मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर २० सोमबार ११:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा एमबिबिएसको पठनपाठन सुरु, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २० सोमबार ११:४६:००

स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुवात गरेको छ। आइतबारदेखि एमबिबिएसको काउन्सिलिङ सुरु भएको छ। २६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिष्ठान पुगेर औपचारिकरुपमा एमबिबिएस अध्ययनको शुभारम्भ गर्ने तयारी गरिएको प्रतिष्ठानका रजिष्ट्रार निपेन्द्र महतले जानकारी दिए। राष्ट्रपति भण्डारीले कर्णालीको ड्रिम प्रोजेक्टका रूपमा रहेको बहुवर्षीय आयोजनाको शिलान्याससमेत गर्ने रजिस्ट्रार महतले बताए।

शुभारम्भ कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि सहभागी हुने जनाइएको छ। प्रतिष्ठानले एमबिबिएस कोटामा २० सिटमा अध्यापन अनुमति  पाएको छ। जुम्ला जस्तो उच्च हिमाली तथा विकट क्षेत्रमा पहिलोपटक चिकित्सा शिक्षा अध्ययन हुन लागेकाले यसलाई निकै महत्वका साथ हेरिएको छ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु–याउने ध्येयले ०६८ मा जुम्ला सदरमुकमस्थित खलंगामा प्रतिष्ठानको स्थापना गरेको थियो। चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो। साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिटमध्ये आइतबार १५ जना  भर्ना भएका छन्। उनीहरू प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए। पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने, ‘जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुसी छु।’

प्रतिष्ठानमा पहिलोपटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी)को अध्यापन सुरुवात भइसकेको छ। सो तहमा भक्तपुरका डा. रहिस कोजू, काठमाडौंनिवासी डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन्। यसैगरी, दार्चुला (हाल धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा. मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन्। प्रतिष्ठानले यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङ पनि अध्यापन सुरुवात गरेको छ। ती दुवै विषयमा  २०÷२० विद्यार्थी अध्ययन गर्नेछन्। यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्री र बिपिएच पनि अध्यापन सुरु भइसकेको छ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ। प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह  अध्यापनका लागि  ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष  छ। ‘जुम्लामा एमबिबिएस कक्षा सुरुवात भएसँगै  समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोसेढुंगाको काम गर्नेछ।’ प्रतिष्ठानका एक पदाधिकारीले भने।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ। प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेधावी छात्रछात्राको सपना पूरा भएको बताए। उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ। प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालन भएसँगै यहाँको चिकित्सा शिक्षा र  स्वास्थ्य सेवा सुनिश्चित गर्न थप कोसेढुंगाको काम गर्नेछ।’

शिक्षाध्यक्ष प्रा.डा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि  सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोसेढुंगा हो’, उनले भने, ‘अब अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ।’