Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष १ बिहीबार ०९:५०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीमा एक दशकपछि खुल्यो हुलाकी राजमार्गको ट्रयाक

Read Time : > 1 मिनेट
२०७८ पौष १ बिहीबार ०९:५०:००

कैलालीको कैलारी गाउँपालिकास्थित वसन्ता जैविक मार्गमा हुलाकी सडकको ट्र्याक खुलेको छ । वन क्षेत्रको दुई किलोमिटर खण्डमा रूख कटान गरेसँगै ट्र्याक खोल्ने काम पूरा भएको हो । ट्र्याक खोलिएको सडकमा अहिले माटो रोलिङ गर्ने काम भइरहेको छ । 

सरकारले जैविक मार्गअन्तर्गत सडकखण्डमा पर्ने रूख कटानको आदेश नदिएपछि राजमार्ग निर्माण सुरु भएको दशकसम्म त्यहाँ ट्र्याक खुल्न सकेको थिएन । वसन्ताको पूर्व र पश्चिम दुवैतिरको खण्डमा कालोपत्रे भइसकेको छ । भारत सरकारको सहयोगमा सन् २०१० बाट काम सुरु भएर २०१४ मा हुलाकी राजमार्गको धनगढी–वसन्ता र शक्ति–भजनी खण्ड कालोपत्रे गरिएको थियो ।

वसन्ता जैविक मार्गमा हुलाकी सडक १८ किलोमिटर पर्छ । दुई किलोमिटर खण्डमा गत वैशाखमा रूख कटान गरिएको हो । बाँकी १६ किलोमिटर खण्ड एक वर्षअघि निर्माण गरिएको थियो । वसन्तामा ट्र्याक खुलेसँगै कैलालीमा हुलाकी राजमार्ग विस्तारको अवरोध हटेको छ । वसन्ताको अवरोधले धनगढीदेखि टीकापुरको शक्तिसम्म हुलाकी राजमार्ग जोडिन सकेको थिएन । ट्र्याक खुल्ने काम पूरा नभएकाले यो खण्डमा सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी छ ।

अहिले ट्र्याक खुलेको दुई किलोमिटर खण्ड आगामी चैत मसान्तसम्म कालोपत्रे गरिसक्ने गरी काम अगाडि बढेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए । यो खण्डमा राजमार्ग निर्माण गर्न ०७३ मै तुन्डी, प्रेरा, चन्द्रा एन्ड वसन्ता जेभीसँग सम्झौता भएको थियो । तर, सडकखण्डमा पर्ने एक सयवटा रूख कटानको आदेश नपाउँदा त्यहाँ काम सुरु हुन सकेको थिएन । अहिले भने अवरोध हटेकाले निर्धारित अवधिमै काम सम्पन्न गरिने निर्माण कम्पनीको दाबी छ ।

हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिकाको लालबोझीमा चार सय मिटर हुलाकी राजमार्ग कान्द्रा नदीले बगाएको छ । गत बर्खामा आएको बाढीले बगाएको बाटो पुननिर्माणको काम अझै सुरु भएको छैन । तटबन्ध निर्माण नहुँदा त्यहाँ सडक ग्राभेल मात्रै गरिएको थियो । इन्जिनियर मडैले कटानको जोखिम कायमै रहेकाले त्यहाँ ड्याम बनाएर मात्रै राजमार्ग निर्माण गरिने बताए । ड्यामको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत हुन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

धनगढीमा पनि क्याम्पस रोडदेखि भन्सारसम्मको साढे ६ किलोमिटर सडक कालोपत्रेको काम हालै सम्पन्न भएको छ । यो खण्डमा पनि सडकको क्षेत्राधिकारको विवादले लामो समयसम्म काम रोकिएको थियो ।