मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बुधबार प्रज्ञा प्रतिष्ठानमा कोइराला समूहले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको कार्यक्रम । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७८ पौष १ बिहीबार ०७:३५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजनीतिक एजेन्डा स्थापित भएको कोइराला समूहको निष्कर्ष : देउवासँग संघर्ष गर्दै आगामी महाधिवेशनको तयारी गर्ने रणनीति

Read Time : > 3 मिनेट
२०७८ पौष १ बिहीबार ०७:३५:००

महाधिवेशनमा सभापतिमा पराजित कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग संघर्ष गदै अर्को महाधिवेशनको तयारीको नीति अख्तियार गर्ने भएका छन् । बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला र उनको समूहको नेताले आगामी रणनीतिबारे जानकारी दिएका छन् । 

नेता कोइरालाले मतपरिणामलाई आफूले सहज स्वीकार गरेको र सभापति देउवासँग पार्टीमा तत्काल सहकार्य र संघर्षको माध्यमबाट अघि बढ्ने बताए । ‘आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनुभएको छ,’ उनले भने, ‘साढे पाँच वर्ष पार्टी जसरी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने सशक्त रूपले प्रस्तुत हुनेछौँ ।’ दोस्रो चरणको मतदानमा कोइराला देउवासँग पराजित भएका थिए । 

कोइरालाले महाधिवेशनबाट आफ्नो समूहको राजनीतिक एजेन्डा स्थापित भएको र अब १५औँ महाधिवेशनको तयारी आफ्नो लक्ष्य भएको बताए । ‘पराजयमा सबभन्दा राम्रो नेपाली कांग्रेसका लोकतन्त्रप्रेमी, कांग्रेसलाई माया गर्ने साथीहरू र आमजनताले हाम्रो टिमले लिएको कदमको विजयी सोच्नुभएको छ । यसकारणले पनि हामी विजयी भएका छौँ । हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ,’ कोइरालाले भने, ‘आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणका लागि लागिसकेको छु । आगामी अधिवेशनमा हामी सफलता प्राप्त गर्नेछौँ भन्ने विश्वास लिएको छु । भागबन्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ । हाम्रो काम गर्दै जान्छौँ । राजनीतिक यात्रा अब फेरि एकपटक नयाँ ढंगले सुरु गर्छु ।’

कोइरालालाई साथ दिएका नेताले महाधिवेशनसँगै आफ्नो समूहको एजेन्डा स्थापित भएको निष्कर्ष निकालेका छन् । कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका डा. मीनेन्द्र रिजालले महाधिवेशनसँगै आफ्नो समूह र एजेन्डा छुट्टिएको तर्क गरे । ‘महाधिवेशनसँगै सुन र पित्तल छुट्टिएको छ । निराश हुने कुरा छैन । बाँकी कांग्रेस पनि ठीक बाटोमा हिँड्ने कांग्रेस बनाइछाड्छौँ,’ रिजालले भने ।

त्यस्तै, सोही प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका नेता गगन थापाले आफ्नो समूहको विचार स्पष्ट रहेकाले पछिल्लो घटनाक्रमबाट विचारसँग हुन नसक्नेहरू बाहिरिएको तर्क गरे । ‘मध्यरातसम्म यही नेतृत्व भयो भने कांग्रेस डुब्छ भन्नेहरू एकाबिहानै त्यही नेतृत्व भएन भने बर्बाद हुन्छ भन्ने अवस्थामा कसरी पुगे ? अहिलेकै नेतृत्वलाई मत माग्नुपर्छ भन्दै गर्दा किन बदलिए ?’ उनले भने, ‘त्यो ६ घन्टाभित्र के बदलियो भन्ने प्रश्नले लखेट्छ ।’

त्यस्तै, उपसभापतिका उम्मेदवार बनेका नेता धनराज गुरुङले कोइरालाको पराजयसँगै आफ्नो विचार समूहको एजेन्डा अझै सान्दर्भिक बनेको जिकिर गरे । उपसभापतिकै अर्का उम्मेदवार नेता चन्द्र भण्डारीले १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तनको एजेन्डा स्वीकार नभए पनि आफ्नो विचार समूहका दृष्टिकोणहरू विलय नहुने बताए । त्यस्तै, नेता अर्जुननरसिंह केसी सभापतिको दोस्रो चरणमा देउवालाई सभापतिमा सघाउँदा मतपरिणाम आफ्नो पक्षमा नआए पनि विचार भने स्थापित भएको तर्क गरे । 

शेखर काेइराला

आन्तरिक लडाइँमा स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनुभएको छ । साढे पाँच वर्ष पार्टी जसरी बेथितिको हिसाबले चल्यो त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रूपले प्रस्तुत हुनेछौँ । निर्वाचन भएपछि कसैले जित्छ, कसैले हार्छ । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, कसो गर्‍यो, किन गर्‍यो भन्ने पनि मेरो मनमा छैन । किनभने पार्टीभित्रको कुरा हो ।

तर, यो पराजयमा सबभन्दा राम्रो नेपाली कांग्रेसका लोकतन्त्रप्रेमी, कांग्रेसलाई माया गर्ने साथीहरू र आमजनताले हाम्रो टिमले लिएको कदमको विजयी सोच्नुभएको छ । यसकारणले पनि हामी विजयी भएका छौँ । हाम्रो राजनीतिक मुद्दा र एजेन्डा स्थापित भएको छ । सँगसँगै युवा पुस्ताका लागि नेपाली कांग्रेसभित्र अवसरै–अवसर हामीले खोलिदिएका छौँ ।

म आजैदेखि नेपाली कांग्रेसको रूपान्तरणका लागि लागिसकेको छु । निरन्तर रूपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु । मेरा टिमका साथीहरू पनि तपाईंहरूको घरदैलोमा पुग्नुहुनेछ । आगामी अधिवेशनमा हामी सफलता प्राप्त गर्नेछौँ भन्ने विश्वास लिएको छु । हामी भागबन्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ । हाम्रो काम गर्दै जान्छौँ । मेरो राजनीतिक यात्रा अब फेरि एकपटक नयाँ ढंगले सुरु गर्छु । 

मिनेन्द्र रिजाल

महाधिवेशनमा नेतृत्व छान्ने क्रममा एउटा चिजचाहिँ पक्कै भएको छ । अप्ठेरोमा, कठिनाइमा, दुःखमा चरित्र पहिचान हुन्छ भनेर भनिन्छ । तातोमा सुन र पित्तल छुट्टिन्छ । अहिले त्यही सुन र पित्तल छुट्टिएको छ । निराश हुने कुरा छैन । बाँकी कांग्रेस पनि ठीक बाटोमा हिँड्ने बनाइछाड्छौँ । भित्र हौँ या बाहिर हौँ, चुनाव जितौँ या हारौँ, त्यसले फरक पर्दैन । सबै परिणाम आउन बाँकी छ ।

तपाईंहरूले दिएको मतअनुसारको जिम्मेवारी के हुन्छ टुंगो छैन । एउटा कुरा पक्कै हो शेखर कोइराला सभापति निर्वाचित हुनुभएको छैन, तर कांग्रेसको यो अभियानलाई टुंगोमा पुर्‍याउने, कांग्रेसलाई पुनर्जागरण गर्ने कुरामा शेखर कोइरालालाई एउटा बलियो जिम्मेवारी तपाईंहरूले दिनुभएको छ । त्यो जिम्मेवारी शेखर कोइरालाले कसरी पूरा गर्नुहुनेछ, त्यो अत्यन्त महत्वपूर्ण पाटो अब कांग्रेसको राजनीतिको पाटो हो । हामी संख्यामा भाग खोज्दैनौँ । विचारमा प्रतिनिधित्व हुनुपर्दछ । विचारमा प्रतिनिधित्व नहुँदासम्म कांग्रेस कांग्रेस रहँदैन ।

सभापति देउवालाई भन्न चाहन्छु–तपाईं विजयी हुनुभएको छ, यो एक्लैको होइन, सन्देशसहितको विजय छ । तपाईंलाई महाधिवेशनले जिम्मेवारी दिएको छ । तर, त्यो जिम्मेवारीसँगै ठूलो परिवर्तनको जिम्मेवारी पनि तपाईंको काँधमा दिएको छ । अब आउने परिवर्तन तपाईंमा र समग्र कांग्रेसमा देखिन्छ–देखिँदैन, परीक्षा त्यसैमा हुन्छ । 

धनराज गुरूङ

शेखर कोइरालाको मत अलिकति कम भयो होला । तर, हामी विचारले हारेका छैनौँ । विचारले जितेको छ, आस्थाले जितेको छ, निष्ठाले जितेको छ र सदाचारले जितेको छ ।

त्यसैले गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बिपी कोइरालाका रगतले मात्रै छोरो होइन । हामी सबै छोरा हौँ । हामी छोराका दाबेदार हौँ । निष्ठाका दाबेदारी हौँ । 

चन्द्र भण्डारी

१४औँ महाधिवेशनले धेरै कुरा सिकाएको छ । हामी परिवर्तनका लागि अगाडि बढेका थियौँ । पार्टीलाई सुधार्ने हाम्रो अभियान थियो । महाधिवेशनमा पार्टीमा नेतृत्व परिवर्तनलाई साथीहरूले स्वीकार गर्न सक्नुभएन ।

सभापतिमा पुनर्निर्वाचित शेरबहादुर देउवाजीलाई म आग्रह गर्न चाहन्छु कि उहाँले गुटको नेतृत्व गर्ने होइन । सिंगो पार्टीको नेता बन्नुहोस् ।

गगन थापा

कोही नेताप्रति आग्रह होइन, तर एउटा प्रश्न छ । त्यो प्रश्नको उत्तर भने हामी खोज्छौँ, खोजिरहन्छौँ । मध्यरातसम्म कांग्रेसको यो नेतृत्व भयो भने कांग्रेस डुब्छ, देश डुब्छ, लोकतन्त्र डुब्छ । कांग्रेस प्रजापरिषद् हुन्छ । तर, एकाबिहानै यो नेतृत्व भएन भने बर्बाद हुन्छ ।

त्यसकारणले गर्दा अहिलेकै नेतृत्वलाई मत माग्नुपर्छ भन्दै गर्दा किन बदलियो ? त्यो ६ घन्टाभित्र के बदलियो भन्ने प्रश्नले लखेट्छ । हाम्रोबीचमा छलफल गर्दैगर्दा एउटा समझदारीजस्तो थियो । नेतृत्व बदल्नुपर्छ भन्नेहरूलाई एकसाथ उभ्याउनुपर्छ भन्यौँ, सकेनौँ ।

तर, आज शेखर कोइरालाको मत कम आएको थियो, कोही अर्कोको बढी भने, कोइरालाले सभापति बदल्ने सन्दर्भमा दोस्रो मत ल्याउनेसँग उभिनै पथ्र्यो । हामी उभ्याएरै छाड्थ्यौँ । हामी प्रस्ट थियौँ, अहिले पनि छौँ । उत्तर समयले माग्छ, इतिहासले माग्छ । 

अर्जुननरसिंह केसी

हिजो के–के सौदाबाजी भएका छन्, त्यो भोलिका दिनमा देखिनेछन् । राजनीतिक अडान र नैतिकताले पनि शेखर कोइरालालाई समर्थन गर्नुपथ्र्यो । नेतृत्व परिवर्तनको एजेन्डामा सहमत हुन सकिन्थ्यो ।

देउवाको सफलतालाई आफ्नो झुन्डका लागि प्रयोग नगरून् । समग्र कांग्रेसका लागि प्रयोग गर्न सक्नुपर्छ । हामीले हारे पनि जितेका छौँ । एउटा विचारलाई स्थापित गरेका छौँ ।