मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मणिलाल विश्वकर्मा
२०७५ फाल्गुण २१ मंगलबार ०६:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाली विद्यार्थी सीमापारि वारिका विद्यालय सुनसान

स्तरीय शिक्षाको अभावमा सिरहा भगवानपुरका करिब ६ सय विद्यार्थी भारतीय विद्यालय पढ्न बाध्य

Read Time : > 1 मिनेट
मणिलाल विश्वकर्मा
२०७५ फाल्गुण २१ मंगलबार ०६:२१:००

सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो । गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । 

स्थानीय जमुवा, बिसौल, कल्याणपुर गाउँका करिब चार सय घरधुरीलाई पायक पर्ने गरी ठाडी विश्वासपट्टिमा ०१५ सालमा स्थापित कक्षा आठसम्म पढाइ हुने आधारभूत तहको विद्यालय पनि छ । विद्यालयको भवन, कक्षाकोठा पर्याप्त छन् । स्थायी दरबन्दीका सातजना शिक्षक मात्र छन् । विद्यार्थीको संख्या भने निकै न्यून छ ।

आफ्नो घर–आँगनमा रहेको विद्यालयमा पढाइ नहुँदा विद्यार्थीहरू भारतीय विद्यालय पढ्न विवश छन् । अधिकांश विद्यालयको हालत उस्तै छ । ‘विद्यार्थी रजिस्टरमा मात्र भएपछि विद्यालय आएका शिक्षकको गफ चुट्ने कामबाहेक केही हुँदैन,’ विद्यालयनजिकै घर रहेका वृद्ध हजारी साहले भने ।

सामुदायिक विद्यालय स्थानीय सरकारमातहत गएकाले कहाँ के भएको छ भन्ने विषयमा केही थाहा छैन  । दोलप्रसाद पाण्डे
उपसचिव, शिक्षा विकास तथा समन्वय एकाइ सिरहा
 

 सरकारी र निजीमा नेपाली विद्यार्थी
ठाडी बजार घर भएका रामउद्गार पासवानका जेठा छोरा शिवमकुमार भारतीय बजार लौकाहामा रहेको निजी विद्यालय ज्ञान भारती निकेतनमा कक्षा ६ मा पढिरहेका छन् । उनका भाइ सुन्दरम् पनि त्यही विद्यालयमा कक्षा दुईमा पढ्छन् । उनकै छिमेकी आराधना यादव र कुमकुम कर्ण कक्षा ७ तथा लक्ष्मी यादव कक्षा पाँचमा लौकाहा बजारको राजकीय कन्या मध्य विद्यालयमा पढिरहेका छन् । 

आराधना, लक्ष्मी, कुमकुमजस्ता ६ सय विद्यार्थी भारतीय लौकाहा बजारमा भारतीय सरकारको लगानीमा सञ्चालित तीनवटा आधारभूत, एक मावि र १०+२ तहको एकसहित पाँचवटा सरकारी विद्यालयमा पढ्ने गरेका छन् । 

कक्षा सुरु हुनुअघि ‘वन्दे मातरम्’ 

बिहान साढे १० नबज्दै आफू पढिरहेको विद्यालयमा पुगेपछि भारतीय सहकर्मीसँगै लाइन लागेर नेपाली बालबालिका ‘वन्दे मातरम्, भारत माता की जय’ भन्दै प्रार्थना गरेपछि आफ्नो कक्षा कोठामा फर्किन्छन् । लौकाहास्थित राजकीय कन्या मध्य विद्यालयका प्रभारी प्रधान (प्रधानाध्यापक) देवकुमारले भने, ‘सीमावर्ती नेपाली गाउँका विद्यार्थी पनि पढ्न आउँछन्, भारतीय विद्यालय भएकाले यहाँका विद्यार्थीले गरेअनुसार नेपाली विद्यार्थीले पनि गर्नैपर्छ ।’ 

शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख उपसचिव दोलप्रसाद पाण्डेले जिल्लाका सामुदायिक विद्यालय स्थानीय सरकार मातहत गएकाले कहाँ के भएको छ भन्ने विषयमा थाहा नभएको बताए । ‘तथापि सम्बन्धित गाउँपालिकाका स्रोत व्यक्तिमार्फत बुझ्नेछु,’ उनले भने ।

 टेर्दैनन् शिक्षक
नेपाल–भारत सीमादेखि मुस्किलले तीन सय मिटर उत्तर ठाडीबजारको मध्य भागमा पर्ने विश्वासपट्टि आधारभूत विद्यालयमा दरबन्दी रहेका शिक्षकहरूले अभिभावकलाई हेप्ने गरेको स्थानीय बिल्टु साह बताउँछन् । ‘विद्यालयको पढाइका बारे सोध्न गयो भने हकार्छन्,’ उनले भने । स्थानीय श्रीलाल पासवानले विद्यालयका शिक्षकका छोराछोरी नै भारतीय विद्यालयमा पढ्ने भएकाले तिनको काम हाजिरी गरेर तलब खानेबाहेक केही नभएको बताए । 

विद्यालयको अभिलेखमा २७५ जना विद्यार्थी रहेको प्रधानाध्यापक रामचन्द्र साहले बताए । पछिल्लो शुक्रबार विद्यालय पुग्दा सातमध्ये चारजना शिक्षक घाम तापेर गफ चुट्दै थिए भने आठजना विद्यार्थी चौरमा खेलिरहेका थिए । कक्षाकोठा सुनसान देखिएको विषयमा सोध्दा सहायक शिक्षक रामअवतार साहले जंगिँदै भने, ‘गाउँघर हो, विद्यार्थी नै आउँदैनन्, घर–घरबाट ल्याउन सकिँदैन ।’ भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयको नियमित अनुगमन गरिरहेको भए पनि ठाडी विश्वासपट्टि विद्यालयमा केही समस्या रहेको बताए ।