मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष १ बिहीबार ०७:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं विश्वविद्यालयका एक हजार चार सय विद्यार्थी दीक्षित

शिक्षामन्त्री देवेन्द्र पौडेलले भने– मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डोर्‍याउने जिम्मेवारी विद्यार्थीको काँधमा छ

Read Time : > 1 मिनेट
२०७८ पौष १ बिहीबार ०७:००:००

काठमाडौं विश्वविद्यालय (केयू)को २७औँ दीक्षान्त समारोहमा एक हजार चार सय ४९ विद्यार्थी दीक्षित भएका छन् । बुधबार धुलिखेलमा सम्पन्न प्रथम चरणको दीक्षान्त समारोहमा विभिन्न संकायमा अध्ययनरत नेपाली र विदेशी विद्यार्थी दीक्षित भएका हुन् । जसमा स्कुल अफ आर्टस्का दुई सय ३४, स्कुल अफ एजुकेसनका एक सय चार, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ लका ४० जना विद्यार्थी छन् । 

त्यसैगरी, स्कुल अफ म्यानेजमेन्टका चार सय १९, स्कुल अफ मेडिकल साइन्सेजका ८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका छन् । यस वर्ष आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पिएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । केयूमा छात्र ४८ दशमलव ४५ प्रतिशत र ५१ दशमलव ५५ प्रतिशत छात्रा दीक्षित भएका छन् । 

दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलले दीक्षित विद्यार्थीको काँधमा मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डो¥याउने जिम्मेवारी रहेको बताए । विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको उनले बताए । मन्त्री पौडेलले नेपाली विद्यार्थी अध्ययन गर्न बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरण बनाउनुपर्ने धारणा राखे ।

उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयको पहिलेको विरासतलाई निरन्तरता दिँदै थप प्रगतिका लागि काम गर्ने बताए । उनले केयूमा एक हजार बेडको स्पेसियालिटी र सुपर स्पेसियालिटीको हस्पिटल बनाउने योजना रहेको जानकारी दिए । केयूमा अध्ययनरत विद्यार्थीमध्ये १० प्रतिशत विदेशी छन् । केयूमा बुधबार भएको दीक्षान्त समारोहमा एक सय २३ जना विदेशी विद्यार्थी दीक्षित भएका छन् । केयूमा युरोप, अमेरिकाबाट पनि विद्यार्थी आउने गरेका छन् । सबैभन्दा बढी भारतका ९७ विद्यार्थी छन् । माल्दिभ्सका १०, श्रीलंकाका नौ, अमेरिकाका दुई, बंगलादेशका एक, बेनिनका एक, रुसका एक, नेदरल्यान्डका एकजना विद्यार्थी दीक्षित हुँदै छन् । अहिले दीक्षित भएका विद्यार्थी संख्याको साढे ८ प्रतिशत हो । 

काठमाडौं विश्वविद्यालयका विदेश सम्बन्ध महाशाखाका सहनिर्देशक तथा सहप्रवक्ता डा. उद्धव प्याकुरेलले गत वर्षसम्म दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान माल्दिभ्स, बंगलादेशसहित अमेरिका, क्यानडा, बेलायत, जर्मनी, नर्वे, रसिया गरी ४६ देशका विद्यार्थी केयूबाट दीक्षित भएको जानकारी दिए । जाम्बियाका १८ र दक्षिण अफ्रिकाका १४ जनाले काठमाडौं विश्वविद्यालयबाट उच्च शिक्षा लिएका छन् ।

२७औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमका प्रमुख अतिथि डा. पंकज मित्तल थिइन् । एसोसिएसन अफ इन्डियन युनिभर्सिटिज (एआइयू)की महासचिव मित्तल कृषि तथ्यांकमा स्नातकोत्तर र विद्यावारिधि हुन् । सन् २००८ मा उत्तर भारतको पहिलो ग्रामीण महिला विश्वविद्यालयका रूपमा भगतफूल सिंह महिला विश्वविद्यालयको पहिलो उपकुलपति भएकी थिइन् । उनले आफ्नो कार्यकालमा गुरुकुललाई विश्वविद्यालयमा परिणत गराई ग्रामीण महिलाको सशक्तीकरणका लागि योगदान दिइन् । 

विद्यावारिधिमा दीक्षित हुनेमध्ये लामा सबैभन्दा कान्छो 
 दीक्षित भएकामध्ये डा. राम लामा सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् । उनले ३१ वर्षको उमेरमा हाइड्रोपावर मेकानिकल इन्जिनियर विषयमा विद्यावारिधि हासिल गरेका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका (साबिक मादनकुँडारी) वडा नं. ७, मादनमा जन्मिएका लामालाई विश्वविद्यालयका सहकुलपति पौडेलले पिएचडीको प्रमाणपत्र प्रदान गरी दीक्षित गरे । 

‘मैले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा पिएचडी उपाधि हासिल गरेको हुँ, आज भएको उपाधि हासिल गर्नेमध्येमा म नै सबैभन्दा कान्छो हुँ,’ उनले भने, ‘सँगै उपाधि हासिल गर्नेमध्ये केही त मेरा गुरुहरू नै हुनुहुन्छ ।’ चौरीदेउराली गाउँपालिका–७ स्थित स्वस्थानी निमाविमा कक्षा ८ उत्तीर्ण गरी सिर्जनशील जनता माविबाट ०६२ मा एसएलसी उत्तीर्ण गरेका उनी काठमाडौं विश्वविद्यालयमा आइएस्सी अध्ययनका लागि भर्ना भएका थिए । उच्च शिक्षा सबै छात्रवृत्तिमा अध्ययन गरेको उनले बताए । हाल उनी काठमाडौं हाइड्रो सोलुसन प्रा.लि. र काठमाडौं इलेक्ट्रिक प्रा.लि.का कार्यकारी अध्यक्ष पनि हुन् ।