मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत गोदाममा थन्किएको खाद्यान्न । तस्बिर : नरजन तामाङ\\\\\\\\नयाँ पत्रिका
दीपक अधिकारी हुम्लाबाट नरजन तामाङ
२०७८ पौष ५ सोमबार ०७:३८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालगन्ज र सुर्खेतका गोदाममै थन्कियो कर्णालीका सात जिल्लाको खाद्यान्न 

Read Time : > 3 मिनेट
दीपक अधिकारी, हुम्लाबाट नरजन तामाङ
२०७८ पौष ५ सोमबार ०७:३८:००
  • हुम्लाबाट नरजन तामाङ
  • सुर्खेतबाट रमेश रावल
  • जाजरकोटबाट हेमन्त केसी

कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख र जाजरकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न ढुवानी गर्दै आएको छ । यी सात जिल्लामा कम्पनीले चालू आर्थिक वर्ष ०७८/७९ मा ४० हजार सात सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर, हालसम्म ३९ सय ७० क्विन्टल मात्र ढुवानी भएको छ । सम्झौताअनुसारको खाद्यान्न लैजान नसकेपछि कर्णालीका सात हिमाली जिल्लाका खाद्यान्न नेपालगन्ज र सुर्खेतमै थन्किएको छ ।

कम्पनीले सुर्खेतबाट हवाईमार्गमार्फत ६ हजार क्विन्टल र नेपालगन्जबाट चार हजार क्विन्टल खाद्यान्न हुम्ला शाखामा ढुवानी गर्नुपर्ने थियो । तर, कम्पनीले महँगोमा ढुवानी प्रस्ताव गर्ने श्रीर्मिका एयर कार्गो सर्भिसलाई खाद्यान्न ढुवानीको जिम्मा दिँदा ढुवानी प्रभावित बनेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत २९ कात्तिकमा सूचना निकालेर श्रीर्मिका एयर कार्गो सर्भिसलाई १० हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का दिने निर्णय गर्‍यो । श्रीर्मिका एयरले नेपालगन्जदेखि हुम्ला सरदमुकाम सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो एक सय १२ रुपैयाँ र सुर्खेतबाट हुम्लाको सिमकोटसम्म एक सय पाँच रुपैयाँ कबोल गरेको थियो । बोलकबोलका क्रममा सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्जदेखि सिमकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबुलेको थियो ।

त्यस्तै, समिट एयरले सुर्खेत–सिमकोट प्रतिकिलो ९७ रुपैयाँ र नेपालगन्जदेखि सिमकोटमा प्रतिकिलो ८९ रुपैयाँ कबोल गरेको थियो । तारा एयरले प्रतिकिलो सुर्खेतबाट ७८.९० रुपैयाँ र नेपालगन्जबाट एक सय १० रुपैयाँमा ढुवानी गर्न सक्ने प्रस्ताव गरेको थियो । तर, कम्पनीले नेपालगन्जदेखि सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो एक सय १२ रुपैयाँ कबोल गर्ने श्रीर्मिका एयर कार्गो सर्भिसलाई ढुवानीको जिम्मा दियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगो भाडादर कायम गर्ने ढुवानीको जिम्मा दिएको भन्दै अन्य कम्पनीहरू पाटन उच्च अदालत गएका थिए । तर, १४ मंसिरमा उच्च अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता र अन्तरिम आदेश नदिएपछि महँगो कबुल गर्ने श्रीर्मिका कार्गोलाई ढुवानी गर्न अनुमति पाएको छ । श्रीर्मिका एयर कार्गो सर्भिसले सीता एयरमार्फत २७ र २८ मंसिरमा नेपालगन्जबाट हुम्लामा एक सय ६ क्विन्टल खाद्यान्न ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्ण अधिकारीले बताए । हालसम्म सुर्खेतबाट हुम्लामा हवाईमार्गबाट ३७ क्विन्टल र स्थलमार्गबाट ९० क्विन्टल खाद्यान्न ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले जानकारी दिए ।

जाजरकोटमा खाद्यान्न ढुवानी नै भएन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लामा हवाईमार्ग र स्थलमार्ग गरेर ११ हजार सात सय क्विन्टल, मुगुमा स्थलमार्गबाट १० हजार दुई सय ५० क्विन्टल, जुम्लामा तीन हजार क्विन्टल, डोल्पामा आठ हजार दुई सय ५० क्विन्टल, कालिकोटमा दुई हजार आठ सय क्विन्टल, दैलेख दुई हजार क्विन्टल र जाजरकोटमा दुई हजार सात सय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जसमध्ये हुम्लामा हवाईमार्ग र स्थलमार्गबाट गरेर तीन सय ५७ क्विन्टल, मुगुमा स्थलमार्गबाट एक हजार ६ सय २६ क्विन्टल, जुम्लामा चार सय ४० क्विन्टल, डोल्पामा ६ सय २० क्विन्टल, कालिकोट पाँच सय ४० क्विन्टल, दैलेखमा तीन सय ८६ क्विन्टल ढुवानी भएको छ । तर, अहिलेसम्म जाजरकोटमा खाद्यान्न ढुवानी भएको छैन ।

विगतमा चीनको नाका हुँदै खाद्यान्न ढुवानी हुँदै आएको थियो । तर, दुई वर्षयता कोभिडका कारण चीनको बाटो बन्द भएपछि दुनैबाटै चामल ढुवानी गरिँदै आएको छ । वर्षमा १५ दिनका लागि हाटबजार खुल्ने गरेको चीन र नेपालतर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ । 

खाली हुँदै डिपो र बिक्री केन्द्र

कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । जसकारण हुम्ला, डोल्पा, मुगु र जुम्लाका केही खाद्य संस्थान तथा डिपोमा खाद्यान्न ढुवानीमा समस्या भएको छ । हुम्लाको सर्केगाड डिपोमा एक हजार क्विन्टल, छाप्रेला बिक्री केन्द्रमा एक हजार क्विन्टल, देउली बिक्री केन्द्रमा पाँच सय क्विन्टल, खार्पुनाथ बिक्री केन्द्रमा पाँच सय क्विन्टल, नाम्खाको याल्वाङ बिक्री केन्द्र (काठमाडौं ढुवानी), मुगुको कालै बिक्री केन्द्रमा दुई हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । यस्तै, रातापानी बिक्री केन्द्रमा सात सय ५० क्विन्टल, डोल्पाको जुफाल बिक्री केन्द्रमा दुई हजार क्विन्टल, काईगाउँ बिक्री केन्द्र पाँच सय क्विन्टल, सहरतारा बिक्री केन्द्रमा एक हजार दुई सय ५० क्विन्टल, जुम्लाको धापा डिपोमा एक हजार क्विन्टल, कालिकोटको थिर्पु डिपोमा एक हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा हालसम्म यी स्थानमा खाद्यान्न ढुवानी हुन सकेको छैन । 

भारी हिमपात भएपछि उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– १ धोबाट फर्किएका खच्चडहरू । धोबाट सिमेन, तिन्जे र मरिम्लासम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसकी दुनैतर्फ फर्कदै गरेका खच्चड, चौंरीहरू । तस्बिर : हेमन्त केसी\नयाँ पत्रिका


खाद्यान्न ढुवानी नहुनुमा स्थानीय तह जिम्मेवारी भएको, कर्मचारीको अभाव र ठेकेदारहरूले कम मूल्यमा ढुवानी कबोल गर्ने र त्यहाँसम्म लैजान महँगो भाडा पर्ने भएकाले ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए । सुर्खेत–जाजरकोट हुँदै उपल्लो डोल्पामा गरिने खाद्यान्नको ढुवानीको मूल्य चामलको मूल्यभन्दा बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्छ । उपल्लो डोल्पाको सालदाङमा ३० केजी जिरा चामलको सात हजार, मोटा चामलको पाँच हजार र सोना चामलको पाँच हजार ६ सय रुपैयाँ कम्पनीले लिने गरेको छ । सुर्खेतदेखि धोसम्म चामल प्रतिकेजी ६५, धारगाउँमा ५६ र सालदाङमा ९० रुपैयाँ ढुवानी भाडा लाग्दै आएको छ ।

सबैभन्दा बढी सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा तिर्नुपर्छ । जब कि चामलको मूल्य ३० केजीको प्रतिबोरा सात हजार रुपैयाँ छ । स्थानीय व्यापारीले ३० केजी चामलको बोरालाई ‘धो’मा ६ हजार र ‘तिन्जे’मा सात हजार रुपैयाँ लिने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । 

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ । चामल ढुवानीको जिम्मा लिएको ठेकेदारले तोकिएको समयमा उपल्लो डोल्पामा चामल ढुवानी नगर्दा समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । 

विगतमा चीनको नाका हुँदै खाद्यान्न ढुवानी हुँदै आएको थियो । तर, दुई वर्षयता कोभिडका कारण चीनको बाटो बन्द भएपछि दुनैबाटै चामल ढुवानी गरिँदै आएको छ । वर्षमा १५ दिनका लागि हाटबजार खुल्ने गरेको चीन र नेपालतर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ । सुर्खेतबाट उपल्लो डोल्पामा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पुर्‍याउने गर्छ । व्यापारीले भने दुनैबाट उपल्लो डोल्पासम्म प्रतिकेजी ८८ रुयैयाँदेखि एक सय रुपैयाँमा ढुवानी हुने गर्दै आएका छन् । जसकारण निजी क्षेत्रले उपल्लो डोल्पामा प्रतिकेजी दुई सय ४० रुपैयाँसम्म चामल किनेर खानुपर्ने बाध्यता छ ।