मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर २८ मंगलबार ०९:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा सडक बालबालिकालाई विद्यालय पठाउने प्रहरीको अभियान 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २८ मंगलबार ०९:५८:००

१२ बालबालिका विभिन्न विद्यालय भर्ना

जिल्ला प्रहरी कार्यालय गुल्मीले सडक बालबालिकालाई विद्यालय पठाउन सुरु गरेको छ । प्रहरीले पहिलो चरणमा तम्घास बजारका १२ बालबालिकालाई विभिन्न स्कुल पठाएको छ । बजारमा मजदुरका छोराछोरी बढि मात्रामा विद्यालय जाँदैनन् । केहि बालबालिका बुबाआमा नभएका अनाथ पनि छन् । तम्घास बजारमा मात्रै २५ भन्दा बढि बालबालिका समुहमा माग्दै हिड्ने, पसलहरुमा चोर्ने, गुडिरहेको सवारी साधनमा झुन्डिने, सार्वजनिक संरचना फोहोर गर्ने र बिगार्ने काममा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । 

तीमध्ये १२ जनालाई विद्यालय पोसाक, झोला र जुत्ता प्रदान गरेर विद्यालय पठाइएको हो । महेन्द्र नमुना माविमा चार, समतामा चार, सिद्धबाबामा तीन र उपल्लो तम्घास माविमा एक विद्यार्थीलाई पठाइएको भट्टराईले बताए । 

उनले नयाँ बालबालिकालाई विद्यालय भर्ना र छोडेकालाई पुन: सोही विद्यालयमै फर्काइएको बताए । ‘तत्काल परिवारलाई सचेत बनाउने र बालबालिकालाई विद्यालय पठाउने काम प्रहरीले गरेको हो । निरन्तरताका लागि अभिभावक र विद्यालयको सहयोग आवश्यक पर्छ,’ उनले भने, ‘सबै मिलेर सडक बालबालिकाको व्यावस्थापन गरौँ ।’ 

प्रहरीले सञ्चालन गरेको अभियान सडक बालबालिकाको स्थायी व्यवस्थापन होइन् । बालबालिकाका अभिभावक अधिकांश मजदुर भएकाले काममै व्यस्त हुन्छन् । बालबालिका बिहानै घरबाट निस्किएर बजारमा माग्दै हिँड्छन् । बालबालिका धेरै भएकाले माग्ने र चोर्ने भएकाले कैयौँ व्यवसायीले बालबालिका कुटपिट गरेका छन् । 

उनीहरूलाई बाहिर घुम्ने र विद्यालय नजाने बानी परेकाले विद्यालय पु–याउन मुस्किल छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रहरीको अभियानसँगै दीर्घकालीन रूमा  बालबालिकाकाे व्यावस्थापनमा सबैको चासो आवश्यक रहेको बताए । 

उनले प्रहरी प्रशासन सधैँ बालबालिका र परिवारको पछि लाग्न सम्भव नभएकाले स्थायी व्यावस्थापन गर्न स्थानीय तह र सरोकारवाला सवैको पहल आवश्यक रहेको बताए । ‘पत्रकार तथा अधिकारकर्मीको ध्यानाकर्षणपछि प्रहरीले गरेका काम पनि प्रसंसनीय छ । तर, दीर्घकालीन होइन समस्या फेरि बल्झिन्छ,’ उनले भने, ‘स्थायी समाधानको उपाय पनि खोज्नैपर्छ ।’ 

जिल्लामा बालबालिका सुधार केन्द्र वा संरक्षण गर्ने कुनै निकाय छैनन् । सडक बालबालिकाको संख्या बढ्दै गएकाले चुनौती पनि थपिँदै गएका छन् । अधिकांश बालबालिका दलित छन् । परिवार बालबालिकाका विषयमा गम्भीर छैनन् । 

रेसुंगा नगरपालिका ९ मा बस्दै आएकी लक्ष्मी नेपालीकी छोरी सपना विद्यालय जान्छिन् । तर, छोरा हिमाल र सागरले विद्यालय छोडेकाे धेरै भयाे । बिहान उठ्नेबित्तिकै घर छोड्ने गरेको लक्ष्मीले गुनासो गरिन् । ‘श्रीमान् नभएकाले मलाई छोराहरूले पत्याउँदैनन । बिहान म उठ्दा बिस्तारामा हुँदैनन्, ’उनले भनिन्,‘काम नगरे खाने के ? दिनभर उनीहरूको पछि लाग्न सकिएन ।’ 

प्रहरीले भर्ना गरेका सडक बालबालिकालाई टिकाउन विद्यालयलाई पनि चुनौती रहेको छ । तर, त्यस्ता बालबालिकाको संरक्षण र शिक्षाको कर्तव्य आफूहरूको पनि भएकाले सबै उपाय अपनाउने महेन्द्र नमुना माविका प्रध्यानाध्यापक कृष्ण मरासिनीले बताए । उनले पहिले बालबालिको शैक्षिक अवस्था र उमेरको आधारमा तह निर्माण गरेर अध्ययन गराउने बताए ।