Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2020
ad
२०७५ फाल्गुण २१ मंगलबार ०७:३७:००
अर्थ

कोरियाबाट मात्रै वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ

औपचारिक प्रणालीबाट रेमिट्यान्स भित्रने प्रवृत्ति बढ्दो, लागत बढी भएको कामदारको गुनासो 

२०७५ फाल्गुण २१ मंगलबार ०७:३७:००

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ (सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददरअनुसार) भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ करोड रुपैयाँले कम हो । रोजगारका लागि दक्षिण कोरिया पठाउने सरकारको आधिकारिक निकाय ‘इम्प्लोइमेन्ट परमिट सिस्टम (इपिएस) शाखा कार्यालयअनुसार दक्षिण कोरियामा नेपाली कामदारले प्रत्येक वर्ष न्यूनतम ६३ अर्ब रुपैयाँ कमाइ गरिरहेका छन् ।

त्यसो हुँदा बैंकिङ प्रणालीबाट नेपाल भित्रिने र कामदारले कमाइ गरेको रकमको अन्तर ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । अन्तर देखिएको सोही रकम हुन्डीमार्फत नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले समेत यो तथ्यलाई स्वीकार गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाका अनुसार दक्षिण कोरियाबाट ठूलो परिणामको रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिन्छ । करिब २५–३० प्रतिशत रकम मात्रै औपचारिक प्रणालीबाट आउने गरेको उनले बताए । उनले भने, ‘सुरु–सुरुमा त २–३ प्रतिशत रकम मात्रै बैंकिङ प्रणालीमार्फत भित्रन्थ्यो अहिले केही बढे पनि धेरै इन्फर्मल च्यानलबाट आउने गर्छ,’ उनले भने, ‘कोरियामा नेपालीले गर्ने आम्दानीलाई अझै पनि पूर्णरूपमा औपचारिक माध्यममार्फत भिœयाउन सकिएको छैन ।’

यस कारण हुन्छ हुन्डी 
रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट रेमिट्यान्स नेपाल पठाउँदा झन्झटिलो तथा लागत पनि बढी हुने धेरैले हुन्डी प्रयोग गर्ने सरोकारवाला बताउँछन् । अहिले पनि रेमिट्यान्स कम्पनीले कोरियाका केही वाणिज्य बैंकमा मात्रै खाता खोल्न पाएका छन् । उनीहरूले चाहिएजति वाणिज्य बैंकमा खाता खोल्न नसक्दा रेमिट्यान्स पठाउन समस्या भएको तथा लागत पनि उच्च भएको नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए । यसैको फाइदा हुन्डी करोबारीले उठाएका छन् ।

यहाँ प्रयोग हुन्छ, हुन्डीको रकम ?
प्रहरीको तथ्यांकअनुसार दक्षिण कोरियामा हुन्डी करोबारीले पहिलो चरणमा कमाइ गरेको रकम नेपाल पठाउन लागेका कामदार पहिचान गर्छन् । उनीहरूलाई सस्तो र सजिलो तवरले रकम नेपाल पठाउन सकिने विश्वास दिलाउँछन् । सोही आधारमा कामदारले कमाइको रकम कारोबारीलाई दिन्छ । उक्त रकम कारोबारी आफैँले प्रयोग गर्छ । एता नेपालमा भने कारोबारीको छुट्टै एजेन्ट हुन्छ । सोही एजेन्टले कामदारको आफन्तलाई कोरियामा लिएबापतको रकम नेपालमै उपलब्ध गराउँछ । कारोबारीले यसरी संकलन गरेको रकम भने हङकङ, दुबई र चीन पठाउँछ ।

यस्तो अधिकांश रकम सुन तस्करीका लागि प्रयोग गरिन्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय स्तरका रियल स्टेटमा पनि प्रयोग हुन्छन् । त्यस्तै, नेपालमा आयात हुने मालवस्तुको रकम तिर्नसमेत सो रकम प्रयोग हुन्छ र ती मालवस्तु न्यून बिजकीकरण गरेर नेपालमा आयात हुन्छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले यस्ता रकम सुन तस्करी र रियल स्टेटमा प्रयोग हुने गरेको जानकारी दिए । उनले भने, ‘हुन्डीमार्फत प्रयोग भएको अधिकांश रकम सुन तस्करीमा प्रयोग भएका छन्, दुबईको हकमा त यो पुष्टि पनि भएको छ, अर्को रियल स्टेटमा पनि प्रयोग हुन्छन् यसमा अनुसन्धान हुन जरुरी छ ।’

औपचारिक प्रणालीबाट रेमिट्यान्स भित्रने प्रवृत्ति बढ्दो
सन् २०१७ भन्दाअघि कोरियाबाट नेपालमा बैंकिङ प्रणालीबाट मात्रै रेमिट्यान्स पठाउन सकिन्थ्यो । त्यसअघि रेमिट्यान्स कम्पनीमार्फत हुन्डी गर्न मिल्दैनथ्यो । तर, बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन झन्झटिलो थियो । त्यसपछि कोरियन सरकारले रेमिट्यान्स कम्पनीले सेवा सञ्चालन गर्न सक्ने नीति लियो । २०१७ पछि कोरियाको केन्द्रीय बैंकले रेमिट्यान्स कम्पनीहरूलाई लाइसेन्स दियो । २०१८ देखि नेपालीले रेमिट्यान्स कम्पनीमार्फत नेपालमा पैसा पठाउन थाले । पछिल्ला तीन वर्षयता रेमिट्यान्स कम्पनीमार्फ नेपालमा रकम पठाउने प्रवृत्ति उत्साहप्रद रूपमा बढिरहेको रेमिट्यान्स एसोसिएसनका अध्यक्ष पोखरेल बताउँछन् । आगामी वर्षमा कोरियाको रेमिट्यान्स आय अझ बढ्ने उनले बताए । अहिले कोरियाबाट बैंक र रेमिट्यान्ससमेत गरी करिब १ दर्जन वित्तीय संस्थाबाट नेपालमा रेमिट्यान्स प्रवाह हुने गरेको छ ।

३५ हजार कामदारको बचत ६३ अर्ब 
इपिएस कार्यालयका अनुसार दक्षिण कोरियामा नेपाली कामदार सन् २००८ देखि जान लागेका हुन् । यसक्रममा जाने र फर्कनेक्रम जारी छ । कार्यालयका अनुसार अहिले कोरियामा नेपाली कामदार ३५ हजार छन् । त्यसमध्ये औद्योगिक मजदुरका रूपमा गएका अधिकांशको कमाइ प्रतिमहिना न्यूनतम २ लाख रुपैयाँ छ । त्यसबाहेक कृषि मजदुरहरूले न्यूनतम १ लाख ५० हजार रुपैयाँ कमाइ गर्छन् । यसरी कमाइ गर्ने कामदारले सरदरमा प्रत्येक महिना न्यूनतम १ लाख ५० हजार रुपैयाँ बचत गर्ने आधारमा उनीहरूले प्रत्येक वर्ष न्यूनतम पनि ६३ अर्ब रुपैयाँ बचत गर्छन् । जुन नेपाल भित्रिने रकम हो । तर, यी सबै रकम नेपाल सरकारको आधिकारिक प्रणालीमार्फत नेपाल आउँदैन । तथ्यांक विश्लेषण गर्दा दक्षिण कोरियामा कामदारले कमाउने कुल रकमको ३१ प्रतिशत मात्रै सरकारको आधिकारिक प्रणालीमार्फत नेपाल भित्रिन्छ । बाँकी ६९ प्रतिशत रकम हुन्डीमार्फत नेपाल भित्रिन्छ । इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनालले पनि दक्षिण कोरियाबाट कामदारले कमाउने ठूलो रकम हुन्डीमार्फत नेपाल भित्रिने बताए । उनले भने, ‘दक्षिण कोरियामा अहिले ३५ हजार नेपाली कामदारले महिनामा न्यूनतम पनि १ लाख ५० हजार बचत गर्छन् । 

अझै ७० प्रतिशत रकम हुन्डीबाट आउँछ
-भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख, नेपाल राष्ट्र बैंक 

पछिल्लो समय कोरियाबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रने प्रवृत्ति बढ्दो छ । कोरियाले रेमिट्यान्स कम्पनीलाई सेवा सञ्चालनको अनुमति दिएपछि र उनीहरूले बल्कमा रेमिट्यान्स प्रवाह गर्न थालेपछि औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रने क्रम बढेको हो । यद्यपि, अझै पनि कोरियामा ७० प्रतिशत रकम हुन्डीबाटै नेपाल भित्रने गरेको छ । 

कोरियाको बैंकमा खाता खोल्न नपाउँदा समस्या
 -सुमन पोखरेल, अध्यक्ष,  नेपाल रेमिटर्स एसोसिएसन 

रेमिट्यान्स कम्पनीले कोरियाका केही वाणिज्य बैंकमा मात्रै खाता खोल्न पाएका छन् ।  चाहिएजति बैंकमा खाता खोल्न नसक्दा रेमिट्यान्स पठाउन समस्या भएको छ भने लागत पनि उच्च हुन्छ । यसैको फाइदा हुन्डी कारोबारीले उठाएका छन् ।