Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपामा थापाले आन्तरिक शक्तिसंघर्ष चर्काउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २८ मंगलबार ०७:०७:००

अध्यक्ष लिङ्देनलाई चिठी लेखेर थापाले भने- राजा बोकेर हिँड्ने नैतिक धरातल समाप्त भयो 

राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका सचिवहरूबाट हस्तक्षेप भएको प्रमाण रहेको भन्दै यसबारे छानबिन गर्न माग गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनका नाममा पार्टी केन्द्रीय कार्यालयमा सोमबार पठाएको पत्रमा थापाले राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएकोसमेत उल्लेख गरेका छन् ।

थापाले चुनावी हारपछि पार्टीभित्र आन्तरिक शक्ति–संघर्ष चर्काउन खोजेको लिङ्देन पक्षको विश्लेषण छ । निर्वाचनमा पराजयलगत्तै थापाले पूर्वराजा ज्ञानेन्द्र तथा उनका सचिवहरूबाट भएको हस्तक्षेपका कारण प्रतिद्वन्द्वी लिङ्देनले जितेको आरोप लगाएका थिए । उनले लिङ्देनको जितलाई कृत्रिम विजय भन्दै पूर्वराजा शाहको हस्तक्षेपबारे छानबिन नभए अर्को राजनीतिक विकल्प खोज्ने बताएका थिए । थापाले पठाएको तीन पृष्ठ लामो चिठीमा उनी राजसंस्था पुनस्र्थापनाको एजेन्डा छाडेर अर्को राजनीतिक दलका लागि तयारी गरेको अर्थमा लिङ्देन पक्षले बुझेको छ । पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले पूर्वराजा वा राजसंस्थाको विषय पार्टीका कुनै पनि निकायमा छलफलको एजेन्डा बन्न नसक्ने स्पष्ट पारेका छन् । 

‘केन्द्रीय नेतृत्वको निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ,’ थापाले पठाएको चिठीमा उल्लेख छ, ‘स्वयं पूर्वराजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरू र नातेदारहरूले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई दबाब दिने तथा प्रभाव र प्रलोभनमा पार्ने काम खुला रूपमा भयो । पार्टीको आन्तरिक मामिलामा पार्टीइतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनीय र निन्दनीय रहेको छ ।’ 

राप्रपाको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप भएपछि राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको पनि थापाको भनाइ छ । थापाले ०७२ मा संविधान जारी भएपछि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै जनताको अभिमतबाट राजसंस्था स्थापित गर्ने पार्टीनीतिप्रति निर्मल निवास असहमत र असन्तुष्ट रहेको उल्लेख गरेका छन् । उनले राजसंस्था पुनस्र्थापनाका लागि पूर्वराजा शाहले विदेशीहरूको मुख ताकेको पनि आरोप लगाएका छन् ।

‘राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गर्ने, जनताको विश्वास आर्जन गर्ने कार्यको सट्टा कहिले विदेशीको मुख ताक्ने अनि कहिले राजनीतिक अस्थिरता खडा गर्नेतर्फ मात्र निर्मल निवास केन्द्रित रह्योे,’ थापाको भनाइ छ, ‘अहिले आएर पुनः देशमा अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्ने डिजाइनअन्तर्गत राप्रपा नेतृत्व कब्जा गर्न खोजिएको हो ।’ पूर्वराजाको हस्तक्षेपले राप्रपालाई पुनः प्रतिगामी कित्तामा धकेल्ने पनि उनले जिकिर गरेका छन् ।

थापाले राप्रपालाई ‘रिमोट कन्ट्रोल’बाट चलाउन चाहने निर्मल निवासको नियत उदांगो भएको आरोप लगाएका छन् । ‘अब पार्टी नेतृत्वमा आउन चाहनेले पार्टी संगठनमा योगदान पु¥याएर वा कार्यकर्ताको मन जितेर होइन, निर्मल निवासका सचिवहरूको चाकडी गर्नुपर्ने प्रवृत्ति र अवस्था सिर्जना गर्न खोजिएको छ,’ थापाले भनेका छन् । उनले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति गठन गर्न, हस्तक्षेपको भत्र्सना गर्न तथा भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न अध्यक्ष लिङ्देनलाई आग्रह गरेका छन् । यसो भएमा मात्रै पार्टी एकता कायम रहने र पार्टीको भविष्य पनि सुनिश्चित हुने उनको भनाइ छ ।