मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ मङ्सिर २४ शुक्रबार १८:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र प्रदेश १ को नेतृत्वमा चारजनाको  दाबी    

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ मङ्सिर २४ शुक्रबार १८:२४:००

नेकपा माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा चारजना नेताहरूले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमा उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी, पाँचथरका इन्दबहादुर आङ्बो र झापाकी धर्मशीला चापागाईंले दाबी गरेका छन् । अध्यक्षका दाबेदार सुरेश राई माओवादी केन्द्रका वर्तमान प्रदेश १ संयोजक र संघीय सांसद हुन् । भण्डारी पार्टीको प्रदेश सचिव हुन् । आङ्बो प्रदेश संसदीय दलका नेता र सरकारका आर्थिक मामिलामन्त्री पनि हुन् । चापागाईं माओवादी केन्द्र प्रदेश १ की सहइन्चार्ज  हुन् । 

यसैगरी, पदाधिकारीहरूमा मोरङका गणेश उप्रेती ‘सुशील’, खोटाङका ध्रुव बुढाथोकी, ओखलढुंगाका मोहनकुमार खड्का, सुनसरीका मुक्साहाङ मोयाङबो, शिवकुमार डाँगी, निर्मल बराललगायतले पनि दाबी गरेका छन् । नयाँ विधानअनुसार प्रथम अधिवेशन भएकोले पहिले कार्यसमितिमा परिसकेपछि मात्र पदाधिकारीमा दाबी गर्नुपर्ने भएकोले धेरैले अहिले खुलेर दाबी गरेका छैनन्। 

माओवादी केन्द्र प्रदेश १ को प्रथम प्रदेश सम्मेलन मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचाेकमा २५ र २६ मंसिरमा हुँदै छ। अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष प्रचण्डले सातवटै प्रदेशमा एकैचोटि भर्चुअल प्रविधिबाट गर्दै छन् । प्रदेश १ सचिव हेमराज भण्डारीका अनुसार  विधानअनुसार पहिले अधिवेशनले सर्वसम्मत रूपले दुई सय ६० जना कार्यसमिति चयन गर्नेछ ।  त्यसपछि कार्यसमितिले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । पदाधिकारीहरूमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित तीनजना सचिव एकजना सहसचिव एकजना र कोषाध्क्ष एकजनासहित सातजना रहनेछन् । अधिवेशनमा एक हजार एक सय प्रतिनिधि सहभागी हुनेछन् ।   

सम्मेलनमा प्रतिनिधि छनाेट गर्दा पूर्ण समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरू छनाेट गरिने इन्चार्ज राम कार्कीले बताए । जसअनुसार ३५ प्रतिशत महिला, कुल जनसंख्याको थप दुई प्रतिशत दलित ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता गराइनेछ ।  सम्मेलनको लागि प्रदेश १ का एक सय ३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पाँच सय पार्टी सदस्य बराबर एक पालिकामा तीनजना पर्ने गरी  ६ सय प्रतिनिधि चयन गरिएको छ 

एक व्यक्ति एक पद लागू गरिने 
यसैगरी, प्रदेश सम्मेलनमा केन्द्रीय सदस्यहरू २० जना, केन्द्रीय सल्लाहकारहरू १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जना  प्रतिनिधिको  रूपमा सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्यहरूले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । 

अपांग, जेष्ठ नागरिक र कलाकारबाहेकले खाना र वासको व्यवस्था आफैँ गर्नुपर्ने 
माओवादी केन्द्रको प्रदेश १ समितिको प्रथम अधिवेशन हुने स्थान विराटचाेक प्रदेश १ को राजधानी विराटनगरबाट करिब २५ किलोमिटर उत्तरपूर्वको दुरीमा छ । सुन्दरहरैँचा नगरपालिकासँग जोडिएको पूर्व–पश्चिम राजमार्गमा पर्ने विराटचाेक सहरउन्मुख ग्रामीण नगर हो । खर्चको मितव्ययिता र संघीयताको संरचना विकेन्द्रित गराउन विराटनगर छाडेर विराटचाेकमा प्रथम अधिवेशन गरेको प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए। उनका अनुसार सम्मेलनमा सहभागी हुने जेष्ठ नागरिक,अपांग र कलाकारबाहेक सबैले आफैँले खाना र वासको व्यवस्था गर्नुपर्नेछ । प्राय सहभागीलाई जनताका घरमा गासवासको व्यवस्था मिलाइएको छ । तर सबैजना पेइङ गेस्टका रूपमा बस्नुपर्नेछ ।