मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष ५ सोमबार १८:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 बाँदरझुलावासीको पीडा : भोट माग्दा आश्वासन दिन्छन्, जितेपछि लालपुर्जा दिँदैनन् (भिडियो)

Read Time : > 2 मिनेट
२०७८ पौष ५ सोमबार १८:४५:००

चितवन बाँदरझुलाकी गंगामाया गुरुङले सुकुम्वासी बस्तीमा बसेर हरेक निर्वाचनमा भोट हालिन्। भोट माग्न प्रत्येकपल्ट त्यहाँ पुग्ने नेताले उनलाई लालपुर्जा दिने आशा देखाएका थिए उनलाई। गंगामाया पनि खुसी भएर उनै नेतालाई भोट दिइन्। तर ३० वर्षदेखि गंगामायालाई देखाएको आशा पूरा गरेका छैनन् माडी क्षेत्रका नेताहरूले। 

चुनावको वेला भोट माग्दै स्थानीयको खुट्टा ढोग्न पुग्ने नेताहरू जितेपछि बाँदरझुलामा फर्केर नआएको गंगामायाको गुनासो छ। नेताको बेवास्ताकै कारण गंगामाया मात्रै नभएर बाँदरझुलावासी कसैले लालपुर्जा पाएका छैनन्। न त उनीहरूले सुकुम्वासी परिचयपत्र नै पाएका छन्। ‘भोट भनेको यी हातले कति हालियो कति, धेरै नेतालाई जिताइयो, तर लालपुर्जा कसैले दिएनन्,’काठमाडौंमा न्याय माग्दै आएकी गंगामायाले भनिन्, ‘माडीका नेताहरू चुनावको वेला मात्रै घरमा आउँछन्, अरू वेला वास्ता नै गर्दैनन्।’ 

गंगामायाको ६ जनाको परिवार छ। उनका ४ जना छोराहरू त्यहीँ खेतीपाती गर्छन्। सरकारी जग्गामा खेतीपाती गर्दै गंगामायाको परिवारले उपभोग गरिरहेको छ। उक्त जग्गाबाट उत्पादन भएको खानेकुराले गंगामायाको परिवार पालिएको छ। अन्त जाने ठाउँ नभएकोले त्यही ठाउँमा नै आफूहरूलाई लालपुर्जा दिनुपर्ने गंगामायाको माग छ। तर नेताहरूले आश्वासन मात्रै दिइरहेको गंगामायाको गुनासो छ। 

गंगामाया त एक पात्र मात्रै हुन्। बाँदरझुलावासीको आफ्नै भूमि नहुँदा उनीहरू बेवारिसेजस्तै  छन्। आसपासको समुदायले पनि सुकुम्वासी भनेर हेप्ने गरेको उनी गुनासो गर्छिन्। ओहोरदोहोर गर्दा पनि समान रूपमा यातायात सुविधासमेत प्रयोग गर्न नपाएको बाँदरझुवावासीले बताए। त्यहाँका करिब ७ सय सुकुमवासी परिवार अन्धकारमा छन्। ‘हामीलाई सुकुमवासी भनेर कति ठाउँमा हेपेर बोल्छन्, गाडी चढ्नसमेत दिँदैनन्,’ गंगामायाले भनिन्, ‘त्यसैले हामीलाई लालपुर्जा चाहिन्छ।’ उनका अनुसार ठूलो बस्ती बसेको क्षेत्रमा बिजुली बत्तीसमेत पुगेको छैन। सरकारी निकायले सुकुमवासी बस्ती भनेर सामान्य सुविधा दिन खोज्दैनन्।‘ 

गंगामाया करिब ३० वर्षअघि त्यहाँ झरेकी थिइन, तनहुँको बन्दीपुरबाट। बन्दीपुरमा बसोबास गर्दै आइरहेको ठाउँमा पहिरो गएपछि गंगामायालाई सासूले बाँदरझुलामा लगेकी थिइन्। त्यसपछि गंगामायाको परिवार बाँदरझुलामै बस्दै आयो।  बाँदरझुला सरेपछि  बस्न सहज पनि भयो। सार्वजनिक जग्गा भए पनि सरकारी निकायले उनीहरूलाई अवरोध गरेन। विस्तार उक्त क्षेत्रमा गंगामाया जसरी नै आएर बसोबास गर्नेहरूको संख्या बढ्यो। ठूलो क्षेत्रमा नै मानव बस्ती बस्न थालेपछि उक्त क्षेत्रलाई सरकारले खाली गराउन खोजेको छ। तर ठूलो वस्ती स्थानान्तरणबिना उक्त ठाउँ खाली गराउन नसकिने अवस्था देखिएको छ। 


अनि काठमाडौं आइपुग्यो गंगामायाको टोली
न्याय पाइने भरोसामा गंगामायाको टोली यसअघि चितवन जिल्ला प्रशासन कार्यालय, माडी गाउँपालिकाको कार्यालय पुग्यो। पटकपटक धाउँदा पनि त्यहाँ उनीहरूको माग सम्बोधन भएन। जिल्लामा माग सुनुवाइ नभएपछि पीडित सुकुमवासी समुदाय अहिले काठमाडौं आइपुगेको छ। लामो समयदेखि खाइपिई आइरहेको जग्गाको लालपुर्जाको माग उनीहरूले गरेका छन्। गंगामायाले निकुञ्जलाई आफूहरूले कुनै अवरोध नगरेको बताइन्। निकुञ्ज र आफूहरू बसोबास गरेको क्षेत्र नजिक नभए पनि निकुञ्जले बिजुली बत्तीसमेत लैजान नदिएको गंगामायाको भनाइ छ। 

वि.सं. २०१८ सालदेखि बाँदरझुलामा बसोबास
बाँदरझुलामा करिब ७ सय घरधुरी छन्। तीमध्ये कसैको पनि आफ्नै नामको जग्गा छैन। सबै अन्यन्त्रैबाट बसाइँ  सरेर त्यहाँ पुगेका हुन्। विसं. २०१८ सालदेखि बाँदरझुला क्षेत्रमा बाहिरी मानिसहरू बसोबास गर्न थालेका थिए। उक्त जग्गा सरकारको नाममा छ। २०१८ सालअघि उक्त क्षेत्रमा नेपाली सेनाले केही क्याम्प खडा गरेका थिए। सेनाले क्याम्प छाडेर अन्तै गएपछि त्यस ठाउँमा बाहिरी मानिसहरू आएर बस्न थालेका थिए। 

थोरैथोरै गर्दै भरिए सुकुमवासी  
थोरैथोरै गर्दै करिब ४० वर्षको अवधिमा बाँदरझुला क्षेत्रमा बसोबास गर्ने सुकुमवासीको संख्या ७ सय पुगेको छ। तर, ठूलो मानववस्ती बसेको ठाउँमा सरकारी सेवा सुविधा भने निम्छरो छ। सुकुमवासी भनेर सरकारले पनि आफ्ना स्थायी कार्यालयहरू त्यहाँ लैजान सकेको छैन। बाँदरझुलामा एउटा सरकारी विद्यालय र एउटा स्वास्थ्य चौकी छ। यसबाहेक अन्य सरकारी सेवासुविधा पुगेको छैन।