१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ पौष २ शुक्रबार ०९:०८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडीमाथिको कारबाहीले क्यानमा चर्कियो विवाद

Read Time : > 2 मिनेट
२०७८ पौष २ शुक्रबार ०९:०८:००

नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडमाथि कारबाही गरेपछि क्यानमा विवाद चर्किएको छ । केही पदाधिकारी सुनियोजित रूपमै खेलाडीमाथि कारबाही गर्ने उद्देश्यका साथ प्रस्तुत भएको क्यानका केही बोर्ड सदस्यहरूले आरोप लगाएका छन् ।

छुम्बी लामा केन्द्रीय सदस्य, क्यान : अन्यायपूर्ण ढंगले खेलाडीमाथि कारबाही गर्ने निर्णय भएको छ  । क्यानले त्यसलाई सच्याउनुपर्छ । 

तर, क्यानले भने नियमअनुसारै खेलाडीमाथि कारबाही गरिएको दाबी गरिरहेको छ । श्रेणी वर्गीकरणको विषयमा खेलाडीले मिडियामा अभिव्यक्ति दिएपछि क्यानले दुईपटक स्पष्टीकरण लिएको थियो । दुवैपटकको स्पष्टीकरण चित्तबुझ्दो नहुँदा क्यान बोर्ड बैठकले बुधबार ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीलाई कारबाही गर्‍यो ।

बोर्डले मल्लको कप्तानी र दीपेन्द्रसिंहको उपकप्तान जिम्मेवारीसमेत खोस्यो । लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका दशौँ कप्तानका रूपमा चयन गर्‍यो । बोर्डले कप्तान र उपकप्तान खोस्नुका साथै खेलाडीको सम्झौता (कन्ट्याक्ट) रद्द गर्‍यो । जसका कारण उनीहरूले २०२२ को प्रारम्भिक ६ महिनाको तलब नपाउने भएका छन् ।

कारबाही गरेको दोस्रो दिन बिहीबार विभिन्न सोसियल मिडियामा यसको विरोध भइरहेको छ । यसैबीच क्यानले खेलाडीमाथि कारबाही गर्ने निर्णयप्रति खेलाडीहरूले इन्स्टाग्रामको स्टोरीमा राखेका छन् । खेलाडीले ‘आई एम डन’ भनेर पोस्ट गरेका छन् । सामाजिक सञ्जालमा विरोध जनाउनेमा करण केसी, कुशल भुर्तेल, अभिनाश बोहरा, रोहितकुमार पौडेल र विनोद भण्डारी छन् । बुधबार बोर्ड बैठकमा कारबाही गर्नुपर्ने र नगर्न नहुने पक्षबीच चर्को विवाद चलेको थियो । बोर्डले बहुमत आधारमा चार खेलाडमाथि कारबाही नै गर्‍यो । खेलाडीमाथिको कारबाही गर्ने क्यानको निर्णय अन्यायपूर्ण भएको र यसलाई सच्याउनुपर्ने केन्द्रीय सदस्य छुम्बी लामाले नयाँ पत्रिकालाई बताएका छन् ।

‘एक दशक लामो नेपाली टोलीलाई इमानदारपूर्वक योगदान दिएका खेलाडीमाथि क्यानले अपमानजनक र अन्न्यापूर्ण व्यवहार गरी कारबाही गरेको छ,’ लामाले भने, ‘एकपटक पनि संवाद र मौका नदिएर कप्तानी र उपकप्तानबाट हटाइनुलाई नियोजित रूपमै लिएको छु ।’ लामाले क्यानको यस निर्णयलाई पूर्ण रूपमै अपरिपक्वताको संज्ञा दिएका छन् । ‘जुन निर्णय भएको छ, त्यो क्यानको अपरिपक्वता नै हो,’ उनले भने, ‘यस किसिमको निर्णयले नेपालको क्रिकेट विकास हुँदैन, खेलाडी र क्यान भनेको एक–अर्काका परिपूरक हुन् ।’ क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीलाई वार्ताको अवसर र दुईपटकसम्म गल्ती सच्याउने मौका दिएको जनाएका छन् ।

‘हामीले कारबाही गर्नुअघिसम्म खेलाडीसँग वार्ता गर्नुका साथै दुईपटक मौका दिएका थियौँ, पहिलो तथा दोस्रोपटकको स्पष्टीकरणमा उनीहरूले उल्टै क्यानलाई धम्कीपूर्ण जवाफ दिए,’ खेलाडीलाई अवसर दिएको भन्दै मल्लले भने, ‘बारम्बार सुध्रिने मौका दियौँ, तर एकपछि अर्को गरी आरोप लगाउँदै गए ।’ नेपालले सन् २०२३ मा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल ग्वालिफायर खेल्दै छन् । आइसिसीको महŒवपूर्ण प्रतियोगिताअघि क्यानको कारबाहीले ठूलो असर गर्ने लामाको भनाइ छ ।

प्रशान्तविक्रम मल्ल कार्यवाहक सचिव, क्यान : दुईपटक मौका दिएका थियौँ, पहिलो तथा दोस्रोपटकको स्पष्टीकरणमा उनीहरूले उल्टै क्यानलाई धम्कीपूर्ण जवाफ दिए 
 

‘अहिले हाम्रो ध्यान एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा हुनुपर्ने थियो, छनोट प्रतियोगितामा आयरल्यान्ड र ओमानजस्ता बलियो प्रतिद्वन्द्वी छन्, यतिवेला हामी त्यसको तयारीमा लाग्नुपर्ने थियो, तर क्यान त्यसतर्फ नगई खेलाडीलाई कारबाही गर्नतिरै लाग्यो,’ लामाले भने, ‘यसले खेलाडीमाथि ठूलो असर गर्छ ।’ लामाले खेलाडीहरूको अभिभावक भएको र क्यानले अभिभावकत्व ग्रहण नगरेको आरोप लगाएका छन् ।

‘क्यान सबै खेलाडीको अभिभावक हो, अभिभावकले आफ्ना बालबच्चाहरूको भविष्य नै बिगार्ने किसिमको काम गर्नुहुन्न, अभिभावक भएपछि खेलाडीसँग कुराकानी गर्नुपर्देन ?’ उनले भने, ‘जहाँ पनि समस्या र गल्ती हुने गर्छ, समस्याको समाधान कारबाही होइन, हामीसँग धेरै उपाय छन् ।’

तर, मल्लले भने क्यानको नियमअनुसारै खेलाडी कारबाहीमा परेको जनाए । संसारभरि नै क्रिकेट बोर्डले निर्णय गर्दा आफ्नो नियमअनुसारै गर्ने गरेको उनको भनाइ छ । ‘खेलाडीहरूले प्रत्येकपटक कन्ट्याक्ट गर्दा हस्ताक्षर गरेका हुन्छन्, त्यसमा के गर्नु हुने वा नहुने स्पष्ट उल्लेख छ, अनुशासन तोड्ने, नियमभन्दा बाहिर गतिविधि गर्दा कारबाही गर्न सकिने प्रावधान छ, हामीले यही नियमअनुसारै निर्णय गरेका हौँ, अभिभावकका रूपमा खेलाडीलाई दुई–दुईपटकसम्म मौका दियौँ, त्यसमा पनि उनीहरू सच्चिएर आएनन्,’ नियमसंगत रूपमै खेलाडी कारबाहीमा परेको उनले भने ।

खेलाडीको स्वतन्त्र रूपमा बोल्न पाउने र मिडियामा दिएको अभिव्यक्तिकै भरमा कारबाही गर्न नमिल्ने लामाको भनाइ छ । ‘खेलाडी स्वतन्त्र छन्, उनीहरू कसैका अधीन हुँदैनन्, खेलाडीहरूले केवल त्रिकोणात्मक सिरिजका पुरस्कार, वर्गीकरण, खेलाडीको बिमा तथा घाइते हुँदा रिह्याब उपलब्ध गर्नुपर्ने मात्र माग राखेका थिए, खेलाडीको यही सामान्य मागप्रति आक्रामक भई कारबाही गर्नुपर्ने अवस्था नै थिएन,’ उनले भने ।

यता, कार्यबाहक मल्लले खेलाडीको पद मात्र हटेको उनीहरूलाई खेल्न प्रतिबन्ध नगरेको स्पष्ट पारे । ‘क्यानले केवल खेलाडीलाई पदमुक्त मात्र गरेको हो, उनीहरूलाई खेल्नबाट वञ्चित वा प्रतिबन्ध लगाएको छैन ?’ प्रतिप्रश्न गर्दै मल्लले भने, ‘छिटै पोखरामा राष्ट्रिय टोलीको क्लोज क्याम्प बस्दै छ, यसमा सबै खेलाडी सम्मलित हुनेछन् ।’ मल्लले राष्ट्रका लागि योगदान र मिहिनेत गरेका खेलाडीको सधैँ सम्मान हुने बताए । ‘उहाँहरूकै मिहिनेतका कारण आज नेपाल यहाँसम्म आइपुगेको हो, उनीहरूको योगदान कसैले बिर्सेका छैनन्,’ खेलाडीको योगदान प्रशंसा गर्दै मल्लले भने, ‘तर, अनुशासन कसैले पनि उल्लंघन गर्न मिल्दैन नि ।’