मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुजित महत काठमाडाैं
किरण दहाल काठमाडाैं
दिपेश शाही काठमाडाैं
२०७८ मङ्सिर २२ बुधबार ०७:००:००
Read Time : > 9 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेसमा गुटबन्दी रोक्न निर्वाचन पद्धति बदल्न जरुरी छ : बालकृष्ण खाण (भिडियोसहित)

Read Time : > 9 मिनेट
सुजित महत, काठमाडाैं
किरण दहाल, काठमाडाैं
दिपेश शाही, काठमाडाैं
२०७८ मङ्सिर २२ बुधबार ०७:००:००

पञ्चायतकालमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका बालकृष्ण खाण प्रजातन्त्र पुनर्स्थापना भएपछि तरुण दलको अध्यक्ष बने । दुईवटा भ्रातृसंस्थाको नेतृत्व गर्न पाएका कारण उनको देशव्यापी नेटवर्क बलियो भएको मानिन्छ । कांग्रेसमा शेरबहादुर देउवा गुटका बलिया खम्बा खाण अहिले गृहमन्त्री छन् नै, उनी आसन्न चौधौँ महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका दाबेदार पनि  हुन् । खाणसँग कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा केन्द्रित भई नयाँ पत्रिकाका सुजित महत, दिपेश शाहीकिरण दहालले गरेको अन्तर्वार्ता :

अबचाहिँ (मंसिर २४–२७ ) कांग्रेसको महाधिवेशन भएरै छाड्ने हो ? कि फेरि सर्ने, अर्को तालिका आउने सम्भावना अझै छ ? 

कांग्रेसको महाधिवेशनका लागि धेरै लामो प्रक्रिया छ । तेह्रौँ महाधिवेशनभन्दा यसपालि झन्डै शतप्रतिशत क्रियाशील सदस्य बढे । त्यसमै धेरै वादविवाद भयो । युवा, सीमान्तकृत वर्ग–क्षेत्रका थुप्रै नयाँ साथीहरू क्रियाशील सदस्यतामार्फत कांग्रेसमा आबद्ध भएको अवस्था छ । हरेक वडामा अधिवेशन सम्पन्न गरेको छ । पालिका तहको अधिवेशन पनि करिब–करिब सम्पन्न भए । काठमाडौं महानगरपालिकामै धेरै वर्षपछि महानगरपालिका कार्यसमितिको निर्वाचन भयो । पहिलोचोटि प्रदेश एकाइ छनोट भयो, त्यो पनि चुनावमार्फत । ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूको निर्वाचन सम्पन्न भइसकेको छ । अधिकांश जिल्लामा जिल्ला कार्यसमितिको निर्वाचन भइसकेको छ । तथापि, हाम्रो महाधिवेशनमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रतिनिधि आएरै महाधिवेशन सम्पन्न हुने हो । केही जिल्लामा जिल्ला अधिवेशन भएको छैन । जिल्ला अधिवेशन नहुँदा महाधिवेशनलाई बाधा हुँदैन । एकाध निर्वाचन क्षेत्रीय कार्यसमितिहरूको निर्वाचन हुने क्रममै रहेको छ । आजभोलिमै १६५ निर्वाचन क्षेत्रमै निर्वाचन सम्पन्न भइसक्छ । महाधिवेशन अवश्य हुन्छ । महाधिवेशन सर्ने कुनै अवस्था छैन ।

 

 

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्नै संकट खडा हुने भनेर निर्वाचन आयोगले भनेका कारण हुने भयो, त्यस्तो संकट नआउने भइदिएको भए कहिलेसम्म हुन्थ्यो होला ? 

विश्वव्यापी महामारीको मारमा हामी पनि पर्‍यौँ । लामो समय त लकडाउन÷निषेधाज्ञाको अवस्था थियो । अहिले पनि सुरक्षा सतर्कतामै रहनुपर्ने र सकेसम्म भीडभाड गर्न नहुने समय छ । महाधिवेशनमा विलम्ब हुनुको मुख्य कारण महामारी नै हो । पार्टीको विधान र संविधानको पालनाका लागि पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ । त्यसलाई हामीले लक्ष्यमा राखेरै यो अधिवेशनको समय तोकेको हो ।

खासमा कांग्रेसले महाधिवेशन चार वर्षभित्रै गरिसक्नुपर्ने हो । कार्यकाल एक वर्ष थप्न सक्ने भनेको आपत्कालीन अवस्थाका लागि हो । महामारीको समयमा कार्यकाल एक वर्ष थपिनु स्वाभाविक हो, तर तपाईंहरूले त सामान्य अवस्थामा पनि यो प्रावधान प्रयोग गरिरहनुभएको छ । समयमै किन कहिल्यै महाधिवेशन हुँदैन ?

विधानतः चार वर्षमै महाधिवेशन गर्नुपर्ने भए पनि एक वर्ष थप गर्न सक्ने प्रावधानको प्रयोग गरी महाधिवेशन हुने गरेको छ । महाधिवेशन आफैँमा ठूलो काम हो । तह–तहमा चुनाव गर्नुपर्छ । देशभरिका साथीहरूलाई भेला गर्ने, बस्ने/खाने व्यवस्था गर्ने अनेकन् काम छन् । विभिन्न समितिहरू बन्छन्, त्यहाँ लामो छलफल हुन्छ, आवश्यक परे विधान संशोधन हुन्छ । यस्ता अनेकन् काम हुन्छन् । महाधिवेशन व्यवस्थापकीय हिसाबले चुनौतीपूर्ण छ । तैपनि, चार वर्षमै महाधिवेशन हुँदै नभएको पनि होइन । धेरैजसो पाँच वर्ष नै पुर्‍याएका छौँ । यसपालि त विलम्ब हुनुको पछाडि जायज कारण छ– कोरोना महामारी ।

विश्वव्यापी महामारीको मारमा हामी पनि पर्‍यौँ । लामो समय त लकडाउन/निषेधाज्ञाको अवस्था थियो । अहिले पनि सुरक्षा सतर्कतामै रहनुपर्ने र सकेसम्म भिडभाड गर्न नहुने समय छ । महाधिवेशनमा विलम्ब हुनुको मुख्य कारण महामारी नै हो । 

महाधिवेशनमा तपाईंसमेत रहेको संस्थापन अर्थात् देउवा गुटको अवस्था कस्तो हुने देख्नुहुन्छ ? गृहमन्त्री हुनुहुन्छ, सरकारी संयन्त्रले पनि सूचना, विश्लेषण सेयर गरिरहेकै होलान् ? 

शेरबहादुर देउवा विद्यार्थीकालमै राजनीतिमा संलग्न हुनुभयो । प्रजातन्त्रका लागि लड्ने क्रममा जेल, नेल अरू यातना सबै भोग्नुभयो । पार्टी सभापतिमा शेरबहादुर देउवा नै निर्वाचित हुनुपर्छ भनेर प्रयास गरिरहेका छौँ । व्यक्तिगत रूपमा उहाँप्रति हाम्रो लगाव, आस्था आफ्नो ठाउँमा छ । त्योभन्दा पनि कांग्रेसमा एक व्यक्ति एक पदको नारा त लागिरहेको हुन्छ । तर, जहिले–जहिले हामी सरकारमा हुन्छौँ, पार्टी सभापति एकजना र प्रधानमन्त्री अर्को हुँदा समस्या देखिएको छ । बिपी र मातृका त दाजुभाइ हुनुहुन्थ्यो, तर प्रधानमन्त्री एकजना र पार्टी सभापति अर्को हुँदा द्वन्द्व भयो । ०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो, गणेशमान सिंह । र, पार्टीको कार्यवाहक सभापति हुनुहुन्थ्यो, कृष्णप्रसाद भट्टराई । कृष्णप्रसाद भट्टराई अन्तरिमकालको प्रधानमन्त्रीका रूपमा लोकप्रिय हुनुहन्थ्यो । छोटो अवधिमै संविधान बनाउनुभयो । र, समयमै आमनिर्वाचन सम्पन्न गर्नुभयो ।

त्यति मात्र होइन, कांग्रेसलाई बहुमत पनि दिलाउनुभयो, आफैँ पराजित भए पनि । गणेशमान, किसुनजीको सहमतिमै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । प्रारम्भिक दिनहरू ठिकठाकै चले पनि पार्टी र सरकारबीच मतान्तर देखिन थाल्यो । सन्त नेता किसुनजीलाई पनि सन्त रहन दिइएन । सरकार पार्टी सभापतिको खिलापमा र पार्टी संयन्त्र सरकारको खिलापमा देखियो । जसले गर्दा पाँच वर्षका लागि जनादेश प्राप्त सरकार मध्यावधि चुनावमा गयो । ०५३ सालमा पार्टी सभापति गिरिजाप्रसाद कोइराला हुनुहन्थ्यो र प्रधानमन्त्री शेरबहादुर देउवा । कांग्रेसका दुईजना सांसद प्रधानमन्त्रीले विश्वासको मत लिइरहेको समयमा सदनबाट गायब भएपछि कांग्रेसको प्रधानमन्त्री रहेको गठबन्धनको सरकार ढल्यो । त्यसपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री भएको राप्रपा–एमालेको संयुक्त सरकार बन्यो । कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर ०५६ सालमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो ।

तर, किसुनजीलाई एक वर्ष पनि प्रधानमन्त्री रहन दिइएन । कांग्रेसभित्रै मतान्तर भएर किसुनजीले राजीनामा दिनुपर्‍यो । कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति पृथक् व्यक्ति भएको वेलामा द्वन्द्व बढेको छ । अहिले कांग्रेसका सभापति मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, त्यो पनि गठबन्धन सरकारको प्रधानमन्त्री । कांग्रेसका अधिकांश साथीहरूको चाहना छ– प्रधानमन्त्री देउवाले नै स्थानीय तह निर्वाचन सम्पन्न गर्नुहोस् र आमनिर्वाचन पनि सम्पन्न गर्नुहोस् । कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचन निष्पक्ष र भयमुक्त हुन्छ । किसुनजीले निर्वाचन गराउनुभयो, आफैँ हार्नुभयो । गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराउनुभयो, बहुमत गुम्यो । ०६४ मा कांग्रेस प्रधानमन्त्री भएको सरकारले चुनाव गराउ“दा माओवादी सबैभन्दा ठूलो शक्तिका रूपमा उदायो । त्यसकारण नेपाली कांग्रेसले शक्तिको दुरुपयोग गर्दैन । प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनाव होस् भन्ने सबैको चाहना छ । गठबन्धनका अन्य दलहरूको चाहना पनि त्यही छ ।

यसैबीचमा हाम्रो भइरहेको महाधिवेशनले अर्को पार्टी सभापति चुन्यो भने, विगतमा जस्तै यदि सरकारलाई दबाब सिर्जना गर्ने स्थिति आयो र नेतृत्व परिवर्तन भयो भने नेपाली कांग्रेसले सरकारको नेतृत्व छोड्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा अर्को राजनीतिक दुर्घटना हुन्छ कि भन्ने आशंका छ । त्यसैले स्थानीय चुनाव र आमनिर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसकै प्रधानमन्त्री र देउवा नै सभापति हुने अवस्थाको सिर्जना गर्नुपर्छ भन्ने हामी सबैको आग्रह हो ।

 

सभापतिमा अर्को साझा उम्मेदवार दिनका लागि संस्थापनइतर पक्षको छलफल जारी छ । देउवाको जितको सम्भावना के हो ? र, यहाँ आफैँ कुन पदमा उम्मेदवार दिँदै हुनुहुन्छ ?

मलाई गिरिजाप्रसाद कोइरालाले ०५६ सालमै कांग्रेसको केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभएको हो । बिपी, सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद, सुशील कोइरालासहितका व्यक्तित्वले नेतृत्व गर्नुभएको गौरवशाली पार्टीमा महत्वपूर्ण जिम्मेवारीमा रहनु मेरा लागि गौरवको विषय हो । देश–विदेशमा रहनुभएका साथीहरूले मलाई सम्पर्क गरेर १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिनुहोस् भन्ने सल्लाह, सुझाव र दबाब दिइरहनुभएको छ । तथापि, पार्टी सभापति र अन्य वरिष्ठ नेताहरूको सल्लाहमा नै मैले केमा उम्मेदवारी दिने भन्ने निश्चित हुन्छ । सभापतिमा शेरबहादुर देउवा नै हुनुहुन्छ । अन्य पदमा कसलाई कुन पदमा प्रस्तुत गर्ने भनेर हामीले सामूहिक रूपमा बसेर छलफल गर्नेछौँ । ०४८ पछि चुलिएको गुटबन्दीकै निरन्तरता अहिलेसम्म देखिन्छ । त्यतिवेला किसुनजीले नेतृत्व गर्नुभएको गुटलाई देउवाले नेतृत्व गरिरहनुभएको छ भने कोइरालाले नेतृत्व गर्नुभएको गुटमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर–शशांक कोइराला आदि हुनुहुन्छ । 

बिपी, गणेशमान र किसुनजीलाई हामी ब्रह्मा, विष्णु , महेश्वर नै मान्थ्यौँ । नीतिगत रूपमा केही फरक धारहरू थिए । पञ्चायतको चुनावलाई प्रयोग गर्ने कि नगर्ने, सत्याग्रह गर्ने कि नगर्ने, संयुक्त आन्दोलन गर्ने कि कांग्रेस एक्लैले शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने लगायत विषयमा बारम्बार फरक मत आइरहेका नै थिए । तर, ठूलो नीतिगत मतभिन्नता भने कांग्रेसभित्र थिएन र छैन । यद्यपि, गुटको विकासले उचाइ लिएको छ । हाम्रो चुनावी पद्धतिका कारणले नै गुटहरू बन्दै र मौलाउँदै आएका छन् । किनकि, चुनाव हुँदा गुटमा नभएको व्यक्तिलाई जित्न निकै गाह्रो छ । एकपटकमा एउटा मात्रै पदमा चुनाव हुँदैन । कांग्रेसको स्थापनाकालीन विधानमा अध्यक्षात्मक व्यवस्था थियो, जहाँ हरेक समितिमा सभापतिको चुनाव गर्ने र चुनिएको सभापतिले कार्यसमिति गठन गथ्र्यो । अहिले त पदाधिकारी र सदस्यको पनि निर्वाचन हुन्छ । सभापतिसँगै सदस्यहरू जोडिएर गुट बन्ने अवस्था छ ।

कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचन निष्पक्ष र भयमुक्त हुन्छ । नेपाली कांग्रेसले शक्तिको दुरुपयोग गर्दैन । प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनाव होस् भन्ने सबैको चाहना छ । गठबन्धनका अन्य दलहरूको चाहना पनि त्यही छ ।
 

त्यसैले यो तरिकालाई नै बदल्ने हो कि भन्नेमा छलफल र बहस गर्नु जरुरी छ । मैले त विधान संशोधन गर्दा पनि गुटको समस्या समाधान गर्नका लागि एकल संक्रमणीय पद्धतिको निर्वाचन अंगीकार गरौँ भनेर प्रस्ताव राखेको थिएँ । त्यो भयो भने गुट नबनाउँदा पनि हुन्छ । अहिले त ३५ जना केन्द्रीय सदस्यका लागि ४५ सय प्रतिनिधिले भोट गर्छन् । जित्नका लागि २२–२३ सय मत ल्याउनुपर्‍यो । त्यसका लागि ३५ जनाले नै गुट बनाएर लड्नुपर्ने हुन्छ । यसको अर्को खराबी भनेको २३ सय ल्याउनेजति सबैले जित्ने र २२ सय ल्याउनेजति सबैले पराजित हुनुपर्ने अवस्था छ । तर, एकल संक्रमणीय व्यवस्था भए व्यक्तिले एकल प्रयास गरे पुग्थ्यो । साथीहरूसँग त्यहीअनुसार छलफल गरे पुग्थ्यो । मतदातालाई पनि सजिलो हुन्थ्यो । तर, अहिलेको पद्धतिले वडा तहदेखि नै गुट बनेर आउने र अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । त्यसैले यो निर्वाचन पद्धतिलाई नै परिष्कृत गनुपर्ने हो कि भन्ने देखिएको छ ।

महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने भएको छ, नीतिमा कहिले छलफल गर्ने भन्ने नै टुंगो छैन । बहसचाहिँ कहाँ गर्ने ?

केन्द्रीय समितिमा छलफल होला । यदि यो प्रस्ताव उचित लाग्यो भने त्यसपछिको महासमितिको बैठकले विधानलाई संशोधन गर्न सक्छ । यो बहस महाधिवेशन प्रतिनिधिको तहमा पुग्न पनि जरुरी छ ।

महामन्त्री पदका लागि उम्मेदवारी दिने संकेत गर्नुभएको छ । तर, आकांक्षीको संख्या हेर्दा चुनौती देखिन्छ । जितको आधार के हो ?

दाबी गर्न नेताहरूको परामर्श चाहिन्छ । हामीले सामूहिक छलफल गरेरै निर्णय गर्ने हो । हाम्रा साथीहरू लामो समयदेखि केन्द्रीय समितिमा रहेको र विभिन्न जिम्मेवारी पनि पूरा गरिरहेको हुँदा महामन्त्री बन्नुपर्छ भनिरहनुभएको अवस्था छ । नेविसंघ र तरुण दलको पनि लामो समय नेतृत्व गर्नुका साथै पार्टीका सभापतिहरू गिरिजाबाबु, सुशील र देउवासँग पनि लामो समय काम गरेकाले महामन्त्रीमा जानुपर्छ भनेर सुझाव आएका छन् । त्यही भएर मैले महामन्त्री पदमा मेरो उम्मेदवारी हुन सक्छ भनेको हुँ । मैले एक्लै निर्णय गरेर हुँदैन ।

कांग्रेसमा पुस्तान्तरणको विषय पनि निकै उठ्ने गरेको छ । तपाईंभन्दा धेरै पछि नेविसंघ र तरुण दलको नेतृत्व सम्हालेका नेताहरू यतिवेला कांग्रेसको महामन्त्री पदमा दाबी गरिरहेका छन् । तपाईंले त युवामा नेतृत्व पुस्तान्तरणका लागि त्योभन्दा माथिल्लो पदमा दाबी गर्नुपर्ने होइन र ?

म ०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएँ । ०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाएँ । त्यसको १० वर्षपछि तरुण दलको अध्यक्ष भएँ । ०५६ सालको चुनावमा कांग्रेसलाई चुनाव जिताउन देशभर अभियान चलाएँ । त्यतिखेर प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने मौका नलिएर देशव्यापी प्रचारमा लागेँ । मैले आफ्नो राजनीतिक जीवनमा एउटा क्षेत्रमा चुनाव नलडेर देशैभरि चुनाव प्रचार गर्न पाएँ, त्यो मेरा लागि स्मरणीय र गौरवशाली थियो । केन्द्रीय समितिमा लामो समयदेखि छु । सबै साथीहरूलाई सम्मान गर्छु । पार्टी भनेको अविरल बगिरहने नदीजस्तै हो । तर, पार्टीमा अवस्था र परिस्थितिका कारणले पनि नेतृत्व चयन गर्नुपर्ने हुन्छ । अमेरिकामा १२ वर्षअघि ५० वर्ष नपुगेका बाराक ओबामा राष्ट्रपति उम्मेदवारका रूपमा आए । युवाले देश चलाउनुपर्ने नारा दिए । दुई कार्यकाल राष्ट्रपति चलाए । त्यसपछि अर्को पार्टीका ट्रम्पले एक कार्यकाल खाए । युवा नेतृत्वको नारा लगाएर राष्ट्रपति बनेका उनै ओबामा १२ वर्षपछि अमेरिका अप्ठ्यारो अवस्थामा छ, परिपक्व नेतृत्वको खाँचो छ भन्दै ७७ वर्षीय जो बाइडेनको प्रचारमा उत्रिए ।

मुलुुकमा वर्तमान कालखण्डमा सबै पार्टी टुक्रिए । गठबन्धन टुक्रियो । तर, कांग्रेस एकढिक्का छ । शेरबहादुर देउवा र यो कार्यसमितिकै उपलब्धि हो । देउवाप्रति विश्वास र भरोसा गरेका छन्, गर्नुपर्ने आधार पनि छन् । प्रतिस्पर्धी पार्टीहरूले नै विश्वास र भरोसा गरेको अवस्था छ । सिट यथेष्ट नहुँदानहुँदै पनि प्रधानमन्त्री अफर गरेका थिए । उहाँले त त्यसका लागि परिपक्व वातावरण बनिसकेको छैन भनेर आलटाल गरिरहनुभयो । हतारो गर्नुभएन, जब परिपक्व वातावरण बनेको देख्नुभयो, स्विकार्नुभयो । सरकार बन्न सजिलो त थिएन नि । तर, उहाँकै परिपक्व नेतृत्वका कारण सरकार बन्यो । विश्वासको मत पायो । गठबन्धनका आधारमा प्रदेशहरूमा नयाँ सरकार बनेका छन् । राजनीति एउटा स्वाभाविक बाटोमा गएको छ, जुन देउवाको परिपक्वताको कारणले हो । यस्तै परिपक्वता कांग्रेसमा आवश्यक छ, राष्ट्रिय राजनीतिमा पनि आवश्यक छ । 

 

राप्रपाको महाधिवेशनले नेतृत्वमा नयाँ अनुहारका साथै पुस्तान्तरण पनि गर्‍यो, राजेन्द्र लिङ्देनमार्फत । कांग्रेसतिर पनि ‘लिङदेन सिन्ड्रोम’ देखिन थाल्यो पो भन्छन् त ? 

एउटा विचार, एजेन्डामा उभिएको राप्रपाका नेता/कार्यकर्ताप्रति सम्मान भए पनि एउटा कुरा भनिहालौँ– प्रतिनिधिसभामा राप्रपाका लिङ्देन एकजना हुनुहुन्छ । संसदीय दलको नेता, प्रमुख सचेतक सबै उहाँ नै हो । कांग्रेसमा त हामी थुप्रै छौँ । राप्रपाको असर हाम्रोमा पर्ने होइन, बरु कांग्रेसको प्रभाव सबै पार्टीमा पर्ने गर्छ । 

भन्नलाई त बगिरहने नदी भन्दिनुभयो, तर कांग्रेस त जमेको दहजस्तो छैन र ? ०४६ सालपछि मरेर गएकाबाहेक पार्टीमा उही अनुहार त छन् ! 

अनुहारकै कुरा गर्दा त बिपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबुकै तस्बिर टाँगेर बस्छौँ, उही अनुहार भन्न मिल्छ र ? उमेरले देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलाहरू ७० नाघ्नुभयो होला । तर, पार्टीमा उहाँहरूको उपादेयता छ, सम्भाव्यता छ । विश्राम लिइहाल भन्ने वेला आइसकेको छैन । किनकि कांग्रेस एकढिक्का रहन जरुरी छ । कांग्रेस एकढिक्का नरहे लोकतान्त्रिक शक्ति कमजोर हुनेछ । हिजो ‘कम्युनिस्ट आए रुन पाइन्न, हाँस्न पाइन्न’ भन्ने हाम्रा नेता देउवालाई हाँसोमा उडाइयो । तर, केपी ओलीको सत्ताले त देउवाको त्यो ‘स्टेटमेन्ट’ गलत थिएन भनेर पुष्टि नै गर्दियो । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कानुन जारी गर्न खोजियो, मानवअधिकार उल्लंघन गर्न कानुन बनाउन खोजियो, संस्कृतिमाथि प्रहार गर्ने गुठी विधेयक आयो । 

पार्टीभित्र गुटको समस्या समाधान गर्न एकल संक्रमणीय पद्धतिको निर्वाचन अंगीकार गरौँ भनेर विधान संशोधनको क्रममा प्रस्ताव राखेको थिएँ । एकल संक्रमणीय व्यवस्थामा व्यक्तिले एकल प्रयास गरे पुग्थ्यो । मतदातालाई पनि सजिलो हुन्थ्यो, तर त्यो भएन । अहिले जित्नका लागि सबैले गुट बनाएर लड्नुपर्ने अवस्था छ । 

उमेरमा साढे सात दशक पूरा गर्न लागेको पुरानो लोकतान्त्रिक पार्टीमा जाबो महाधिवेशन गर्न पनि के साह्रो सकस हो, गृहमन्त्रीज्यू? 

यो सकस होइन, प्रक्रिया हो । कतिपय ठाउँमा एकदमै सहज ढंगले चुनावी प्रक्रिया सम्पन्न हुन्छन् । हार्नेले जित्नेलाई अंकमाल गरेर बधाई दिन्छन् । कतै अलि असहज हुन्छ । चुनावी प्रक्रियामै असहज सम्बन्ध बन्न पुग्छ, हार्ने पक्ष जित्नेलाई बधाई दिन कुरेर बस्दैन । बहिष्कार गरेर हिँडिदिन्छ । तैपनि, सोचेभन्दा सहज तरिकाले चुनावी प्रक्रिया सम्पन्न भए । एकदमै लामा प्रक्रिया थिए, छोटो समयमै पूरा भए । 
गृह प्रशासनको संरचना र प्रणालीलाई महाधिवेशनमा आफ्नो गुटको हितमा प्रयोग गरेको आरोप छ, कुरा के हो ? 

पार्टीको आन्तरिक चुनाव भनेर के गर्नु, आमचुनाव वा स्थानीय चुनावजस्तै पार्टी–पार्टीबीच हुने प्रतिस्पर्धाभन्दा अलिकति पनि फरक छैन, कांग्रेस महाधिवेशनका चुनावहरू । आमचुनावमै जस्तो सुरक्षाकर्मी परिचालन भएका छन् । पक्ष–विपक्षमा नलाग्न स्पष्ट निर्देशन छ । कमभन्दा कम शक्ति प्रयोग गरेर स्थिति नियन्त्रणमा लिई शान्ति सुव्यस्था कायम गर्न निर्देशन छ, तदनुरूप सुरक्षा निकायले जिम्मेवारी वहन गरेका छन् । 

कांग्रेसमा कोइरालाइतर गुटमा किसुनजीको उत्तराधिकारीका रूपमा उदाउनुभयो, शेरबहादुर देउवा । उहाँपछि गुटको नेता ठानिएका विमलेन्द्र निधि गुट छाडेर हिँड्नुभयो । अब देउवापछि को ? डा. आरजु वा जयवीरसिंह देउवा कि अरू कोही ? 

पहिले चौधौँ महाधिवेशन सम्पन्न गरौँ । त्यसपछि सके विधान परिवर्तन गरेर चुनावी पद्धति नै फेर्ने हो । निर्वाचन पद्धति फेरे अहिलेजस्तो गुटबन्दी नै हुँदैन, अनि गुट, गुटको नेता उत्तराधिकारीको कुरै भएन । लोकतान्त्रिक पार्टी कांग्रेसलाई महाधिवेशनले ऊर्जाशील, गतिशील बनाउनेछ नै, जनतामा भरोसा र विश्वास पनि जगाउँछ । महाधिवेशनप्रति जुन चासो र जिज्ञासा छ, त्यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक सिक्काका दुई पाटा हुन् । कांग्रेस त्यही मान्यताअनुरूप चलिरहेको छ ।

तस्बिरहरु ः दीपेन्द्र ढुङ्गाना / नयाँ पत्रिका