१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:५६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इच्छाराजविरुद्ध नयाँ उजुरी  थपियो, छानबिन गर्दै प्रहरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार ०६:५६:००

सिभिल सहकारीको साढे पाँँच अर्ब ठगी प्रकरण 

सिभिल सहकारीमार्फत सर्वसाधारणको पाँँच अर्ब ६४ करोड ठगीको अभियोग खेपिरहेका व्यापारी इच्छाराज तामाङमाथि प्रहरीले थप छानबिन गर्ने भएको छ । तामाङविरुद्ध नयाँ उजुरीहरू आएपछि प्रहरीले उनका अन्य कम्पनीमार्फत भएका ठगीको पनि अनुसन्धान गर्ने भएको हो । 

उनले सिभिल क्यापिटलको रकम सिभिल सहकारीमार्फत हिनामिना गरेको, हाउजिङका नाममा सर्वसाधारणलाई ठगी गरेको थप छानबिनबाट खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सिभिल बैंकको ७० प्रतिशत लगानी रहेको सिभिल क्यापिटलको ११ करोड रुपैयाँ सिभिल सहकारीमा जम्मा गर्ने नाममा हिनामिना भएको थियो । मर्चेन्ट कारोबार गर्ने सो कम्पनीले उक्त रकमको सावाँ र ब्याज दुवै पाउन सकेको छैन । इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई सिभिल क्यापिटलको अध्यक्ष बनाएर सो रकम सहकारीमा जम्मा गर्न लगाई सिभिल होम्सलगायत आफ्नो कम्पनीमा लगेका थिए । सोही निक्षेपका कारण सिभिल क्यापिटल हाल संकटमा परेको छ । सिभिल सहकारीको ठगीमा अन्य निक्षेपकर्ताले उजुरी गरे पनि कम्पनीले हालेको थिएन । कम्पनीले सिआइबीमा छुट्टै उजुरी दिन हाल छलफल गरिरहेको छ । 

यो ठगीको असर सिभिल बैंकसम्म पुग्ने भएकाले छुट्टै मुद्दामा तामाङमाथि अनुसन्धानको तयारी भइरहेको सिआइबी स्रोत बताउँछ । यसमा बैंकिङ कसुर मुद्दा आकर्षित हुने र सिभिल क्यापिटलका अन्य सञ्चालकसमेत त्यसमा तानिने सम्भावना छ । पक्राउ पर्दासम्म तामाङ आफैँ सिभिल बैंकका अध्यक्ष थिए । सिभिल बैंक, सिभिल क्यापिटल तथा सिभिल सहकारीमा उनको हालीमुहाली हुँदा यसरी बैंकको लगानी रहेको कम्पनीको रकमसमेत उनले हिनामिना गरेका हुन् । 

काठमाडौं हाउजिङमार्फत समेत ठगी गरेको भनेर सर्वसाधारण प्रहरीमा धाउन थालेका छन् । कम्पनीको सेयर दिन्छु भनेर ललितपुरमा जग्गा लिएको र हाउजिङ बनाएपछि पैसा नदिएको भन्दै सर्वसाधारण प्रहरीमा पुगेका छन् । सिभिल होम्समै ५० भन्दा बढी सर्वसाधारणलाई घरघडेरी बिक्री गर्ने भनेर उनले पैसा लिए पनि नदिएको खुलेको छ । यी ठगी प्रकरणमा छुट्टै अनुसन्धान हुने सिआइबी स्रोत बताउँछ । 

सिभिल सहकारीको रकम ठगी गरेको अभियोगमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका तामाङविरुद्ध सिआइबीले ठगी र संगठित अपराध मुद्दा दायर गरिसकेको छ । १२ जना पक्राउ परेको यो मुद्दाका ३० आरोपी फरार छन् । इच्छाराजका दुई छोरीलाई भने सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ । 

१० दिनमा बयान सकियो 
मुद्दा दायर भएको १० दिनमा तामाङसहित पक्राउ परेका १२ अभियुक्तको बयान जिल्ला अदालतमा सकिएको छ । बुधबारदेखि अदालतमा थुनछेक बहस सुरु हुनेछ । मुख्य प्रतिवादी तामाङले अदालतमा पनि सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई सञ्चालक समितिको भएको बताएका छन् । पक्राउ परेका अन्य सञ्चालकले भने त्यसमा आफूहरूको हस्ताक्षर मात्र भएको र संस्था तामाङले नै एकलौटी रूपमा चलाउने गरेको बताएका छन् । पक्राउ परेका कर्मचारीले सञ्चालक समितिको निर्णयअनुसार आफूहरूले आदेश मानेको बयान दिएका छन् ।

प्रहरी अनुसन्धानमा इच्छाराज मात्र यसमा प्रमुख अभियुक्त हुनुपर्ने र अन्यको सहायक भूमिका देखिएको निष्कर्ष थियो । तर, सरकारी वकिल कार्यालयले भने तामाङसहित सञ्चालक समितिका २० जना यसको जिम्मेवार भएको आशयसहित अभियोग दर्ता गरेको छ । यसले इच्छाराजलाई फाइदा हुन सक्ने र आफूहरूले समयमा क्षतिपूर्ति नपाउने सम्भावना भएको कतिपय पीडितको चिन्ता छ ।

‘सहकारीको सबै पैसा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठले नै चलाएका हुन्,’ एक पीडित भन्छन्, ‘त्यस हिसाबले यसको मुख्य जिम्मेवार उनीहरूलाई नै बनाउनुपर्ने हो, अन्य सञ्चालकसँग धेरै सम्पत्ति पनि नभएकाले पछि क्षतिपूर्ति पाउन गाह्रो हुने हो भन्ने लागेको छ ।’ इच्छाराजका विभिन्न २० वटा कम्पनीले सहकारीको पैसा बिनाधितो चलाएका थिए । तर, समयमा कर्जा नतिर्दा सहकारी टाट पल्टिएपछि समस्या सुरु भएको हो । इच्छाराज र उनका कम्पनीको नाममा करिब ६ अर्बको सम्पत्ति छ । तर, सबै सम्पत्ति रोक्का भइसकेको छैन । रोक्कामा ढिलाइ हुँदा उनले केही सम्पत्ति बिक्री गर्न सक्ने जोखिम छ । 

घर बेचेको ठूलो रकम नदेखिएकाले उनले आफन्त तथा कर्मचारीको नाममा पैसा लुकाएको आशंका गरिएको छ । त्यसतर्फ पनि छानबिन हुन सकेको छैन । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाधर पौडेल भने सम्पत्ति रोक्काको पनि माग भएको र त्यो प्रक्रियामै रहेको बताउँछन् । प्रहरी अनुसन्धानको निष्कर्षअनुसार अभियुक्तलाई धेरै सजाय हुने गरी यो मुद्दामा अभियोजना गरिएको उनको भनाइ छ । सहकारीका पीडितले न्यायका लागि निरन्तर संघर्ष गर्दै आएका छन् । तामाङले योजनाबद्ध र संगठित रूपमा ठगी गरेर सम्पत्ति लुकाएकाले त्यसतर्फ पनि अनुसन्धान हुनुपर्ने पीडितमध्ये एक डिल्लीप्रसाद भट्टराई बताउँछन् । 

श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद गराएर सम्पत्ति लुकाइयो 
तामाङले तीन वर्षअघि श्रीमती सिर्जना शाक्य तामाङसँग अदालतबाट कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए । तर, त्यो नक्कली सम्बन्धविच्छेद थियो । सिभिल सहकारीको संस्थापक सेयर बिक्री गर्न उनले सम्बन्धविच्छेदको कागज देखाएर बैंकको सेयर बिक्री गरेका थिए । बैंकको सञ्चालक भएको अवस्थामा संस्थापक सेयर बिक्री गर्न नमिल्ने भएपछि उनले सम्बन्धविच्छेद गरेका थिए ।