१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ पौष ५ सोमबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटमा स्थानीयद्वारा प्रहरी कार्यालयमा ढुंगामुडा, क्रसर व्यवसायीको प्रभावमा दोषीलाई बचाउन खोजेको आरोप

Read Time : < 1 मिनेट
२०७८ पौष ५ सोमबार १५:१०:००

रौतहटको फतुवा विजयपुर नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा स्थानीयले ढुंगामुडा गरेका छन्। प्रहरीले दोषीलाई बचाउन खोजेको आरोपमा स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुडा गरेका हुन्।

ढुंगामुढा प्रहारबाट दुई प्रहरी घाइते भएका प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विश्वकर्माले जानकारी दिए। सो क्रममा तीन राउन्ड अश्रुग्यास र लाठी प्रहार गर्नुपरेको उनले बताए। प्रहरीको लाठी प्रहारबाट स्थानीय मुक्ति पटेलको टाउकोमा गम्भीर चोट लागेको छ। आइतबार राति टिपरको ठक्करबाट एक स्थानीयको ज्यान गएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरू प्रहरीसँग आक्रोशित भएका हुन्।

फतुवा विजयपुर– ११ हिमालीवासमा टिपरको ठक्करबाट मोटरसाइकलचालक खेदु चौधरीको मृत्यु भएको थियो। उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोस्टमार्टमका लागि शव पठाउनुपर्नेमा त्यसो नगरी इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विश्वकर्माले मनपरी गरेको आरोप लागेको छ। चालकले टिपर ब्याक गरी चौधरीलाई मारेको स्थानीयको आरोप छ।

परिवारको सहमतिबेगर इन्स्पेक्टर विश्वकर्माले टिपरधनी र चालकलाई जोगाउन घटनालगत्तै हतार गरेर राति ९ बजे पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको मृतकका भाइ टंइट चौधरीले बताए। पीडित परिवारसँगै सयौँको संख्यामा रहेका गाउँलेले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ बजेतिर प्रहरी कार्यालयमा ढुंगामुडा प्रहार गरेका हुन्।

अहिले प्रदर्शनकारीहरू प्रहरी कार्यालयअगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन्। धर्नाको अगुवाइ फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोले गरिरहेकी छिन्। इन्स्पेक्टर विश्वकर्माले स्थानीय क्रसर व्यवसायीको प्रभावमा परेर घटना सामसुम पार्न खाजेको स्थानीयले आरोप लगाएका छन्।