मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
साफ यू–१९ च्याम्पियनसिपमा सहभागी हुनुअघि एन्फाले आयोजना गरेको बिदाइ कार्यक्रम ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०६:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ महिला फुटबल च्याम्पियनसिप साफमा नेपालको लक्ष्य उपाधि

साफ यू–१९ च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित, भुटान, भारत, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०६:२८:००

नेपालले बंगलादेशमा आयोजना हुने दक्षिण एसियाली यू–१९ महिला फुटबल च्याम्पियनसिप (साफ)मा सहभागिता जनाउन सबै तयारी पूरा गरेको छ । नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले प्रतियोगितामा आफ्नो लक्ष्य नै उपाधि रहेको बताएका छन् । ‘तयारीअनुसार साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि हुनेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आयोजना गरेको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘छोटो समयमै टोली राम्रो बनेको छ ।’ 

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा रहेका ६ जना खेलाडी राष्ट्रिय टोलीबाट खेलिसकेका पनि छन् । जसमा गोलरक्षक तथा कप्तान अञ्जना राना मगर, डिफेन्डर विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरले राष्ट्रिय महिला टोलीबाट प्रतिस्पर्धा गरिसकेका छन् । यसैगरी यू–१८ मा अनुभव लिएका खेलाडी सुस्मा तामाङ, सलोनी रानामगर, रोजिना श्रेष्ठ, सरस्वती हमाल, अमिशा कार्की र मेनुका आले मगर पनि टोलीमा छन् । 

बंगलादेशको ढाकामा हुने साफ यू–१९ च्याम्पियनसिपमा आयोजक बंगालदेशसहित, भुटान, भारत, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । साफमा श्रीलंकाको यो सहभागिता पहिलो हो । यसबाहेक अन्य चारै टोलीले दोस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता राउन्ड रोविन लिगअनुसार हुनेछ । नेपालले प्रतियोगिताको पहिलो दिन ११ डिसेम्बरमा आयोजक बंगालदेशको सामना गर्नेछ । १५ डिसेम्बरमा नेपालको भेट श्रीलंकासँग हुनेछ । दक्षिण एसियाली क्षेत्रकै कमजोर राष्ट्र मानिएको भुटानविरुद्ध नेपालले १७ डिसेम्बरमा खेल्नेछ । राउन्ड रोविन लिगमा नेपालले आफ्नो अन्तिम खेलमा भारतको सामना १९ डिसेम्बरमा गर्नेछ । प्रतियोगिताको नियमअनुसार राउन्ड रोविन खेलका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । २२ डिसेम्बरमा फाइनल हुनेछ ।

 यसअघि नेपाल उपविजेता
यसअघिको संस्करणमा नेपाल उपविजेता बनेको थियो । भुटानमा सम्पन्न प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको थियो । ‘भुटानमा भएको संस्करणमा हामी उपविजेता भएका थियौँ, अब उपाधि जित्ने लक्ष्य छ,’ नेपालका मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘उपाधि उचाल्न नेपाली टोली राम्रो छ ।’ प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली टोली सबै पक्षमा बलियो छ । क्लोज क्याम्पमा खेलाडीले गरेका प्रदर्शन आधारमा सबै आ–आफ्नो पोसेसनमा उत्कृष्ट रहेको श्रेष्ठले बताए । ‘जिम्मेवारी पाएका सबै खेलाडी आ–आफ्नो स्थानमा उत्कृष्ट छन्,’ उनले भने, ‘छोटो समयमा टोली बन्यो, यो टोली बलियो छ ।’ 

 राम्रो नतिजा ल्याउछौँ : कप्तान राना मगर
नेपाली टोलीका कप्तान तथा गोलरक्षक राना मगरले पनि प्रशिक्षक श्रेष्ठकै दाबीलाई दोहोर्‍याएकी छिन् । ‘हाम्रो टोलीको लक्ष्य नै च्याम्पियन हुने हो,’ कप्तान रानामगरले भनिन्, ‘तयारी यहीअनुसार भएको छ, ढाकामा राम्रो नतिजा ल्याउने आशा छ ।’ नेपालका लागि प्रतियोतिगामा बंगलादेश र भारत नै मुख्य बाधक बन्न सक्ने उनले बताइन् । तर, कप्तान रानामगरले यी दुवै बलिया प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि जित्ने दाबी गरिन् । एन्फाले पहिलो चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा राखेको थियो । त्यसपछि मुख्य प्रशिक्षक श्रेष्ठको नेतृत्वमा गत शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । 

 नेपाली टोली 
अञ्जना रानामगर, सावित्री किसन, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर

नेपालको खेल
११ डिसेम्बरमा बंगलादेश
१५ डिसेम्बरमा श्रीलंका
१७ डिसेम्बरमा भुटान
१९ डिसेम्बरमा भारत