Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष ५ सोमबार ०८:१३:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

सिराहा र कैलालीमा दुई युवकको हत्या

Read Time : > 3 मिनेट
२०७८ पौष ५ सोमबार ०८:१३:००

दलित युवकको हत्यामा संलग्न पक्राउ नपरेसम्म शव नबुझ्ने पीडित परिवारको अडान


सिराहा र  कैलालीमा दुई युवकको हत्या भएको छ । दुई समूहबीच विवाद बढ्दै जाँदा सिराहाको गोलबजार नगरपालिका–६ मा छुरा प्रहारबाट एक दलित युवकको मृत्यु भएको हो । गोलबजार नगरपालिका–६ का १९ वर्षीय रामकुमार सदाको शनिबार साँझ छुरा प्रहारबाट मृत्यु भएको हो ।

उपचारका क्रममा धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । छुरा प्रहारबाट सोही ठाउँका १९ वर्षीय निकेश सदा गम्भीर घाइते भएको र उनको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न दोषीलाई २४ घन्टाभित्र कारबाहीको दायरामा ल्याउने प्रशासनको प्रतिबद्धतापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग करिब चार घन्टापछि खुलेको छ । स्थानीयले प्रहरीको लापरबाहीकै कारण दोषी उम्किएको भन्दै तत्काल दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, घाइतेको उपचारको व्यवस्था गरिने र मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति दिलाउन सिफारिस गर्ने सहमतिसँगै अवरुद्ध राजमार्गको जाम खुलेको हो । न्यायका निम्ति आफूहरूले राजमार्ग अवरुद्ध गरी आन्दोलन गर्नुपरेको भन्दै स्थानीय शिवकुमार सदाले आन्दोलनमा घुसपैठको सम्भावना र स्थानीय प्रशासनले लिखित प्रतिबद्धता जनाएपछि बन्द राजमार्ग खोलिएको बताए । 

गोलबजार नगरपालिका–६ दोहटियाका मुसहर समुदायका युवाहरू इँटाभट्टाबाट मजदुरी गरी गोलबजार हटिया पुगेका थिए । हटियाबाट शनिबार बेलुका तरकारी किनेर घरतर्फ फर्किँदै गर्दा बाटोमा युवाहरूको एक समूहसँग विवाद सुरु भयो । मदिरा सेवन गरेका युवाहरूले घरतर्फ फर्किदै गरेको १९ वर्षीय रामकुमार सदा, १९ वर्षीय निकेश सदालगायत ६ जनामाथि आक्रमणमा उत्रेका थिए । सोही समूहका दीपक साह, कालु विकलगायतले रामकुमार र निकेशमाथि छुरा प्रहार गरेको उनीहरूसँगै रहेका २० वर्षीय रिकेश सदाले बताए । ‘हामीमाथि आक्रमण भएपछि भागाभाग भयो,’ सदाले भने, ‘पछि गाउँबाट पुगेकाहरूले रामकुमारलाई ढलेको देखे । त्यसवेला उनीमाथि छुरा प्रहार भइसकेको थियो ।’

दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान

पीडित परिवारले रामकुमार सदाको शव नबुझ्ने अडान राखेका छन् । २४ घन्टाभित्र दोषी पक्राउ नपरेमा पुनः सडकजामसहितका आन्दोलनमा उत्रिने आफन्तले चेतावनीसमेत दिएका छन् । प्रशासनले दोषी पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएपछि मात्र शव बुझ्ने आफन्त शिवशरणले बताए । रामकुमारको शव पोस्टमार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष राईले घटनामा संलग्नलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले दोषीलाई कानुनी दायरामा ल्याउने र पीडित परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति दिन सिफारिस गर्ने सहमति भएको बताए ।

दास हत्या प्रकरण : फोन रेकर्डका आधारमा अनुसन्धान गर्दै प्रहरी

धनगढी : कैलालीको जानकी गाउँपालिकामा अर्जुन दासको हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरेको छ । अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेकामाथि थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

मोबाइल फोनमा भएको दुईजनाबीचको संवादमा आफूलाई मनोज भनेर चिनाएका युवाले आफूले एकजनाको घाँटी रेटेर हत्या गरेको बताएका छन् । जानकी गाउँपालिका–९, का २५ वर्षीय अर्जुन दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको हो । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शरीर कपडाले रूखमा बाँधेको र घाँटी छिनालेर टाउको अलग पारिएको अवस्थामा शनिबार दिउँसो दासको शव फेला परेको थियो । 

दासको हत्यापछि दुईजनाबीच फोन संवादको अडियो सार्वजनिक भएको छ । अडियोमा आफूलाई मनोज भनेर चिनाएका व्यक्तिले आफूले एकजनाको घाँटी छिनालेको खुलाएका छन् । फोनमा कुरा गर्ने अर्को व्यक्तिसँग उनले भनेका छन्, ‘सुमित भाइलाई एक झापड हान्दा, एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, टाउको अलग छ, शरीर अलग छ ।’ 
फोन संवाद गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । आफूलाई मनोज भनेर चिनाएर व्यक्ति मनोज भण्डारी रहेको र उनी दासको छिमेकी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । दासकी श्रीमतीले एकजना छिमेकीको फेसबुक म्यासेन्जरबाट अडियो प्राप्त गरेकी हुन् । 

शुक्रबार दिउँसोदेखि श्रीमान् बेपत्ता रहेको र छिमेकीसँग भएको हत्याको कुराकानीको फोन रेकर्ड पाएपछि आत्तिएकी उनी अडियो लिएर अमरावती प्रहरीचौकी पुगेकी थिइन् । अडियोबारे अनुसन्धान थाल्न नपाउँदै प्रहरीले सामुदायिक वनभित्र लास रहेको सूचना पाएको थियो । प्रहरीका अनुसार अडियोमा आफूलाई मनोज भनेर परिचित गराएका व्यक्ति दासकै छिमेकी हुन् । उनी अहिले फरार छन् । फोनमा संवाद गर्ने अर्को व्यक्ति र अडियो पठाउनेको पनि पहिचान भइसकेको र उनीहरू फरार रहेका प्रहरीले जनाएको छ ।

स्थानीयले शव उठाउन दिएनन्

कैलालीको जानकी गाउँपालिका–९, का दासको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले शव उठाउन दिएका छैनन् । आइतबार बेलुकीसम्म पनि उनको शव जंगलबाट उठाइएको छैन । दोषीलाई सार्वजनिक गर्न माग गरेर स्थानीयले शव उठाउन अस्वीकार गरेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । आइतबार दिनभर ठूलो संख्यामा स्थानीयबासीन्दा घटनास्थलमा जम्मा भएका थिए ।

सँगै हिँड्ने साथीको हत्या 

कास्की : आफूसँगै हिँड्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– ९ कुवापानीका अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित चिहानघाटमा रहेको ट्रसभित्र एक मानिसको शव फेला परेको थियो ।

शवको प्रारम्भिक अनुसन्धान गर्दा बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भई भिक्षा माग्दै हिँड्ने ५७ वर्षका शिव परियारको रहेको खुल्यो । मादक पदार्थ सेवनपछि परियार र बिकबीच आपसमा विवाद भएको र सोक्रममा बिकले कर्तव्य गरी मारेको भन्ने खुलेको तिवारीले जानकारी दिए । विकलाई आइतबार ज्यानसम्बन्धी कसुरअन्तर्गत अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।