मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर २६ आइतबार ०७:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसमा कहाँ छ हिन्दू राष्ट्रको बहस?

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर २६ आइतबार ०७:२०:००

०७१ माघ ९ गते कांग्रेस नेता खुमबहादुर खड्काले वक्तव्य जारी गर्दै पार्टीले धर्मनिरपेक्षता स्वीकार गर्ने ‘अवाञ्छित निर्णय’ लिएको आरोप लगाउँदै हिन्दू राष्ट्रका लागि अभियान छेड्न कार्यकर्तालाई आह्वान गरे । वैदिक सनातन हिन्दू राष्ट्र नेपालको अन्तर्राष्ट्रिय पहिचानको मूल आधार रहेको, सर्वस्वीकार्य रहेको र २०६२/६३ को जनआन्दोलनको एजेन्डा नभएको उनको तर्क थियो । कांग्रेस नेताहरूको एउटा समूह लिएर सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान सञ्चालन गरेका खड्काको विरासत कांग्रेसमा अहिले छ, तर असंगठित छ । महाधिवेशनमा विचारको बहस नहुने भए पनि खड्काका अनुयायीले हिन्दू राष्ट्रको एजेन्डा अघि बढाउने तयारी गरेका छन् । 

खड्काको यो लाइन अहिले नेताहरू डा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, मोहन बस्नेत, अभिषेक प्रताप शाह, रामहरि खतिवडालगायतले बोकेका छन् । देउवाइतर समूहका अर्जुन नरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारीलगायत पनि हिन्दू धर्मको एजेन्डा पार्टीले बोक्नुपर्छ भन्नेमा छन् । पार्टीमा प्रभावशाली हैसियत नभएका पुराना नेता कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, गोविन्दराज जोशी, विनयध्वज चन्दलगायत हिन्दू राष्ट्रका पक्षमा छन् । तर, उनीहरू पार्टी मूलधारबाहिर छन् । खड्काले अन्तिम समयसम्म पनि ‘विश्वको एक मात्र हिन्दू राष्ट्रको नेपाली राष्ट्रिय पहिचानलाई किन समाप्त पारियो भने व्यापक रूपमा जनस्तरमा देखिएको असन्तुष्टिको सम्बोधनविना नयाँ संविधान टिक्न नसक्ने’ भविष्यवाणी गरेका थिए । उनका अनुयायीहरूको भनाइ अहिले पनि यही छ । 

‘पार्टीलाई विचारविहीन बनाउन खोजिएको छ । हामी वैदिक सनातन हिन्दू राष्ट्रको अभियान सशक्त रूपमा अघि बढाउँछौँ,’ कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले नयाँ पत्रिकासँग भने, ‘यो महाधिवेशनमा नेतृत्व मात्रै छनोट गर्ने भनिएको छ । तर, हामी फ्लोरमा हिन्दू राष्ट्रको कुरा उठाउँछौँ ।’

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अभिषेकप्रताप शाहले पनि पार्टीमा हिन्दू राष्ट्रका पक्षमा बलियो मत रहेको भन्दै अभियान चलाउने बताए । ‘पार्टीका अधिकांश कार्यकर्ताको भावना र मुलुकको यथार्थ हिन्दू राष्ट्र हो । हामी यसका लागि पार्टीभित्र अभियान चलाउँछौँ,’ शाहले भने, ‘महासमितिमा पहिले नै उठेको विषय हुनाले यसको सम्बोधन हुनुपर्छ ।’ 

विगतमा खड्कासँग रहेका नेतामध्ये अधिकांश अहिले देउवासँग छन् । ‘खड्काको देहान्तपछि उहाँका अनुयायीहरूले नेतृत्वलाई दबाब दिन पनि सकेनन्, उनीहरू स्वयं पनि संगठित भएनन्,’ विश्लेषक सुदर्शन आचार्य भन्छन्, ‘तर, राजेन्द्र लिङ्देन राप्रपामा उदाएपछि यसको दबाब कांग्रेसमा परेको छ । कांग्रेसले अब हिन्दू राष्ट्रको एजेन्डालाई उपेक्षा गर्न सक्छ जस्तो मलाई लाग्दैन ।’ 

कांग्रेस नेताहरू विजय गच्छदार, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, रमेश लेखक, एनपी साउद, पुष्पा भुसाललगायत पनि हिन्दू राष्ट्रको विपक्षमा छैनन् । साउदले नयाँ पत्रिकासँग हिन्दू राष्ट्रको पक्षमा खुलेर अन्तर्वार्ता दिएका छन् । धर्मनिरपेक्षताका विरुद्ध नेताद्वय डा सशांक कोइराला र डा. शेखर कोइराला मात्रै खुल्दै आएका छन्, तर उनीहरूले पनि सशक्त रूपमा उठाउन सकेका छैनन् । नेता डा. शशांकले शुक्रबार पार्टी महाधिवेशन उद्घाटन सत्रमा बोल्ने क्रममा धर्मनिरपेक्षताको विपक्षमा आफू रहेको बताए । 

नेताहरू रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरि, कृष्ण सिटौला, गगन थापा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेलहरू हिन्दू राष्ट्रको विपक्षमा छन् । आचार्य भन्छन्, ‘यो एजेन्डामा ढिलो–चाँडो कांग्रेस जानैपर्छ । तर, वजनदार रूपमा अहिले यो उठेको छैन । हिन्दू राष्ट्रको एजेन्डा स्थापित नभएसम्म कांग्रेस स्थापित हुन सक्दैन ।’ 

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले गत सोमबार बालुवाटारमा कांग्रेसनिकट पत्रकारहरूसँग संविधानमा रहेको व्यवस्था, संविधानको मर्मभन्दा कांग्रेस दायाँ–बायाँ जान नसक्ने बताएका थिए । उनको भनाइ थियो, ‘धर्म मान्ने स्वतन्त्रता संविधानले दिएको छ । म पनि धर्म मान्छु, मन्दिर जान्छु । धर्म मान्न कसलाई कसले रोकेको छ ? ’ 

०७२ मा संविधान जारी हुनुअघि भने देउवाले धर्मनिरपेक्षता नभएर हिन्दू राष्ट्र राख्न प्रस्ताव गरेका थिए । तर, संविधानसभाको संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलगायतका नेताले यसलाई अस्वीकार गरेका थिए । ‘त्यसवेला कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता लेखौँ भनेका थिए । बाबुरामले नमानेपछि मध्यमार्गी उपाय निकालेर सिटौलाले धर्मनिरपेक्षताको हिन्दू व्याख्यासहितको मस्यौदा तयार गरे त्यसमा सबैले सहमति जनाए,’ त्यो घटनाक्रमबारे कांग्रेसका एक नेताले नयाँ पत्रिकासँग भने । नेताहरू शशांक कोइराला, शेखर कोइराला हिन्दू राष्ट्रका पक्षमा अरूभन्दा बढी वकालत गर्छन्, तर पार्टीभित्र उनीहरूको प्रभावशाली हैसियत छैन । ‘कांग्रेसभित्र हिन्दूको एजेन्डा छ, तर यसका लागि नेतृत्वदायी भूमिका खेल्ने नेताहरू भएनन्,’ पत्रकार एवं विश्लेषक आचार्यले भने, ‘हिन्दूको एजेन्डा रहने तर पार्टी लाइन बन्न नसक्ने अवस्था म देख्छु ।’ 

कांग्रेसको महासमिति सदस्यहरूमध्ये बहुसंख्यकले पटकपटक हिन्दू राष्ट्रका लागि हस्ताक्षर अभियान चलाउँदै आएका थिए । ‘पछि डडेल्धुरा पार्टी सभापति कर्ण मल्लले महासमितिका तर्फबाट तयार गरिएको हस्ताक्षरसहितको पत्र पार्टी सभापतिलाई बुझाउनुभएको थियो, तर सुनुवाइ भएन,’ कांग्रेस नेता शंकर भण्डारीले भने । उनका अनुसार पार्टीले धर्म निरपेक्षताको लाइन लिएकोमा केन्द्रीय समितिमा दिलेन्द्र बडु, पुष्पा भुसाल, चन्द्र भण्डारीलगायतले असहमति दर्ज गराएका थिए ।