मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
श्रीलंकाविरुद्ध जित हासिल गरेपछि नेपाली महिला फुटबल टोली ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ : श्रीलंकामाथि नेपालको सानदार जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १ बिहीबार ०६:३२:००

यू–१९ दक्षिण एसियाली खेलकुद फुटबल (साफ) महिला फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार सानदार जित निकालेको छ । नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्दै च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपालले घरेलु टोली बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो । जितसँगै नेपालले दुई खेलबाट चार अंक बनाएको छ । समान चार अंक नै रहे पनि नेपाल गोलअन्तरमा बंगलादेशभन्दा पछि छ । श्रीलंकाले तीन खेल खेल्दा पनि अंक तालिकामा खाता खोल्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटानसँग तथा दोस्रो खेलमा भारतसँग समान ५–० ले पराजित भएको थियो ।

राउन्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सानदार जित निकाल्ने क्रममा रश्मिकुमारी घिसिङले दुई गोल गरेकी थिइन् । यसैगरी, सविता रानामगर, मेनुका आलेमगर, रजनी थोकर र सलोनी रानामगरले समान एक गोल गरे । बंगलादेशको ढाकास्थित सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले खेलको पाँचौँ मिनेटमै अग्रता लिएको थियो । रश्मिले श्रीलंकाको कमजोर डिफेन्स तोड्दै नेपाललाई पहिलो गोलको अग्रता दिलाइन् । खेलको ११औँ मिनेटमा सविताले नेपाललाई २–० को स्थितिमा राखिन् । मध्यान्तर हुनु तीन मिनेटअघि मेनुकाले नेपाललाई ३–० को बलियो अवस्थामा पुर्‍याइन् । 

दोस्रो हाफमा पनि नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । खेलको ४८औँ मिनेटमा रजनीले नेपाललाई ४–० ले अघि बढाइन् । खेलको ५३औँ मिनेटमा सलोनीले व्यक्तिगत एक गोल गर्दा नेपालले ५–० को फराकिलो अग्रता लिएको थियो । सलोनीको गोलपछि श्रीलंकाले डिफेन्स बलियो बनाएको थियो । श्रीलंकाले नेपाली खेलाडीलाई गोल गर्न नदिन रक्षात्मक रणनीति अपनाएको थियो । तर, नेपालले खेलको ८५औँ मिनेटमा ६–० का लागि गोल गर्न सफल भयो । यसपटक रश्मिले व्यक्तिगत दुई गोल गर्दा नेपालले श्रीलंकालाई आधा दर्जन गोलले हरायो । गोल गर्दै नेपालको फराकिलो जित पक्का गरिन् ।