले चर्किएकै भवनमा पढाइ हुने गरेको छ । प्राविधिक टोलीले अनुगमन गरी चर्किएको भवन प्रयोगमा नल्याउन तथा वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको थियो । बिएस्सीएजी छैटौँ सेमेस्टरका विद्यार्थी विशाल सापकोटाले डर पालेर पढ्नुपरेको गुनासो गरे । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको स्थलगत अध्ययनअनुसार त्रिविको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसको पुनर्निर्माणमा करिब १४ अर्ब खर्च हुने अनुमान छ । 

दूतावासमार्फत बल्ल स्वीकृति आयो, अब डिपिआर बन्छ : रामशरण सापकोटा, प्रमुख, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, शिक्षा मन्त्रालय
त्रिविका क्याम्पस निर्माणका लागि भारतीय दूतावासमार्फत स्वीकृति आएको छ । भवन निर्माणका लागि डिपिआरको तयारी भइरहेको छ । डिपिआर तयार गर्न कन्सल्ट्यान्ट नियुक्तिको तयारी भएको छ, डिपिआर तयार भएपछि नक्सा, डिजाइन र कस्ट इस्टिमेटका लागि एक्जिम बैंक पठाएर स्वीकृति आएपछि टेन्डर हुन्छ ।

सरकारले भारतको ऋण सहयोगमा शैक्षिक संस्था पुनर्निर्माणका लागि सन् २०१६ मै सम्झौता गरेको थियो । सरकारले सम्झौता गरी एक वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)लाई निर्माणको जिम्मा दिएको थियो । अहिले यो कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ । कार्यालय प्रमुख रामशरण सापकोटाले त्रिविका ती क्याम्पस निर्माणका लागि दूतावासमार्फत स्वीकृति आएको र अब डिपिआरको तयारी भइरहेको बताए । डिपिआर तयार गर्न कन्सल्ट्यान्ट नियुक्तिको तयारी भएको छ, डिपिआर तयार भएपछि नक्सा, डिजाइन र कस्ट इन्टिमेट गर्न एक्जिम बैंक पठाएर स्वीकृति आएपछि टेन्डर हुने उनले बताए । 

ऋण अनुदानमा पुनर्निर्माणको प्रक्रिया निकै झन्झटिलो छ । डिपिआर तयार भएपछि पनि भारतीय दूतावासमार्फत स्वीकृतिका लागि पठाउने र आएपछि मात्रै काम सुरु हुनेछ । नक्सा, डिजाइन र कस्ट इन्टिमेट गर्न एक्जिम बैंक पठाएपछि समयमै स्वीकृति पाएमा बल्ल आगामी वैशाख–जेठसम्ममा निर्माणका लागि टेन्डर हुने सम्भावना छ । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । 

अनुदानमा पुनर्निर्माण हुने विद्यालयको के छ अवस्था ? 
भूकम्पले भत्काएका ७० विद्यालय र एक पुस्तकालय पनि भारतीय अनुदानमा पुनर्निर्माण हुने सम्झौता भएको थियो । सम्झौता भएको लामो समयसम्म काम अघि नबढ्दा प्रगति निकै कम छ । तर, ऋण सहयोगमा हुने पुनर्निर्माणको कामभन्दा अनुदानका काममा प्रगति धेरै छ । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार भारतको अनुदानमा निर्माण भएका आठ विद्यालयको काम सम्पन्न भएको छ । ५६ विद्यालयको निर्माण भइरहेको छ भने ६ विद्यालयको सम्झौता भई निर्माण भएको छ । त्रिवि केन्द्रीय पुस्तकालयको बोलपत्र मूल्यांकन भइरहेको छ । 

चीन सरकारले ‘टर्न की’ मोडालिटीमा बनाउन लगाएको सात विद्यालयमध्ये काठमाडौंको दरबार हाइस्कुलको मात्रै पुनर्निर्माण सकिएको छ । अरू विद्यालय निर्माणकै चरणमा छन् । 

विद्यालय पुनर्निर्माणको काम झन्डै ९० प्रतिशत सकियो 
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार विद्यालय पुनर्निर्माणमा अहिलेसम्म झन्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । अहिलेसम्म ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण भइसकेका छन् । नौ सय ३६ निर्माणाधीन छन् । जम्मा बनाउनुपर्ने विद्यालय संख्या सात हजार पाँच सय ८३ हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सापकोटाले विद्यालय पुनर्निर्माणको प्रगति राम्रो भएको बताए । 

भूकम्पले भत्काएका केही विद्यालय पुनर्निर्माण गर्न नसकिने अवस्थामा र केही जग्गा अभावलगायतले प्राथमिकतामा परेका छैनन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयहरूको २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठा आंशिक क्षति पुगेको थियो । 

भूकम्पले भत्किएकामध्ये केही विद्यालय मर्ज भइसकेका छन् भने केही विद्यालयसँग भवन निर्माणका लागि पर्याप्त जग्गासमेत छैन । एकदमै न्यून संख्या भएका विद्यालयसमेत पुनर्निर्माणको प्राथमिकतामा छैनन् । 

विद्यालय व्यवस्थापन समितिमार्फत बने सबैभन्दा बढी विद्यालय
विद्यालय व्यवस्थापन समितिमार्फत सबैभन्दा बढी विद्यालय निर्माण भएका छन् । केही समयअघिसम्म निर्माण सम्पन्न भएका ६ हजार ६ सय ४७ मध्ये विद्यालय व्यवस्थापन समितिमार्फत पाँच हजार पाँच सय ६४, निर्माण व्यवसायीमार्फत तीन सय ७७ र गैरसरकारी संस्थामार्फत सात सय तीन बनेका हुन् । समितिमार्फत चार सय ९६ विद्यालय निर्माणाधीन छन् । 

एक्जिम बैंकको ऋणमा पुननिर्माण हुन सम्झौता भएर अलपत्र क्याम्पस
१. बोटनी केन्द्रीय विभाग, कीर्तिपुर
२. टिचिङ हस्पिटल आइसियू ब्लक, महाराजगन्ज
३. इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक
४. भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर
५. त्रिचन्द्र कलेज
६. नेपाल कमर्स क्याम्पस, नयाँ बानेश्वर
७. महेन्द्ररत्न क्याम्पस, ताहाचल
८. अमृत साइन्स क्याम्पस, लैनचौर
९. सरस्वती बहुमुखी क्याम्पस, सोह्रखुट्टे
१०. रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग
११. नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग
१२. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
१३. विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग
१४. पब्लिक युथ क्याम्पस, ठमेल
१५. आयुर्वेदिक क्याम्पस, कीर्तिपुर
१६. त्रिवि स्मृति भवन, कीर्तिपुर
१७. त्रिवि इन्टरनेसनल होस्टेल, कीर्तिपुर
१८. आइओएम होस्टेल
१९. त्रिवि रिकास्ट र ब्वाइज होस्टेल, कीर्तिपुर
२०. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा
२१. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर
२२. इन्स्टिच्युट अफ फरेस्ट्री हेटौँडा क्याम्पस, हेटौँडा
२३. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर
२४. लमजुङ क्याम्पस, लमजुङ
२५. वेस्टर्न रिजन क्याम्पस, पोखरा
२६. गोरखा क्याम्पस, गोरखा
२७. त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
२८. पृथ्वीनारायण क्याम्पस, पोखरा
२९. नर्सिङ क्याम्पस, पोखरा
३०. धौलागिरि क्याम्पस, बाग्लुङ
३१. पाणिनि बहुमुखी क्याम्पस, अर्घाखाँची
३२. पाटन बहुमुखी क्याम्पस
३३. इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली
३४. ललितपुर नर्सिङ क्याम्पस, सानेपा
३५. त्रिवि प्रेस, कीर्तिपुर
३६. सानोठिमी क्याम्पस, सानोठिमी
३७. रेसुंगा बहुुमुखी क्याम्पस, गुल्मी
३८. इन्स्टिच्युट अफ फरेस्ट्री (आइओएफ) पोखरा
३९.. जिरी प्राविधिक स्कुल, जिरी (सिटिइभिटीअन्तर्गत)

स्रोत : केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, शिक्षा

१०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको दयनीय अवस्था

त्रिचन्द्र कलेजको घन्टाघरतर्फको  भवन १९७५ मै बनेको थियो । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ मै बनेको थियो । त्यतिवेला १४ महिनामा बनेको यो भवन भूकम्पले क्षति पु¥याएको ६ वर्ष बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । भारतको ऋण सहयोगमा बनाउने सम्झौता भए पनि निर्माण प्रक्रिया नै सुरु भएको छैन । भूकम्पले चर्किएका भवन बर्खाको पानी छिर्दा झन् गलेका छन् । ‘कोरोनाका कारण रोकिएका कक्षा अब भौतिक रूपमै सञ्चालन गर्नुपर्नेछ, तर विद्यार्थीलाई कहाँ राख्ने भन्ने तनाव छ,’ क्याम्पस प्रमुख सुनील अधिकारीले भने, ‘घन्टाघरतर्फका भवनमा भएका आठवटा विभाग कहाँ सार्ने र कहाँ पढाउने भन्ने चिन्ता छ । हामीलाई ४० कोठा अभाव छन् ।’ आफू क्याम्पस प्रमुख बनेपछि कार्यसमितिका सदस्यसहित १० पटक पुनर्निर्माण प्राधिकरणमा पुगेर समस्या सुनाएको उनले बताए । पुनर्निर्माण प्राधिकरणले दुई अर्ब खर्च लाग्ने अनुमान गरेको छ । ‘क्याम्पस आफैँले अर्बौँ खर्च गरेर पुनर्निर्माण गर्न सक्ने अवस्था छैन,’ अधिकारीले भने । 

जोखिम मोल्दै विद्यार्थी पढाउँदै

अर्घाखाँची : ०५८ मा युरोपेली युनियनको सहयोगमा निर्माण भएको अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पसको आठकोठे भवन भूकम्पमा चर्किएर बस्नै नमिल्ने भयो । तर, अहिले पनि जोखिम मोलेर त्यसमै पढाउनुपरेको क्याम्पसका प्राध्यापक माधवराज चुदालीले बताए । 

बाग्लुङ : धौलागिरि बहुमुखी क्याम्पसले पनि क्षति भएका चारवटा भवन पुनर्निर्माण नभएपछि जोखिम मोल्दै प्रयोगमा ल्याएको छ ।

चितवन : भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसले पनि चर्किएकै भवनमा अध्यापन गराएको छ । चर्किएका ठाउँ टालेर पढाइरहेको प्रशासन प्रमुख सरोज लामिछानेले बताए ।

गोरखा : गोरखा बहुमुखी क्याम्पसका ३७ मध्ये १६ कोठा जोखिमपूर्ण भवनमा छन् । ती कोठामा बस्न नमिल्ने इन्जिनियरले बताएका थिए । तर, कोठा अभाव भएकाले टालटुल गरेर तिनै कोठामा पठनपाठन भइरहेको क्याम्पस प्रमुख रामशरण बानियाँले बताए ।

गुल्मी : रेसुंगा बहुमुखी क्याम्पसले पनि रातो स्टिकर लगाएकै भवनमा प्रशासन र लेखा सञ्चालन गरिरहेको छ । पुनर्निर्माण नभएपछि बाध्य भएर बस्नुपरेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए ।

लमजुङ : लमजुङ कृषि क्याम्पसमा पनि भूकम्पले चर्किएकै भवनमा पढाइ भइरहेको छ । प्राविधिक टोलीले वैकल्पिक व्यवस्था गर्न सुझाव दिए पनि विद्यार्थीहरू असुरक्षित भवनमै बस्न बाध्य छन् ।