१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ पौष १ बिहीबार ०६:५२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस, माओवादी र नेकपा एसमाथि ओलीका संगीन आरोप

प्रचण्ड–ज्ञानेन्द्र साँठगाँठमा १९ माघमा प्रतिगामी कदम, माधवको विदेशीसँग कनेक्सन, कांग्रेस अस्थिरताको औजार

Read Time : > 3 मिनेट
२०७८ पौष १ बिहीबार ०६:५२:००

दुवैपटकका संसद् विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उल्ट्याइदिएपछि सत्ताबाट बहिर्गमन भएका एमाले अध्यक्ष केपी ओलीले सुरु गरेको आरोपको शृंखला अहिले पनि जारी छ । मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउने बुधबारको कार्यक्रममा पनि ओलीले सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि संगीन आरोप लगाएका छन् । सत्ताबाट बहिर्गमन भएपछि ओली प्रचण्ड र माधव नेपालप्रति रुष्ट बनेका छन् ।

ओलीले सबैभन्दा संगीन आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगाएका छन्, तर त्यसको प्रमाणित तथ्य भने पेस गरेका छैनन् । प्रचण्डसँगकै सहमतिमा पूर्वराजा ज्ञानेन्द्र शाहले १९ माघ ०५९ मा निरंकुश प्रतिगामी कदम चालेको ओलीको आरोप छ । यतिसम्म कि ओलीले तत्कालीन राजा शाह र विद्रोही नेता प्रचण्डबीच पा“चबु“दे सहमति भएको समेत दाबी गरेका छन् ।

‘ज्ञानेन्द्रले उधुम मच्चाउँदाको कुरा तपाईंलाई बताऊँ, प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिसाथ त्यो उपद्रव भएको थियो । त्यसपछि ०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच पाँचबुँदे सहमति गरेर के भएको थियो ? कि ज्ञानेन्द्रले, कि प्रचण्डले भन्नुपर्‍यो नि, कसका विरुद्ध सहमति भएको थियो ? के सहमति भएको थियो ?’ मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा ओलीले भने । सहमति भएको दाबी गरेका ओलीले विषयवस्तुबारे भने ज्ञानेन्द्र र प्रचण्डले भन्नुपर्ने तर्क गरे ।

ओलीले त्यही सहमतिका आधारमा ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन चलाएको पनि दाबी गरेका छन् । ‘सहमतिले गर्दा देशव्यापी रूपमा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए । लोकतान्त्रिक शक्तिले रुकुम र रोल्पामा पाइला टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेता मारिने, ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौंमा देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत,’ ओलीले भने । प्रचण्डले भने ओली गणतन्त्र र परिवर्तनप्रति अनुदार रहेको आरोप लगाउने गरेका छन् ।

प्रचण्डले प्रतिक्रियावादीसँग साँठगाँठ गर्दै आएकै कारण अहिले पनि देशले अस्थिरताको मार खेपिरहेको ओलीको थप आरोप थियो । ‘बाहिर क्रान्तिका, राष्ट्रियताका, परिवर्तनका कुरा गर्ने र भित्रभित्रै प्रतिक्रियावादीसँग साँठगाँठको सिकार नेपाल हुँदै गयो । हामीले अहिले पनि त्यसको मार खेपिरहेका छौँ,’ ओलीले भने, ‘केही स्वार्थी मान्छे त्यसैका पछि कुदिरहेका छन्, त्यसलाई जनदबाब र जनआन्दोलनबाट सच्याउनुपर्नेछ ।’

ओलीले प्रचण्ड विदेशीहरूको नियन्त्रित अस्थिरताको औजार बनिरहेको समेत आरोप लगाउँदै ओलीले माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई त्यसैको उदाहरणका रूपमा व्याख्या गरे । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्थिरताको संवाहक रहेको र विदेशी शक्तिसँगको कनेक्सनमा सञ्चालित हुने गरेको गम्भीर आरोप लगाए । ‘कतिपय शक्ति (भारत)ले नियन्त्रित अस्थिरता नेपालको सन्दर्भमा खुला नीति हो भनिराखेका छन् । त्यसैका लागि काम गर्ने नियन्त्रित अस्थिरताका संवाहक शक्ति यहाँ (नेपालमा) छन् ।

अहिले ती शक्तिमा सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी छन्,’ ओलीले आरोप लगाए, ‘सबभन्दा अस्थिरताका संवाहक तिनै हुन्, यसमा कुनै भ्रम राख्नुपर्दैन । अझै कतिपय साथीमा कम्युनिस्ट एकता भन्ने छ । यस्ता अस्थिरताका शक्तिहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भवै छैन । हामीले राम्ररी चिनिसकेका छौँ, तिनको कनेक्सन कहाँ छ ? तार कहाँ जोडिएको छ ? कहाँबाट स्विच अन–अफ हुन्छ, हामीले देखेका छौँ, छर्लंगै देखेका छौँ ।’

 कांग्रेस अस्थिरताको औजार
प्रचण्ड र नेपालमाथि संगीन आरोप लगाएका ओलीले सत्तारुढ दल कांग्रेसलाई पनि छाडेनन् । ओलीले कांग्रेस पनि नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउने शक्ति रहेको आरोप लगाए । विगतमा जस्तै अहिले पनि कांग्रेस अस्थिरताको औजार बन्दै आएको उनको भनाइ थियो । यतिसम्म कि ओलीले कांग्रेसकै कारण देशमा ०१७ साल, ०५९ साल निम्तिएको आरोप लगाए र उसले गलत बाटो लिए देशमा प्रगितामी कदम चालिने खतरा रहेको औँल्याए ।

‘नेपाली कांग्रेसको इतिहास सधैँ बाहिरबाट हतियार ल्याउने, बाहिरकै सहयोग र समर्थनमा जे गर्न पर्छ गर्नेछ । ००७ सालमा भागेका राजा त्रिभुवनले दिल्लीबाट क्रान्ति गरेको भनेको कांग्रेसलाई बच्चो जसरी च्यापेर ल्याए । मोहनशमशेर राणा नै प्रधानमन्त्री भए,’ ओलीले भने, ‘त्यो उपयुक्त भएन भन्ने देशभक्त वामपन्थीहरू कोही काटिए, कोही मारिए, कोही जेल हालिए । डोटीको दक्षिणी भेगमा भीमदत्त पन्तलाई भारतीय सेना बोलाएर टाउको कटाइयो, दिल्ली सम्झौता धोका भन्नेहरू दमित भए ।’

कांग्रेस पुरानो लोकतान्त्रिक शक्ति भनिए पनि पटकपटक प्रतिगमनको मतियार बनेर देशभक्त वामपन्थी शक्तिमाथि जाइलाग्ने गरेको ओलीले आरोप लगाए । ‘अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने अनि देशभक्त र अग्रगामी, प्रगतिशील वामपन्थी शक्तिविरुद्ध जाइलाग्ने कांग्रेसको नीति रहिआयो,’ ओलीले भने, ‘हामी चाहन्छौँ– प्रतिगामी शक्तिको मतियार बन्ने गलत नीति र बाटो कांग्रेसले अवलम्बन गर्न छाडोस् । कांग्रेस नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउने शक्ति बन्यो ।’

 चन्दा नदिएपछि सेयर बजारमा हमला
ओलीले सेयर कारोबारीबाट चन्दा नपाएको झोकमा प्रचण्डले सेयर बजारमा हमला गरेको आरोप पनि लगाए । ‘साम्राज्यवाद विकसित भएपछि सेयर बजारमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस निकाले । दुई दिनमा सेयर बजार धराशायी भो,’ ओलीले भने, ‘त्यसको जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ ? आर्थिक स्थिति कस्तो हुन्छ ? अर्थतन्त्र कस्तो हुन्छ ? केही पनि मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला, त्यसो भएपछि लौ जा भनेर ठोक्दिए उनले.. चन्दा पनि दोषमा खनाइदिए । नरहे बाँस, न बाँसुरी भनेर ल जा त भनेर भाषण ।’

 सिसाको घरबाट ढुंगा हान्ने प्रयास ओलीलाई भारी पर्छ : जगन्नाथ खतिवडा, उपमहासचिव, नेकपा एस
मूलतः यो केपी ओलीको बर्बराहट मात्र हो । आफ्ना कमजोरी ढाकछोप गर्न विदेशी शक्तिलाई देखाउने नेपालीको आमचरित्र नै भएको छ, त्यसैले उनले आफ्ना कमजोरीलाई विषयान्तर गर्न त्यस्ता अभिव्यक्ति दिएका हुन् । ओली स्वयं संविधान, संसद् समाप्त पार्न लाग्ने, तर अरूलाई अस्थिरताको कारक देख्नेजस्तो कुर्तक केही हुन सक्दैन ।

सर्वोच्च अदालतले नै राजनीतिक स्वार्थका लागि संसद् विघटनको कदम चालिएको भनिसकेको सन्दर्भमा अरूलाई आरोपी बनाउनु गुम्दै गएको साखको तनाव कम गर्न हुन सक्छ । त्यसैले सिसाको घरमा बसेर ढुंगा हान्ने प्रयत्न उनलाई नै भारी पर्न सक्छ । विदेशी शक्तिसँग कसैको कनेक्सन छ भने बाहिर ल्याए त्यो देशकै लागि हितको विषय हुनेछ । यो गम्भीर आरोपबारे पार्टीको सचिवालय बैठकले नै आधिकारिक धारणा बनाउनेछ ।