१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २६ आइतबार ०८:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाडाको अध्यक्षमा थापा विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २६ आइतबार ०८:०२:००

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार काठमाडौंमा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछाडि पार्दै विजयी भएका हुन् । निर्वाचनमा दुई हजार सात सय ८८ मत खसेकोमा थापाले एक हजार चार सय १३ र चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गरेका छन् । 

नाडाको ४५औँ वार्षिक साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्षसहित १७ सदस्य निर्वाचित गरेको हो । नेतृत्वका लागि थापा र चौधरी प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । अध्यक्ष थापाबाहेक १७ सदस्यहरूमा आकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, नीलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योति, पंकज अग्रवाल, वरदान बस्नेत र गोपाल भट्टराई निर्वाचित भएका छन् । 

निर्वाचनमा चौधरी पराजित भए पनि सदस्यमा भने उनकै प्यानलबाट बहुमत सदस्य निर्वाचित भएका छन् । सदस्यमा चौधरी प्यानलबाट १२ जना र थापा प्यानलबाट ५ जना निर्वाचित भएका छन् । सरसर्ती हेर्दा धेरै मतदाताहरू भएका प्रभावशाली मानिने घरानाको समर्थन चौधरी प्यानललाई देखिन्थ्यो । चौधरी प्यानलबाट बहुमत सदस्यहरू विजयी हुनुले पनि ठूला घरानाको समर्थन रहेको स्पष्ट हुन्छ ।

पोखराबाट उदाएका अटोमोबाइल्स व्यवसायी थापाले ठूलो व्यापारिक घरानाबाट प्रतिनिधित्व गरेका चौधरीलाई चुनाव हराउन सफल भएका हुन् । यसअघि नै संस्थागत सदस्यमा मोहनबाबु खड्का, तेजनारायण शाह, सुभाष आचार्य, पुष्करराज ओझा, गणेशप्रसाद भट्टराई, सुदेशकुमार श्रेष्ठ, भद्र भण्डारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

को हुन् थापा ?
नवनिर्वाचित अध्यक्ष थापाले पोखरामा सेकेन्ड ह्यान्ड मोटरसाइकल किनबेचबाट व्यवसाय सुरु गरेका थिए । सानै उमेरमा अटो व्यवसायमा होमिएका उनले अहिले व्यवसायमा धेरै विविधीकरण गरिसकेका छन् । साढे तीन दशकअघि तीन लाख रुपैयाँबाट रिकन्डिसनको व्यापार सुरु गरेका थापाले अहिले अर्बौँ रुपैयाँको व्यावसायिक साम्राज्य खडा गरिसकेका छन् ।

उनले अटोमोबाइल, रियल इस्टेट, हस्पिटालिटी, बैंकिङ, इन्जिनियरिङलगायत क्षेत्रमा लगानी गरेका छन् । उनी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् भने नाडामा दुई कार्यकाल उपाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । उनी जिल्लादेखि नाडासम्म २१ वर्षदेखि अनवरत रूपमा अटोमोबाइल एसोसिएसनमा आबद्ध भएर काम गरिरहेको बताउँछन् ।