मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हिमाल पौडेल काठमाडाैं
किरण दहाल काठमाडाैं
दिपेश शाही काठमाडाैं
२०७८ मङ्सिर २४ शुक्रबार ०७:२२:००
Read Time : > 7 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेसमा हिन्दू राष्ट्रको बहस जारी छ : एनपी साउद (भिडियोसहित)

Read Time : > 7 मिनेट
हिमाल पौडेल, काठमाडाैं
किरण दहाल, काठमाडाैं
दिपेश शाही, काठमाडाैं
२०७८ मङ्सिर २४ शुक्रबार ०७:२२:००

कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन्, नारायणप्रसाद (एनपी) साउद । नेविसंघबाट राजनीति सुरु गरेका साउद संगठनको केन्द्रीय अध्यक्षसम्म भए । पार्टी राजनीति सुरु गरेपछि ०५९ मा कांग्रेस विभाजन गरी देउवाले बनाएको कांग्रेस (प्रजातान्त्रिक)मा केन्द्रीय सदस्य बने । त्यसअघि ०५६ मा भएको आमनिर्वाचनमा कञ्चनपुरबाट निर्वाचित भएका साउद मन्त्रीसमेत बनिसकेका छन् । पार्टीको १४औँ महाधिवेशनमा उपसभापति वा महामन्त्री पदमा निर्वाचित भएर देउवासँग काम गर्न चाहेको बताउने साउदसँग नयाँ पत्रिकाका दिपेश शाही, किरण दहाल र हिमाल पौडलले गरेको कुराकानी :

यसपालि कांग्रेसले नीति थाती राखेर नेतृत्व चयनका लागि महाधिवेशन गर्दै छ । नीति र विधिविनाको महाधिवेशनले कुशल नेतृत्व चयन गर्छ भनेर कसरी विश्वास गर्ने ?
वास्तवमा तपाईंले भन्नुभएको कुरा ठिकै हो । मैले यो प्रश्न लगातार उठाउने गरेको छु । नेतृत्व, नीति, विचार र कार्यक्रमलाई महाधिवेशनबाट अलग्याएर वा एक अर्काबाट अलग्याएर हेर्न मिल्दैन । पदाधिकारीहरू वा पूर्वपदाधिकारीहरूको बैठकले निर्वाचन र अन्य बहसलाई छुट्याएर महाधिवेशनमा जाने निर्णय गर्‍यो । त्यो निर्णयले महाधिवेशनको सार्थकतालाई संकुचित गर्छ कि भन्ने मलाई पनि चिन्ता छ । संक्षिप्त रूपमा भए पनि नीति र विचारको बहसलाई स्थान दिनुपर्थ्यो । वैचारिक, नीतिगत र कार्यक्रमहरूका आधारमा प्रतिस्पर्धा गर्ने वातावरण पार्टीभित्र हुनुपथ्र्यो । त्यो हुन सकेको छैन । मलाई लाग्छ, यो एउटा कमीको रूपमा रहेको छ । यसले महाधिवेशनमा नेतृत्व चयनलाई व्यक्ति चयनका रूपमा रूपान्तरण गरेको छ । त्यसकारण व्यक्ति मात्र चयन गर्नेभन्दा नीति कार्यक्रमसहितको छनोट उपयुक्त हुन्थ्यो । त्यसो हुन सकेन । तर, हामी आशावादी छौँ, अब महाधिवेशनबाट चयन हुने नेतृत्वले छलफल, बहस र व्यापक सहभागितामा पार्टीको विधि, विधान, नीति र कार्यक्रमको ठोस टुंगो लगाउनेछ । 

पछिल्लो समय कांग्रेसभित्र वैचारिक बहसको स्थान साँघुरिँदै गएको छ भन्ने गुनासो सुनिन्थ्यो । यसपटक महाधिवेशन जसरी गरिँदै छ, त्यसले त्यो गुनासो सही थियो भन्ने पुष्टि गर्‍यो होइन ? 
वैचारिक बहस हुने ठाउँ साँघुरिएको त छैन । तर, नेतृत्व चयनको प्रक्रिया र वैचारिक बहसका लागि अलग–अलग महाधिवेशन गर्दा सँगसँगै आउनुपर्ने कतिपय विषयहरूमा जटिलता देखिएको छ । नेपाली कांग्रेस प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । तर, मुलुकको परिस्थिति र कोभिड महामारीलगायत कारणले पर्याप्त संवाद र छलफल हुन नसकेको हो । यसलाई कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा बहस र विमर्शको स्थान नै साँघुरिएको भनेर व्याख्या गर्नु उचित हुँदैन । एउटा विचारसहितको पार्टीमा बहस र छलफल आवश्यक हुन्छ, त्यसका लागि कांग्रेसमा कहिल्यै स्थानको कमि हुँदैन, हुनुहुँदैन ।

जब पदाधिकारी र पूर्वपदाधिकारीले १४औँ महाधिवेशनलाई नेतृत्व चयनको मात्र बनाउने गरी निर्णय गरे, तपाईंहरूजस्तो बाहिर–बाहिर विचार र बहसको कुरा गर्ने नेताहरूले त्यस्तो निर्णयको विरोध गरेको सुनिएन । हस्तक्षेप गर्नुभएन । किन ? 
पूर्वपदाधिकारी र पदाधिकारीहरू बसेर त्यो निर्णय गर्नुभएको रहेछ । केन्द्रीय समितिभित्र पनि त्यसलाई खुला छलफलको विषय बनाइएन । त्यसकारण केन्द्रीय समितिभित्र सहमतिका मुद्दाहरू सुनाउने क्रममा त्यो विषय पनि परेको छ । बहसमा हामीले सक्रिय सहभागी हुन पाएनौँ । समयको पनि असाध्यै चाप थियो । पटकपटक सरिरहेको महाधिवेशनलाई समयमा नै सम्पन्न गर्नुपर्ने बाध्यता पनि हाम्रोसामु थियो । त्यस्तो अवस्थामा समाधान खोज्नैपर्ने हुन्थ्यो । यद्यपि, विधान, नीति र कार्यक्रमका विषयमा छलफल नगरेरै अघि बढ्नुपर्ने पनि थिएन । तर, त्यसो भन्दैमा विचारबाट पूरै अलग भएको, विचारको बहसमा प्रवेश गर्ने ढोका नै बन्द गरेको भन्ने होइन, हामी अब निर्वाचित हुने केन्द्रीय कार्यसमितिमार्फत त्यसको समाधान खोज्छौँ ।

सनातनदेखि हामीले मानिआएका धर्म, परम्परा, संस्कृतिहरूको संरक्षण, संवर्द्धन गर्दा अन्यथा मान्नुहुन्न

कांग्रेस नेतृत्वको सरकार भएका वेला संघीयता, धर्मनिरपेक्षतासहितका विशेषता भएको गणतान्त्रिक संविधान जारी भयो । तर, त्यही कांग्रेसका केही नेता वेला–वेला धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुपर्ने आवाज बोल्छन् । त्यस्तो आवाज बोल्नेमा तपाईं पनि अग्रपंक्तिमा नै आउने गर्नुहुन्छ । किन त्यस्तो आवश्यकता पर्‍यो ? 
कांग्रेसको महासमिति बैठकमा आठ सय महासमिति सदस्यहरूले नेपाल हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ भन्ने प्रस्ताव ल्याउनुभएको थियो । यसबारे नेतृत्व तहमा छलफल हुँदा धार्मिक आस्थाको विषय मतदानको विषय बनाउनुभन्दा छलफलबाटै सहमतिमा टुंग्याउनुपर्छ भन्ने निष्कर्षमा कांग्रेस पुग्यो । अहिले पनि धर्मसम्बन्धी बहस कांग्रेसभित्र जारी छ । विशेष गरी धर्मनिरपेक्षता भन्ने शब्द जुन छ, त्यो कम्युनिस्ट सिद्धान्तबाट ज्यादा उत्प्रेरित छ । माक्र्सले भनेजस्तै धर्मलाई अफिमसँग तुलना गरेर उनीहरू धर्मको अस्तित्वलाई स्वीकार गर्दैनन्, इन्कार गर्छन् । तर, हामी प्रजातन्त्रवादीहरू सनातन मूल्य पद्धतिसँग जोडिएका छौँ । हिन्दू मूल्यमान्यतासँग जोडिएका छौँ । यसको संरक्षण र संवद्र्धनको दायित्व राज्यले लिनुपर्छ भन्ने मान्यता राख्दछौँ ।

नेपालमा अन्य धर्मावलम्बीहरू पनि छन् । उनीहरूलाई पनि धार्मिक स्वतन्त्रता हुनुपर्छ । राज्यले उनीहरूको धर्मलाई पनि संरक्षण गर्नुपर्छ । त्यसैले संविधान लेख्दा नेपाल एउटा धार्मिक स्वतन्त्रता भएको सनातन हिन्दू धर्मको संरक्षण र संवद्र्धन गर्ने राज्य हो । देशमा प्रचलित अन्य धर्महरूलाई पनि संरक्षण र संवद्र्धन गर्ने राज्यको दायित्व हुनेछ भनेर लेखिएको भए उपयुक्त हुन्थ्यो । त्यो लेखिएन । त्यसैले यस विषयमा पार्टीभित्र अहिले पनि छलफल चलिरहेको छ । भावी नेतृत्वले पनि यो बहसलाई अगाडि बढाउनेछ भन्ने मेरो विश्वास छ ।

मुलुकमा तमाम धर्म र आस्था राख्ने मान्छे हुने, तर राज्यचाहिँ ‘हिन्दू राष्ट्र’ हुने कुराले अन्य धर्ममा आस्था राख्नेहरूलाई न्याय गर्छ भनेर कसरी पत्याउने ?
नेपालमा विविधता छ । थुप्रै आस्था, विश्वास र प्रार्थनाका मानिसहरू नेपालमा बस्छन् । उनीहरू पनि नेपाली हुन् । उनीहरूको पनि नेपालमा सुरक्षा तथा संरक्षण हुनुपर्छ । सबै धर्म, भाषा, वेशभूषाको संरक्षण र संवद्र्धन गर्नुपर्छ । उनीहरूलाई पनि अवसरको समानता हुनुपर्छ । यसो भन्दै गर्दा नेपाल बहुसंख्यक हिन्दू भएको देश त हो नि । त्यसैले नेपाल एक धार्मिक स्वतन्त्रता भएको मुलुक हुनुको नाताले सनातन हिन्दू धर्मको संरक्षण र संवद्र्धन गर्दै प्रचलित अन्य धर्महरूलाई पनि संरक्षण र संवद्र्धन गर्ने राज्यको दायित्व हुन्छ । त्यस अर्थमा हाम्रो संविधानमा पनि त्यस्तो प्रबन्ध गरिएको भए उपयुक्त हुन्थ्यो भन्ने मेरो भनाइ हो । 

महाधिवेशनमा नेतृत्व चयनको विषय मुख्य भएको छ । आकांक्षीहरू धेरै छन् । तपाईं रहेकै समूहमा पनि धेरै छन् । नेताहरूको व्यवस्थापन कसरी हुन्छ ?
यो एकदमै गाह्रो काम छ । म आज(बिहीबार) सुदूरपश्चिमका साथीहरूसँग बसेको थिए । केन्द्रीय समितिमा मात्रै ४०/४५ आकांक्षी देखिनुभएको छ । देशैभरिको अवस्था यस्तै छ । यो पुरानो पार्टी हो । दुई–तीन सय त पूर्वमन्त्रीहरू नै छन् । वर्तमान र पूर्वकेन्द्रीय सदस्यहरू पनि धेरै छन् । राजनीतिक पृष्ठभूमिबाट आएका, राजनीतिक रूपमा क्रियाशील साथीहरूको ठूलो वर्चस्व छ । यसलाई अस्वाभाविक रूपमा लिनुहुँदैन । पार्टी नेतृत्वले यसको उपयुक्त व्यवस्थापन गर्नुपर्छ । नेतृत्वले प्रभावकारी टिम बनाएर निर्वाचनमा सहभागी हुनेछ भन्ने मेरो विश्वास हो ।

नेतृत्वमा जान चाहने युवाहरू समूह–समूहमा विभाजित छन् । हामीले एउटै धरातलमा उभिएर, साझा दृष्टिकोण बनाएर अघि बढ्न सकेका छैनौँ । अझ महाधिवेशनकै समयमा त युवाहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् र तुलनात्मक रूपमा पाको नेतृत्वलाई समात्न पुग्छन् । अब हामीले यो महाधिवेशनबाट युवाहरूलाई निर्णायक ठाउँमा पु¥याउन सक्नुपर्छ । त्यसले पार्टीको प्रभावकारिता बढाउँछ ।

यहाँ संस्थापन समूहमै हुनुहुन्छ । इतर समूहमा पनि तीन/चारवटा समूह बनिसकेको छ । अन्तिम समयसम्म संस्थापन पक्षमै रहनुहुन्छ वा इतर समूहसँग पनि सहकार्यको सम्भावना छ ?
पार्टीभित्र विभिन्न विचार समूहहरू छन् । यसलाई पारदर्शी रूपमै हामीले स्विकार्ने गरेका छौँ । सहकार्यको विषयमा, जोसँग विचार र कार्यपद्धति मिल्छ, जोसँग काम गर्दा सहज हुन्छ, उसैसँग मिलेर जाने हो । यसैसँग गर्ने भनेर टुंगो लागिसकेको छैन । हामी अहिले आन्तरिक व्यवस्थापनलाई टुंग्याउने विषयमा नै बढी केन्द्रित छौँ ।

संस्थापन समूहबाट यहाँले जुन पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ, त्यसमा अरूको पनि दाबी रह्यो र टिममा नरहने अवस्था बन्यो भने समूह नै परिवर्तन गर्ने सम्भावना हो ?
त्यस्तो कुनै सम्भावना छैन । पदाधिकारीको प्यानल बनिरहेको छ । अन्य पदमा बनिसकेको छैन । तपाईंले नाम आयो वा आएन भनेर मबाट प्रतिक्रिया जान्न खोज्नुभएको होला । म अहिले नै त्यो भन्न सक्दिनँ ।

त्यसो भए भन्दिनुस्, तपाईंको उम्मेदवारी कुन पदका लागि हुन्छ ?
प्रमुख पदाधिकारीहरूमध्ये पार्टी सभापतिज्यूलाई जहाँ सुविधा हुन्छ मलाई त्यहीँ राखे हुन्छ । मैले यो वा त्यो भनेर दाबी गरेको छैन ।

सचिवालयमार्फत यहाँले महामन्त्री पदमा दाबी गरिरहनुभएको छ भन्ने चर्चा छ । यो कुरा सभापतिलाई भन्नुभएको छैन ?
हो, चर्चा चलिरहेको छ । उपसभापति वा महामन्त्री जे पाइन्छ त्यसका लागि म खुला नै छु ।

आकांक्षा ठूलै पदका लागि रहेछ । महाधिवेशन प्रतिनिधिले उपसभापति वा महामन्त्रीका रूपमा यहाँलाई मत किन दिने ?
मैले लामो समयसम्म नेपालको प्रजातान्त्रिक आन्दोलनमा काम गरेको छु । करिब ०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट कलिलो उमेरमा नै नेविसंघको राजनीतिमा सहभागी भएको व्यक्ति हुँ । सोही आन्दोलनबाट अघि बढेर नेविसंघको अध्यक्षसम्म भएँ । सत्ता सञ्चालनमा पनि मैले जिम्मेवारी निर्वाह गरेको छु । पार्टीमा पनि जिम्मेवार पाएका वेला सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । देशभरका साथीहरूसँग सम्पर्क–सम्बन्ध छ । 

साथै, म यो पार्टीलाई बदल्नुपर्छ, राम्रो बनाउनुपर्छ, यसको प्रभावकारितामा गुणात्मक हिसाबले विकास गर्नुपर्छ र आगामी निर्वाचनमा विजयी हुने खालको सशक्त पार्टी बनाउन सक्छु भन्ने आत्मविश्वास बोकेर हिँडेको छु । त्यसका लागि मैले एउटा समूहमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छु । मलाई विश्वास छ, अवसर पाएको खण्डमा राष्ट्र, पार्टी, नेता र कार्यकर्ता पंक्तिको उचित सेवा गर्नेछु । साथै, सिंगो मुलुकका आमनागरिकलाई पार्टीका तर्फबाट ठोस र प्रभावकारी योगदान दिन सक्छु । पार्टीका प्रतिनिधि साथीहरूले यो सबै कुरा बुझ्नु नै भएको छ । त्यसैले उहाँहरूको छनोटमा म पर्छु भन्ने मेरो विश्वास हो ।

तर, आफ्नै जिल्लाका साथीहरूलाई मिलाउन नसक्नेले पार्टीको त्यत्रो जिम्मेवारी कसरी पूरा गर्छ भन्नेहरू पनि छन् नि ?
अधिवेशनहरू चुनावी प्रक्रियाबाट सम्पन्न भएका छन् । चुनावी प्रक्रियाबाट सम्पन्न भएका अधिवेशनमा मिलाउने भन्ने नै हुँदैन । मेरो गृह जिल्लाको मात्रै कुरा होइन, मनाङबाहेक कुनै पनि जिल्लामा निर्विरोध भएको छैन । जहाँ चुनाव हुन्छ, त्यहाँ हारजित हुन्छ । त्यसलाई अन्यथा रूपमा लिनुहुँदैन । यो एउटा प्रजातान्त्रिक संस्कार हो भनेर आत्मसात् गर्नुपर्छ । केन्द्रमा पनि चुनाव हुँदै छ । त्यसलाई सबैलाई स्वीकार गर्नुपर्छ । महाधिवेशनमा पनि सर्वसम्मति भयो भने मिलाउने हो, चुनाव भयो भने त मिलाउने भन्ने हुँदैन नि त ।

नेतृत्वमा दाबी गर्ने भएपछि पार्टी सञ्चालनका लागि कसरी अगाडि बढ्ने भनेर ठोस एजेन्डाहरू बनाउनुभएको होला, ती के–के हुन् ?
नेपाली कांग्रेस पार्टीमा धेरै ठूलो विभाजन देखिएका छन् । लोकतान्त्रिक पार्टीभित्र देखिएका विभाजनका रेखाहरूलाई मध्यमार्गी बाटोबाट मेट्नुपर्ने आजको आवश्यकता बनेको छ । सबै साथीहरूलाई समेट्नुपर्नेछ । चाहे जुनसुकै कित्ताको साथी हुन सक्नुहुन्छ, उहाँलाई यो हाम्रो पार्टी हो र यहाँ हामीलाई जहिले पनि अवसरको कमी हुँदैन भन्ने अनुभूति गराउन सक्नुपर्छ । पार्टीको र हामी नेता–कार्यकर्ताको ऊर्जा र हाम्रो शक्तिलाई आन्तरिक पार्टी संगठनमा जसरी खर्च भइरहेको छ, त्यसलाई अन्य पार्टीसँगको वैचारिक द्वन्द्वमा सदुपयोग गर्नुपर्छ । जनताको माझमा जाने र विश्वास जित्ने कुरामा खर्च गर्नुपर्छ । त्यसका लागि मसँग व्यापक योजना र उद्देश्यहरू छन् । साथै, अहिले प्रविधिको जमाना छ । त्यसैले सिंटो पार्टीपंक्तिलाई आधुनिक र प्रविधिमैत्री पनि बनाउनु छ । म जुनसुकै भूमिकामा रहेर पनि अबको नेपाली कांग्रेस र यस पार्टीका नेता–कार्यकर्तालाई त्यस मार्गतर्फ अघि बढाउनका लागि प्रयत्न गर्नेछु ।

महाधिवेशनको सेरोफेरोमा कांग्रेसमा पुस्तान्तरणको विषय चर्चामा आउँछ । तपाईं पनि युवा नेतृत्वमै जोड दिनुहुन्थ्यो । तर, महाधिवेशनका वेला यो बहस गौण बन्छ । युवा भनिएका नेताहरू बुढा नेताहरूको बुइ चढेर माथि जान खोज्छन् । यस्तो किन हुन्छ ?
हाम्रा बहसहरू ‘भर्टिकल’ भएनन् । बरू, क्षीतिजीय बहसहरू भए । यो पिँढी र ऊ पिँढी भनेर छलफल हुन्छ । तर, काम गर्दा गुटका आधारमा हुन्छ । युवाहरू पनि ठाउँठाउँमा विभाजित अवस्थामा छन् । हामी एउटै धरातलमा उभिएर, सबैले साझा दृष्टिकोण बनाएर अघि बढ्न सकेका छैनौँ । त्यसकारण महाधिवेशनकै समयमा युवाहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् र तुलनात्मक रूपमा पाको नेतृत्वलाई समात्न पुग्छन् ।

हामीले पहलकदमी नै नलिएको भने होइन । पटक–पटक प्रयास र पटक–पटक छलफल गरेका हौँ । तर, त्यसले सार्थक रूप लिन सकेको छैन । अहिले पनि हामी युवापुस्ताकै पक्षमा छौँ । र यो महाधिवेशनबाट हामीले युवाहरूलाई निर्णायक ठाउँमा पुर्‍याउन सक्नुपर्छ । निर्णायक बनाउनुपर्छ, निर्णय गर्ने तहसम्म पहुँच स्थापित हुन दिनुपर्छ । त्यसले पार्टीको प्रभावकारिता बढ्छ भन्ने महाधिवेशन प्रतिनिधिहरूमा मेरो आग्रह छ ।

महाविधेशनको माहोल सुरु भइसकेको छ । उद्घाटनलगत्तै निर्वाचन प्रक्रिया सुरु हुँदै छ । देशभरबाट महाधिवेशनमा सहभागी प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम, यो चौधौँ महाधिवेशनमा म सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र नेता साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु । यो हाम्रा लागि उत्सवको महाधिवेशन हो । हामी लोकतन्त्रवादी, प्रजातन्त्रवादी सबभन्दा पुरानो दल भएको हुनाले यसको अभ्यासलाई लक्ष्यमा केन्द्रित बनाएर अगाडि बढाउनुपर्नेछ । एउटा लक्ष्यसम्म पुर्‍याउने गरी, बलियो पार्टी बनाएर एकताबद्ध किसिमले यो पार्टीको महाधिवेशनलाई सम्पन्न गर्नुपर्छ । अब लगत्तै स्थानीय तह, प्रदेश र मध्यावधि निर्वाचन आउँदै छ । हामी निर्वाचनमार्फत जनतामाझ जाँदा विभाजित भएर होइन, एकताबद्ध भएर जानुपर्छ । नेपाली समाजलाई रूपान्तरण गर्ने संकल्प बोकेको पार्टीको महाधिवेशनले सिंगो कांग्रेसलाई रूपान्तरण गर्नुपर्नेछ । त्यसका लागि उत्साहपूर्वक, एकताबद्ध भएर सहभागी हुनका लागि अनुरोध गर्न चाहन्छु ।