१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
किरण दहाल काठमाडाैं
२०७८ पौष २ शुक्रबार ०७:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : दुई हजार २५ मतदाता, १४ मतदान केन्द्र 

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ पौष २ शुक्रबार ०७:२४:००

निर्वाचन आयोगले १९ सिटका लागि १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता संख्या र केन्द्र टुंग्याएको छ । आयोगले बिहीबार निर्वाचनको मतदाता संख्या र मतदान केन्द्र सार्वजनिक गरेको हो । 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ । आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कुल मतदाता दुई हजार २५ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य पाँच सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुख एक हजार चार सय ९३ जना रहेको आयोगले जनाएको छ । 

आयोगले सबै प्रदेशमा मतदानस्थल पनि तोकेको छ । प्रदेश १ मा दुईवटा मतदान स्थल÷केन्द्र छन् । अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थलभित्र दुई–दुईवटा मतदान केन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश २ का लागि जनकपुरस्थित महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदानस्थल तोकिएको छ । 

गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ ।

आयोगले निर्वाचनका लागि दल दर्ताको आह्वानसमेत गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न १० पुससम्मको समय दिएको छ । दर्ताका लागि दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी र सदस्य संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन, केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन मिति, सांगठनिक स्वरूपलगायतका जानकारी आवश्यक पर्ने आयोगले जनाएको छ । 

आयोगले यसअघि राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन हुनेछ । १९ पुसमा अन्तिम नामावली प्रकाशन हुनेछ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । मनोनयन फिर्ता लिनका लागि २४ पुसको समय छुट्याइएको छ । २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । र, १२ माघमा निर्वाचन हुनेछ ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछ भने १९ जनाका लागि निर्वाचन हुनेछ ।

एमालेलाई आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना सिट सुरक्षित गर्न कठिन हुने देखिएको छ । ६ वटा प्रदेशमा सत्ता–गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठबन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् ।