मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:३६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बालबालिकाका लागि नयाँ गन्तव्य : वान डे थ्रिडी आर्ट म्युजियम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:३६:००

सफा र फराकिलो कम्पाउन्ड । मूल गेटबाट भित्र पस्नासाथ दायाँतिर एउटा चिटिक्कको घर । घरको बाहिरी भित्तामा देखिने आकर्षक कलाकारिता । वान डे थ्रिडी आर्ट म्युजियमको मूल गेटबाट भित्र पस्दै गर्दा यस्तै दृश्य देखिन्छ । मोक्षदा स्कुल लेखिएको पहेँलो बसबाट स–साना विद्यार्थी लामबद्ध भएर झर्दै थिए । सबै निकै उत्साहित देखिन्थे । म्युजियमका अध्यक्ष सुन्दर विष्ट र अन्य कर्मचारी विद्यार्थीको स्वागत गर्दै थिए । उनीहरूले विद्यार्थीलाई १५–१५ जनाको समूहमा विभाजन गरी पालैपालो भित्र लगे । भित्र पस्नासाथ विद्यार्थी उत्साहले चिच्याउँदै यता र उता दौडिन थाले । साथमा आएका शिक्षक, शिक्षिका र म्युजियमका कर्मचारीले उनीहरूलाई लामबद्ध भएर पालैपालो विभिन्न चित्रका अगाडि विभिन्न पोजमा उभिन, बस्न र हिँड्न सिकाए । उनीहरूले रमाउँदै खुरुखुरु त्यसै गरे । म्युजियमका कर्मचारी र शिक्षक–शिक्षिकाले उनीहरूका तस्बिर र भिडियो खिचे । 

विद्यार्थीले किङकङको मुठीमा च्यापिँदा निकै डराएको अभिनय गरे । चिप्लेटीमा रमाए । पोखरीमाथिको पिर्के पुल पार गरे । सिंहलाई सिक्रीमा समातेर ताने । लुम्बिनीको मायादेवी मन्दिरअगाडि उभिएर तस्बिर खिचाए । खोलाको बीचमा रहेका ढुंगामा बसेर ध्यान पनि गरे । समुद्री संसारको आनन्द पनि उठाए । सार्कको मुखमा फसेको आफ्नो साथीलाई तानेर बचाए । भालु, सिंह, बाघ, बाँदर, चितुवा, हात्ती, जिराफ आदिसँगै टाँसिएर फोटो खिचाए । उनीहरूले झन्डै तीन घन्टा यसैगरी हाँस्दाहाँस्दै, रमाउँदारमाउँदै बिताए । 

काठमाडौं उपत्यकामा स–साना बालबालिकालाई घुमाउन लाने भन्नासाथ स्कुल र अभिभावकको टाउको दुख्ने गर्छ । चिडियाखाना कतिपटक लाने ? छाउनीतिर भएका म्युजियम लाँदा स–साना कक्षाका विद्यार्थीले खासै मन नपराउने । फन पार्क पनि प्रायः गई नै सकेका हुने भएकाले नयाँ ठाउँको खोजी हुनु स्वाभाविक हो । यसको भरपर्दो विकल्प बन्न सक्छ, ललितपुरको इमाडोलमा रहेको वान डे थ्रिडी आर्ट म्युजियम । 

म्युजियमका संस्थापक अध्यक्ष सुन्दर विष्टले थाइल्यान्ड गएको समयमा त्यहाँ देखेका थिए, यस्तो थ्रिडी आर्ट म्युजियम । आफूमा पनि चित्रकारिताको धेरथोर ज्ञान र रुचि भएका कारण उनले नेपाल फर्किनासाथ थ्रिडी आर्ट म्युजियमको परिकल्पना गरे । उनले दक्ष चित्रकारहरूको व्यावसायिक समूह तयार गरेर काम सुरु गरे । सुरुमा उनले ललितपुरको कुमारीपाटीमा थ्रिडी रेस्टुरेन्ट सञ्चालनमा ल्याए । रेस्टुरेन्टमा आफूहरूले कला र खानाको संयोजन गरेको विष्ट दाबी गर्छन् । रेस्टुरेन्ट सञ्चालनसँगै उनले थ्रिडी आर्ट म्युजियमको तयारी पनि सुरु गरे । लकडाउनभर १२ देखि १५ कलाकारले दैनिक १५ घन्टासम्म खटेर नौ महिनामा तयार गरे थ्रिडी आर्ट म्युजियम ।