१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर २५ शनिबार १०:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपुर्ण पदमार्गमा एघार महिनामा दुई हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २५ शनिबार १०:२९:००

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायीहरुले राहतको महसुस गरेका छन् । कारण विदेशी पर्यटक नआउँदा अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले २०२१ को जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा दुई हजार दुई सय २० जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्ग अन्र्तगत मनाङ घुम्न आएको बताए । उनका अनुसार नोभेम्बर महिनामा सात सय २२ जना, अक्टोबर महिनामा २०२१ को सबैभन्दा बढी आठ सय ३८, सेप्टेम्बरमा ७६ जना पर्यटक अन्नपूर्ण पदमार्गमा घुम्न आएका छन् । पदमार्गमा जनवरीमा दुईजना ,फेबु्रअरीमा २५, मार्चमा एक सय ३७, अप्रिलमा तीन सय ६६, मेमा ४९ जना पर्यटक आएको एक्याप मनाङको धारापानी चेकपोस्टकाे तथ्याङकमा उल्लेख छ । 

यस्तै पदमार्गमा जुन र जुलाईमा भने एक/एक जना  र अगस्टमा तीन जना पर्यटक मनाङ भित्रिएका छन् । एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आएका थिए । सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए । कोरोनाका कारण २०२० मार्च १४ देखिदेखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन् । मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले दुई वर्षसम्म सुनसान रहेको पदमार्गमा २०२१ मा विदेशी पर्यटक आउँदा कोरोनाले थला परेको पर्यटन व्यवसायमा केही राहत भएको बताए  । मनाङको सदरमुकाम चामेसम्म मोटर पुगेपछि अन्नपूर्ण पदमार्ग जाने नेपालीहरूको संख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लव, तथा संघसंस्थामा आबद्ध भएकाहरूसमेत बिदा मिलाएर भए पनि अन्नपुर्ण पदमार्गमा जाने गरेका छन् । पछिल्लो समय विदेशी पर्यटकजत्तिकै आन्तरिक पर्यटकहरूको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायीहरू थप उत्साहित भएका छन् ।

लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्यामा उत्साहजनक वृद्धि भएपछि लमजुङ तथा अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । लमजुङको सदरमुकाम बेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुंगिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भन्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।